सुई प्रहारबाट झापामा एक व्यक्तिको हत्या, अभियुक्त पक्राउ

0
45

झापा । झापाको भद्रपुर नगरपालिका–१० धनुषमोडमा सुई प्रहारबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।
विहीवार साँझ भद्रपुर–१० धनुषमोड निवासी ६४ वर्षीय खेमराज ढकाललाई सिरहाको विष्णुपुर गाउँपालिका–१ बस्ने २६ वर्षीय दिनेशकुमार सिंहले ढकालकै घरमा सुईले घाँटीमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घाइते ढकाललाई तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्पताल, भद्रपुर लगिएको थियो । अस्पतालमा गरिएको परीक्षणपछि चिकित्सकले विहीवार राति नै ढकाललाई मृत घोषणा गरेका थिए । मृतकको ढकालको शव हाल सोही अस्पतालमा राखिएको छ ।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी सहायक निरीक्षक हरिबहादुर कटुवालको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
प्रहरीले सुई प्रहार गर्ने अभियुक्त दिनेश कुमार सिंहलाई सुईसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र वहादुर खड्काले जानकारी दिए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच कानुनी प्रक्रियाका लागि प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा क्यारी टोली खटिएको बताइएको छ ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय झापाबाट करिब २ किलोमिटर पश्चिम–उत्तरतर्फ पर्दछ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here