सुन्दरहरैंचामा सिकाइ मनोविज्ञानमा आधारित व्यवहारिक कक्षा व्यवस्थापन प्रशिक्षण

0
5

सुन्दरहरैंचा(मोरङ),

कक्षाकोठा केवल पढाउने ठाउँ होइन, त्यो विद्यार्थीको मन, व्यवहार र भविष्य निर्माण हुने आधार हो भन्ने सन्देशसहित राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) मोरङ, सुन्दरहरैंचाको आयोजनामा सिकाइ मनोविज्ञानमा आधारित व्यवहारिक कक्षा व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम भावनात्मक र प्रेरणादायी वातावरणमा सम्पन्न भएको छ।

नेसनल प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष खगेन्द्र धिमालको अध्यक्षता तथा नेसनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षण पेशाको संवेदनशीलता र शिक्षकको भूमिकामाथि गम्भीर छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खगेन्द्र धिमालले शिक्षक केवल पाठ पढाउने पात्र नभई विद्यार्थीको व्यवहार, आत्मविश्वास र भविष्य निर्माण गर्ने मार्गदर्शक भएको उल्लेख गरे।

अध्यक्ष धिमालले,“आजको शिक्षा पुस्तकमै सीमित छैन। विद्यार्थीको मनोविज्ञान नबुझी कक्षाकोठामा अनुशासन र सिकाइ सम्भव हुँदैन। यस्ता प्रशिक्षणले शिक्षकलाई अझ संवेदनशील, जिम्मेवार र प्रभावकारी बनाउँछ।”

प्रमुख अतिथि नेसनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनालले सिकाइ मनोविज्ञानलाई व्यवहारिक कक्षासँग जोड्नु समयको आवश्यकता भएको बताउँदै भने, “हामी शिक्षकले आज पाठ्यक्रम मात्र होइन, विद्यार्थीको मन पनि पढ्न सक्नुपर्छ। कक्षाकोठाबाटै परिवर्तन सम्भव छ, र त्यो परिवर्तन शिक्षकको सोच र व्यवहारबाट सुरु हुन्छ।”

प्रशिक्षण कार्यक्रममा इन्स्पायर एजुकेशन कन्सलटेन्सी, सानोठिमी भक्तपुरका एजुकेशन साइकोलोजिस्ट इन्द्रप्रसाद प्रसाई प्रमुख प्रशिक्षकका रूपमा सहभागी थिए। प्रसाईले विद्यार्थीको व्यवहार बुझ्ने तरिका, सकारात्मक अनुशासन, कक्षा व्यवस्थापनका मनोवैज्ञानिक उपाय र शिक्षक–विद्यार्थी सम्बन्ध सुदृढ बनाउने व्यवहारिक विधिहरू प्रस्तुत गरेका थिए।

पेडागोजी एक्सपर्ट अब्देश केसी सह–प्रशिक्षकका रूपमा सहभागी रहेका थिए। बिराटचोकस्थित सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा नेसनल प्याब्सन कोशी प्रदेशका सदस्यहरू सन्तोषकुमार राई र महेन्द्र राई, नेसनल प्याब्सन मोरङका सचिव भनिरुद्र चौधरी, नेसनल प्याब्सन सुन्दरहरैंचाका सचिव ईश्वर ओझा, सह – सचिव मोहन ढकाल,सल्लाहकार भीम अधिकारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा ९ विद्यालयका २०० जना भन्दाबढी प्रिन्सिपल, भाइस–प्रिन्सिपल, को–अर्डिनेटर, स्कुल इन्चार्ज तथा शिक्षक तथा शिक्षिकाहरुको सहभागी भएका थिए। सहभागीहरूले यस्तो प्रशिक्षणले कक्षाकोठामा देखिने व्यवहारिक चुनौती समाधान गर्न, विद्यार्थीमैत्री वातावरण निर्माण गर्न र शिक्षण पेशाप्रतिको आत्मविश्वास थप्न ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here