जीवनको एक जना अविश्मरणीय व्यक्तित्व

0
26

नगेन्द्रराज शर्माको जन्म वि.सं. १९९४ चैत महिना मन्थली रामेछापमा भएको थियो । शर्माले विभिन्न पत्रपत्रिकामा अनेकौं कथा, कविता, लेख, निबन्ध तथा अन्तरवार्ताहरू प्रकाशित र लेखकका एक दर्जनभन्दा बढी साहित्यिक पुस्तकको सम्पादन तथा प्रकाशन गर्नुभएको छ ।

हसिला, फराशिला मिहीन अध्ययन गरेर लेख्नु हुने आफ्नो उमेरका हिसाबले ८४ वर्षमा हिँडिरहनुभएका नगेन्द्रराज शर्माले भर्खरै आफ्नो सम्पादनमा प्रकाशन भइरहेको साहित्यिक पत्रिका ‘अभिव्यक्ति’को दुई सयौं अङ्क प्रकाशन गर्नुभयो । एक्लो व्यक्तिको अथक प्रयासमा निरन्तर साहित्यिक पत्रिका चलाउनु आफैंमा कठिन काम हो ।

सम्पन्न परिवारको छोरो, त्रिभुवन विश्वविद्यालयमा जागिरे, नेपाली साहित्य र साहित्यकारका विषयमा अत्यन्त गहिरो जानकारी राख्ने व्यक्तिमा पनि उहाँ चिनिनुहुन्छ । २०२७ सालदेखि बजारमा आएको ‘अभिव्यक्ति’ पत्रिकाको सम्पादन र प्रकाशनको ५० वर्ष पुगेको अवसरमा नगेन्द्रराज शर्माले अवकाश लिने निर्णय गर्नुभयो । उहाँको भनाइ अनुसार आगामी दिनहरुमा अब ‘अभिव्यक्ति’ स्वतन्त्र साहित्यिक समूहबाट प्रकाशन हुनेछ ।

पहिलेका सशक्त लेखकहरुदेखि अहिलेका युवा पुस्ताका लेखकसम्मको संगत गर्नुभएको शर्मा एकताका नेपाल साहित्यिक पत्रकार संघका संस्थापक सदस्य एवम् पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो । ‘अभिव्यति’ जस्तो स्तरीय पत्रिका निकाल्छु भनेर लागेपछि आफ्नो रचनामा पनि त्यो स्तरीयता कायम हुनुपर्छ भनेर लगातार ५० वर्षसम्म साहित्यिक पत्रकारितालाई अनवरत रुपमा सञ्चालन गर्नुहुने नगेन्द्रराज शर्माद्वारा लिखित दुई उपन्यास र दुई कथा संग्रह प्रकाशित छन् ।

आफ्नो संस्कृति, सभ्यता र परम्परालाई सधैँ अगाल्ने, विभिन्न समयमा उच्चस्तरीय भ्रमणहरु गोष्ठी र सम्मेलन साथीभाइ, इष्टमित्र, परिवार लेखक, कवि र पत्रकारहरुसँग परिचय, सम्पर्क र सम्बन्ध निरन्तर बढाइरहने, नेपाली भाषा, साहित्य र संस्कृतिको परिचय, प्रचारप्रसार र पहिचान कायम गर्न सधैँ अग्रसर र समकालीन साहित्यिक साथीहरुसँग निरन्तर सम्पर्कमा रहनु हुने, नेपालको आर्थिक, सामाजिक र भौतिक विकासमा आफू बसेको देशको सरकार र जनताको सद्भावना, सदाशयता र सहयोग जुटाउने र बढाउने कार्यमा प्रतिबद्ध र प्रयत्नरत रहने, लेखकका रुपमा पनि र व्यक्तिका रुपमा पनि सबैबाट सम्मानित व्यक्तित्व, सम्मान र आदरको भावना बढी पाएको अनुभवी व्यक्तित्वका बारेमा बोल्नुपर्दा लेख्नुपर्दा र सजिव देख्दा मनमा कता–कता एक प्रकारको श्रद्धा र आदर उर्लेर आउँछ ।

सधैँ कलात्मक गातोमा पत्रिका छाप्नु हुने सयौं लेखक कविका अभिव्यक्ति आफ्नो पत्रिकामा प्रकाशित गर्नुहुने शिक्षित, बौद्धिक, स्वाभिमानी, साह्रै मिलनसार आँखामा हाल्दा पनि नबिझाउने धेरै गुणयुक्त विद्वान व्यक्तित्व नगेन्द्रराज शर्मा जस्ता साधकको विशिष्ट ढङ्गले अध्ययन भई विशेषाङ्क प्रकाशित हुनु यो एउटा आफैमा महान कार्य हो ।

स्वदेश तथा विदेशमा भएका बिभिन्न अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनहरुमा सहभागिता जनाउनुभएका शर्माका साहित्यिक गतिविधि अनगिन्ति छन् । २०२७ देखि हालसम्म उहाले अभिव्यक्ति प्रकाशनसँगै विभिन्न पत्रपत्रिका सम्पादन गर्नुभएको कुरा सर्वविदितै छ । साहित्यिक पत्रकार सङ्घको संस्थापक सदस्य, उपसभापति र सभापति हुँदै बिभिन्न संघ–संस्थाबाट पुरस्कार÷सम्मान प्राप्त गर्नुभएको छ ।

जीवनको उत्तराद्र्धमा पनि अत्यन्तै सक्रिय कहिल्यै नथाक्ने सामाजिक परिवर्तनलाई, विचारलाई र दृष्टिकोणलाई नयाँपन दिन सधैँ अग्रसर आनन्दित र सुखी नगेन्द्रराज शर्माको व्यक्तिगत जीवन र साहित्यिक जीवन दुबै सुखमय होस्, आनन्दित होस्, नेपाली साहित्यको सेवामा निरन्तर लागिरहने तपाईंलाई मेरो हार्दिक प्रेम र बधाई छ ।

बिर्तामोड–२ चारपाने, झापा (हालः बेल्जियम)
bimalgiri@hotmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here