विश्वका उत्कृष्ट दश विश्वविद्यालयहरू

0
10

भुवन तामाङ
यो संसारलाई सभ्य, शान्त, विकसित र सुखमय गर्ने दिमाग तिखार्नका लागि विश्वका दश विश्वविद्यालयको भूमिका अहम् मानिन्छ । जहाँ दर्शन, इतिहास, कला, धर्म–संस्कृति, समाज, चिकित्सा, अर्थ, कृषि, वाणिज्य, उड्ययन, अन्तरीक्ष, ब्रह्माण्ड, खगोल, भूगोल, खनिज, अनुसन्धान, कम्प्युटर र विज्ञान तथा सूचना प्रविधि आदिकाबारे ज्यादै उत्कृष्ट प्रयोगात्मक कक्षासहित प्राध्यापन हुने गर्दछन् । विश्व अहिलेसम्मको अवस्थासम्म आइपुग्नमा यी विश्वविद्यालयहरुबाटै उत्पादन भएका जनशक्तिहरुको योगदान रहेको छ ।

मानिसहरुका जीवनका केही महान् प्रेरणा र सम्झनाहरू विश्वविद्यालयको दिनहरूबाट आएका हुन्छन् । त्यहाँ अध्ययन गर्दाताका विषयहरु, पढाई, पुस्तकालय, प्रयोगशाला, प्राध्यापकहरु, संसारका विभिन्न देशबाट आएका विद्यार्थी मित्रहरु र आफूले हासिल गरेका शिक्षाहरुका सम्झना जीवनभर गाढा बनेर आइरहने गर्दछन् । जसले गर्दा हरेक जनशक्तिमा राम्रो काम गर्ने प्रेरणा र ऊर्जा प्राप्त हुन्छन् । विश्वविद्यालय जीवन पनि स्कूल जीवन जस्तै बिर्सन नसकिने खालको हुन्छ । टाइम्स हायर एजुकेशनले २०२६ का लागि गरेको विश्वका विश्वविद्यालय ¥याङ्किङ प्रक्रियाबाट दश विश्वविद्यालयहरु पहिचान गरिएको छ ।

¥याङ्किङ प्रक्रिया :

द टाइम्स हायर एजुकेशन वल्र्ड युनिभरसिटी ¥याङ्किङले विश्वविद्यालयहरूलाई पाँच मुख्य मापदण्डमा मूल्याङ्कन गर्छ जस्तैः शिक्षण, वैज्ञानिक प्रभाव, ज्ञान हस्तान्तरण, अनुसन्धानको गुणस्तर र अन्तर्राष्ट्रिय दृष्टिकोण । विश्वविद्यालयको समग्र ¥याङ्किङका लागि यी आयाम महŒवपूर्ण भए तापनि अर्को महŒव राख्ने पक्ष त्यो हो अनुसन्धानको गुणस्तर, वैज्ञानिक प्रभाव, सुदृढ प्रकाशन संस्कृति र पर्याप्त वित्तसहितका प्रचुर संशाधन उपलब्ध भएका बलियो प्रयोगशाला । अर्कोतिर शिक्षण र विश्वव्यापी सहभागितालाई मनन् गरिन्छ । जसले विश्वविद्यालयहरूलाई व्याख्यान कक्षभन्दा पर सोच्न बाध्य पार्छ भन्ने अर्थ दिन्छ । उच्च स्कोरले केवल शैक्षिक उत्कृष्टता जनाउने मात्र होइन, विश्वविद्यालयसँग यसलाई कायम राख्न पर्याप्त स्रोत र नेटवर्कहरू पनि छन् भन्ने जनाउँछ ।

विश्वका १० उत्कृष्ट विश्वविद्यालयहरू :

यी दश विश्वविद्यालयहरुले बृहत मात्रामा प्रतिभाहरु उत्पादन गर्छन् र विचारक, वैज्ञानिक र नीति सल्लाहकारहरूको विश्व सर्किट उत्पादन गर्दछन् । विश्वका सरकारहरूले त्यहाँ प्रतिनिधि मण्डलहरुलाई अध्ययनका लागि पठाउँछन् र कम्पनीहरूले समेत अनुसन्धानकर्ताहरूको खोजी गर्छन् । टाइम्स हायर एजुकेशन वल्र्ड यूनिभर्सिटी ¥याङ्किङ्स अनुसार विश्वका शीर्ष दश विश्वविद्यालयहरू यी हुन् :

(१) अक्सफोर्ड विश्वविद्यालय, संयुक्त अधिराज्य,
(२) इम्पेरियल कलेज लन्डन संयुक्त अधिराज्य,
(३) क्याम्ब्रिज विश्वविद्यालय संयुक्त अधिराज्य,
(४) म्यासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजी अमेरिका,
(५) प्रिन्स्टन विश्वविद्यालय संयुक्त अमेरिका,
(६) हार्वर्ड विश्वविद्यालय संयुक्त अमेरिका,
(७) स्ट्यानफोर्ड विश्वविद्यालय अमेरिका,
(८) क्यालिफोर्निया इन्स्टिट्युट अफ टेक्नोलोजी अमेरिका,
(९) क्यालिफोर्निया विश्वविद्यालय बर्कली, अमेरिका र
(१०) येल विश्वविद्यालय अमेरिका ।

यस सूची अनुसार बेलायतका तीन र अमेरिकाका सात शीर्ष विश्वविद्यालयहरुले संसारमा प्रभुत्व जमाएका छन् । अर्थात् विश्व हाँक्ने, विश्वलाई राम्रो गर्ने जनशक्ति उत्पादन गर्दछन् । यहाँ लाखौं लाखमात्र होइनन् करोडौं विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशहरुबाट आउने गर्दछन् । आर्थिक सम्पन्न परिवारका विद्यार्थीहरुका पहिलो रोजाइमा पर्ने विश्वविद्यालयहरु यिनै हुन् । त्यसैले हालसम्मको विश्व सभ्यतामा यिनै दुईदेशहरुको प्रभाव रही आएको छ । यू.के. र यू.एस. नाम संसारका मानिसहरुका मुखमा झुण्डिएका छन् ।

यी दश विश्वविद्यालयहरुमा सुधार पनि भइरहेका छन् । जसले गर्दा विद्यार्थीहरुलाई भर्ना पाउन र अध्ययन गर्न सजिलो हुने देखिन्छ । अक्सफोर्डले क्लासिक्स, दर्शनशास्त्र र भाषाहरू जस्ता केही विषयहरूको लागि प्रवेश परीक्षा पूर्णरूपमा हटाउने भएको छ । उल्लेख्य परिमार्जन अन्तर्गत, अक्सफोर्डका आन्तरिक प्रवेश परीक्षाहरू क्रमशः हटाइँदैछन् । पुरातत्व र प्राचीन इतिहास कोर्षका पनि परीक्षा हुनेछैनन् । इतिहास र अंग्रेजी साहित्यका परीक्षाहरू विगत दुई वर्षमा क्रमशः हटाइएका छन् ।

सन् २०२७ मा विश्वविद्यालय प्रवेशका लागि लागू हुने यी परिवर्तनहरू, विश्वविद्यालयले अब आफ्नो व्यक्तिगत प्रवेश परीक्षा सञ्चालन नगर्ने घोषणा गरेपछि आएका हुन्, जसको उद्देश्य प्रक्रिया सरलीकरण गर्नु हो । यसको सट्टा, गणित, भौतिक विज्ञान, राजनीति, दर्शनशास्त्र र अर्थशास्त्र लगायत १६ कोर्सहरूले अन्य शीर्ष विश्व विद्यालयहरूद्वारा लिइने समान परीक्षाहरू अपनाउने छन् र पियर्सन मार्फत अनलाइन सञ्चालन हुनेछन् । तर, अक्सफोर्डले जोड दिइरहेको छ कि प्रवेश परीक्षा पूर्णरूपमा हटेका पाठ्यक्रमहरूले पनि अन्तरवार्तासहितको छनोट प्रक्रिया भने कायम राखिनेछन् । यसै सम्बन्धमा बकिङ्घम विश्वविद्यालयका सुरक्षा विशेषज्ञ र अक्सफोर्डका पूर्व विद्यार्थी प्राध्यापक एन्थोनी ग्लिजले भने कि पुराना परीक्षाहरू पाठ्यक्रमका लागि सबैभन्दा उपयुक्त विद्यार्थीहरू छनोट गर्नमा उपयोगी थिए ।

बेलायत र अमेरिकाबाहेकका देशहरुमा पनि विश्वका विद्यार्थीहरु अध्ययन गर्न जाने गर्दछन् । किनकि अन्य देशहरुमा पनि राम्रा विश्वविद्यालयहरु रहेका छन् जुन तुलनात्मक रुपमा बेलायत र अमरिकाका विश्वविद्यालयहरुभन्दा सुलभ रहेका छन् । त्यसैले आर्थिक रुपमा मध्यमस्तरका परिवारका विद्यार्थीहरु अध्ययनका लागि जाने गर्दछन् । यहाँ त्यस्ता केही विश्वविद्यालयहरुका विवरण उल्लेख गरिन्छ :

जसरी अमेरिका, बेलायत, क्यानडा र अष्ट्रेलियाले भिसा नियम कडा पार्दैछन् र आर्थिक बाधाहरू बढाइरहेका छन्, जसले गर्दा विद्यार्थीहरूले भिसा, आवास, खान बस्न लागत, भाषा अवरोध र दीर्घकालीन क्यारियर सम्भावनाहरूको चुनौतीहरूको सामना गरिरहेका छन् । तसर्थः अन्तर्राष्ट्रिय विद्यार्थीहरू अन्य ठाउँतर्फ जाने गर्दछन् । युरोप र एशीयाका देशहरूले कम शिक्षा शुल्क, बढी लचिलो नीतिहरू र पढाइपछि स्पष्ट मार्गदर्शनको साथ कदम चाल्दैछन् । जसले गर्दा बेलायत र अमेरिकामा पढ्न नसक्नेहरुका लागि राहत र अवसरको अवस्था रहेको छ ।

जर्मनीः जर्मन एकेडेमिक एक्सचेन्ज सर्भिसका अनुसार जर्मनीमा अहिले लगभग चार लाख बीस बजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आफ्ना सार्वजनिक विश्वविद्यालयहरुमा पढ्ने अवसर दिइरहेको छ । जर्मनीले विद्यार्थीहरुलाई राम्रो अंग्रेजी प्राध्यापन गराउनुका साथै कुशल जनशक्ति उत्पादन गर्दछ ।

फ्रान्सः फ्रान्सले २०२४–२०२५ शैक्षिक वर्षमा करिब चार लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत ग¥यो र २०२७ सम्म पाँच लाखसम्म पुग्ने लक्ष्य राखेको छ । हालका वर्षहरूमा फ्रेन्च विश्वविद्यालयहरूले भर्ना प्रक्रियालाई छिटो बनाएका छन् र अवधिहरू लम्ब्याएका छन् । यसले आंशिक रूपमा कडा अमेरिकी नीतिहरूले असर पारेका विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई आकर्षित गरेको छ । फलस्वरुप फ्रान्सलाई अमेरिकाको गम्भीर विकल्पको रूपमा स्थापित गर्न मद्दत गरेको छ ।

आयरल्याण्डः आयरल्याण्डले २०२३–२०२४ शैक्षिक वर्षमा चालीस हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गरी रेकर्ड बनाएको छ । यसको ग्लोबल सिटिजन्स २०३० पहल मार्फत, देशले विश्वभरका प्रतिभावान व्यक्तिहरूका लागि प्रमुख गन्तव्य बन्ने लक्ष्य राखेको छ । विशेषगरी प्रबिधि र नवप्रवर्तनमा आधारित क्षेत्रहरूमा ध्यान दिएको छ । तर यहाँ दिर्घकालीन भिसा प्रक्रिया र आवास अभाव मुख्य बाधाका रूपमा रहेका छन् ।

स्पेन ः स्पेनमा एक लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी छन् र एडुब्रिज टु स्पेन जस्ता पहल मार्फत अझ वृद्धि गर्न प्रयास गरिरहेको छ, जसले कडा अमेरिकी नीतिहरूबाट प्रभावित भएका विद्यार्थीहरूको भिसा र भर्ना प्रक्रियालाई तीव्र बनाउने अपेक्षा गरिएको छ । बार्सिलोना, म्याड्रिड र भ्यालेन्सियाका विश्वविद्यालयहरूले अंग्रेजीमा पढाइ हुने कार्यक्रमहरूको संख्या बढाउँदै छन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पढाइको क्रममा हप्तामा ३० घण्टासम्म काम गर्न सक्छन् र रोजगार खोज्न लामो स्नातक पछि बसोबास अनुमति (पोस्ट (ग्रेजुएसन रेसीडेन्स परमिट)को लागि आवेदन दिन सक्छन् ।

दक्षिण कोरियाः दक्षिण कोरियाले तीन लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लक्ष्य पार गरिसकेको छ र यो माइलस्टोन दुई वर्षभित्रै हासिल गरेको छ । एक तिहाइभन्दा बढी विद्यार्थी भियतनामबाट आउँछन् । त्यसपछि चीन, उज्बेकिस्तान, मंगोलिया र नेपालबाट । कोरियाली संस्कृतिमा विश्वव्यापी बढ्दो रुचि, साथै अंग्रेजीमा पढाइ हुने कार्यक्रमहरूको विस्तार हुँदै गइरहेकाले विद्यार्थीहरु आकर्षित भइरहेका छन् ।

जापानः जापानले २०२४ मा तीन लाख चालीस हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई होस्ट ग¥यो र २०३३ सम्ममा चार लाखको लक्ष्यतर्फ अघि बढिरहेको छ । करिब ९० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी चीन, नेपाल, भियतनाम, दक्षिण कोरिया र म्यानमार लगायतका एसियाली देशबाट अध्ययनरत छन् । अप्रिल २०२६ देखि जापानले उच्च प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आकर्षित गर्न केही विश्वविद्यालयहरूमा भर्ना कोटा पाँच प्रतिशतले बढाउने योजना बनाएको छ । सरकारले विदेशी शोधकर्ताहरू भर्ना गर्न अनुदानसहित नयाँ कार्यक्रम पनि शुरु गरेको छ ।
मलेसिया ः मलेसिया दक्षिण पूर्वी एसियामा एक प्रमुख शिक्षा केन्द्रको रूपमा उदाइरहेको छ । सन् २०३० सम्म दुई लाख पचास हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भित्र्याउन लक्षित गर्दैछ । विगत दुई वर्षमा आवेदनहरू २६% ले वृद्धि भएका छन् । चीन लगायत दक्षिण एशीया, मध्य पूर्व र अफ्रिकाबाट पनि विद्यार्थीहरु आउने गर्दछन् ।
चीनः चीन विश्वका सबैभन्दा लोकप्रिय विदेश अध्ययन गन्तव्यहरू मध्ये एकको रूपमा रहेको छ र आफूलाई अन्तर्राष्ट्रिय शिक्षा केन्द्रको रूपमा प्रस्तुत गर्दैछ । जहाँ प्रमुख वैश्विक विश्वविद्यालयहरूका विदेशी क्याम्पसहरू सञ्चालन भइरहेका छन् । अनुमान अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या २०२६ सम्ममा कोरोना महामारी पूर्वको स्तरमा करिब चारलाख नब्बेहजारमा फर्किने अपेक्षा गरिएको छ ।

न्यूजिल्याण्डः निकै राम्रो पढाइ हुने कह्लिएको न्यूजिल्याण्डले २०३४ सम्म अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या एक लाख उन्नाइस हजारसम्म पु¥याउने दीर्घकालीन लक्ष्य लिएको छ । प्रमुख नीति परिवर्तनले विद्यार्थीहरुलाई हप्तामा २० घण्टाबाट बढाएर २५ घण्टासम्म काम गर्न पनि अनुमति दिनेभएको छ ।

संयुक्त अरब इमिरेट्सः युएईले आफ्नो देशलाई उच्च शिक्षा अध्ययनका लागि राम्रो गन्तव्यको रूपमा देखेको छ । जबकि भारत सबैभन्दा ठूलो स्रोत बजार बनेको छ । सिंगापुर, फ्रान्स, अमेरिका र जर्मनीका विद्यार्थीहरू पनि युएईमा आउँदछन् ।
अन्य देशहरुमा समेत स्तरीय विश्वविद्यालयहरु छन् । इच्छा र पैसा हुनेले जहाँ गएर पनि पढ्न सक्छन् । अहिले विश्वव्यापी रूपमा, लगभग ७० लाख विद्यार्थीहरू विदेशमा अध्ययन गरिरहेका छन् । एक अध्ययन अनुसार यो संख्या २०३० सम्ममा आठ दशमलव पाँच मिलियन पुग्नेछ । भियतनामबाट मात्र गत वर्ष लगभग दुई लाख पचास हजार विद्यार्थीहरूले विदेशमा अध्ययन गरे जुन अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो ।

विश्वका यी तथ्यहरुबाट नेपालका विश्वविद्यालयहले प्रेरणा लिन सक्छन् । त्रिभुवन विश्वविद्यालय पहिला कति उत्कृष्ट र भरपर्दो थियो । विद्यार्थीहरुको पहिलो रोजाइको थियो, तर आजका दिनमा त्रिविले समयमा परीक्षा लिन सक्दैन र रिजल्ट पनि निकाल्न सक्दैन । यसैले पनि होला नेपाली विद्यार्थीहरु पनि उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गर्दछन् । आशा गरौँ नेपाली विश्वविद्यालयहरुले पनि विदेशी विद्यार्थीहरु आकर्षित गरुन् ।  (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here