भद्रपुर ।

भद्रपुर-९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले दिगो वन व्यवस्थापन कार्ययोजना पारित गरेको छ ।
सोमबार मुना भवनमा आयोजित वन उपभोक्ता समूहको तेस्रो विशेष साधारण सभा (परिषद् भेला) ले वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यविधि पारित गरेको हो ।
समूहका अध्यक्ष अनुज खतिवडाले दिगो बन व्यवस्थापन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।प्रस्तुत गरिएको प्रतिवेदनमा वन संवर्द्धन प्रणालीमा आधारित दिगो बन व्यवस्थापन भन्नाले सिङ्गो वन क्षेत्रलाई ८ भागमा विभाजन गरिन्छ ।
विभाजन गरिएको ८ क्षेत्रलाई कम्पाटमेन्ट भनिन्छ भने एक कम्पाटमेन्टलाई पुनः १० भागमा विभाजन गरी १० भाग को १ भागलाई कुप मानी प्रत्येक वर्ष १ कुपवाट पुराना, बाङ्गा, धोद र पुन: उत्पादन दिन नसक्ने रुखहरू कटान गरी त्यस क्षेत्रलाई घेरावारा गरी व्यवस्थित रुपमा बिरुवाहरू गोडमेल गरी दीर्घकालीन रुपमा राम्रा र सिधा रुखहरूलाई बढाई ८० वर्षको जीवन चक्र मानी गरिने सम्पूर्ण प्रक्रियालाई नै दिगो वन व्यवस्थापन प्रक्रिया भनिन्छ ।
८० वर्ष भन्दा पुराना रुखहरूले कार्बन सञ्चिति कम गर्ने भएको र सही समयको सदुपयोग गर्न नसकेका कारणले नै पुराना रुखहरू अधिक रहेका क्षेत्रहरूमा दिगो वन व्यवस्थापन लागु गर्नु नै उत्तम रहेको मानिन्छ भने हामीले परम्परागत हिसाबले वन व्यवस्थापन गर्दा बनको हैसियत पनि बिग्रिँदै गएको छ ।
वनको हैसियत बिग्रियो भन्नुको अर्थ के हो भने जङ्गलमा पुरै बुढा रुखहरू भए, धोद्रो पल्टिँदै गए, जङ्गल बाक्लो भई सूर्यको किरण सोझै जमिनमा नपर्नाले नयाँ बिरुवाहरू उम्रन र हुर्कन सकेनन् त्यसकारण वनको हैसियत बिग्रियो भनी कोशी प्रदेश सरकारले वन संवर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यविधि २०८२ मा पनि वनको दिगो व्यवस्थापन मार्फत उत्पादन तथा उत्पादकत्व बढाई वन उत्पादनमा आत्मनिर्भर बन्ने र निर्यात मार्फत समृद्धि हासिल हुने लक्ष्य लिएको भनिएको छ ।
दिगो वन व्यवस्थापन कार्यविधि अनुसारको कार्य योजना निर्माण गरी वन समूहले प्राप्त गरेको ४३०.५९ हेक्टर क्षेत्रफलमा यो कार्य योजना कार्यान्वयनका लागि परिषद् भेलाले पारित गरेको अध्यक्ष खतिवडाले बताए । त्यस्तै डिभिजन वन कार्यालय झापाका वन अधिकृत प्रमेश्वर पासवानले दिगो वन व्यवस्थापन कार्यविधि बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समूहका उपाध्यक्ष श्रीमन नारायण पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन कमला थापाले गरेकी थिइन् । समूहका अध्यक्ष अनुज खतिवडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।































