बिर्तामोड । वीरता जेसीज बिर्तामोडले मानवताको सेवामा समर्पित रहने उद्देश्यसहित अक्षयकोष स्थापना गरेको छ । संस्थाका पूर्व अध्यक्ष घनश्याम चौधरीको जन्मदिनको अवसर पारेर उक्त कोष स्थापना गरिएको हो ।
अक्षयकोष स्थापनाका लागि पूर्व अध्यक्ष चौधरीले प्रारम्भिक रूपमा ११ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । चौधरी नेपाल जेसीजका पूर्व उपाध्यक्षसमेत हुन् । जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गरिएको यो कार्यलाई वीरता जेसीजले सह्रानीय कदमका रूपमा लिएको छ ।
कार्यक्रममा वीरता जेसीजका अध्यक्ष लोकचन्द्र श्रेष्ठ – एलसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथिका रूपमा बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधि राजु न्यौपाने उपस्थित थिए भने कार्यक्रम संयोजकको भूमिका सुमन पोद्दारले निर्वाह गरेका थिए ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका सल्लाहकार विशाल थापा, पूर्व अध्यक्ष प्रशान्त भण्डारी तथा महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवेन्द्र कुमार सिंहले अक्षयकोषले भविष्यमा सामाजिक सेवामा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव सुवास त्रिखत्रीले गरेका थिए भने कार्यकारी उपाध्यक्ष प्रज्वल विमलीले धन्यवाद ज्ञापन गरेका थिए ।
वीरता जेसीजले स्थापना गरेको उक्त अक्षयकोषबाट आगामी दिनमा शिक्षा, स्वास्थ्य तथा विपन्न वर्गको सहयोगमा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।





























