विद्यार्थीमाझ शैक्षिक सामग्री वितरण गर्दै मुद्रण उद्योग संघ झापाको १४औँ स्थापना दिवस

0
2

झापा । मुद्रण उद्योग संघ झापाले विद्यार्थीहरूसँग खुसी साट्दै आफ्नो १४औँ स्थापना दिवस मनाएको छ । संघले मंगलबार अर्जुनधारा–५ पानीकलस्थित समाजसेवी आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसलाई संघको ‘जन्मोत्सव’को रूपमा व्याख्या गर्दै संघका अध्यक्ष रोहित भट्टराईले ससाना नानीबाबुहरूलाई सहयोग गर्न पाउँदा आत्मिक सन्तुष्टि मिल्ने बताए । “थोरै सहयोग भए पनि विद्यार्थीको पढाइमा टेवा पुगोस् भन्ने हाम्रो उद्देश्य हो,” उनले भने ।

कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय सदस्य गोविन्द निरौला, विद्यालयका प्रधानाध्यापक मेघराज भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रमुख अतिथि विद्यालयका जग्गादाता डम्बर घिमिरेले सहयोगी हातप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको निरन्तर मेहनत आवश्यक रहेको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रा तामाङ, तिलकुमारी तिम्सिना, लक्ष्मण कोइराला, स्वयंसेविका कुसुम अधिकारीलगायतको उपस्थिति रहेको थियो । संघतर्फ सहसचिव टंक निरौला तथा सदस्यहरू पुण्यप्रसाद खतिवडा, विष्णु सुब्बा, रमेश घिमिरे, झरेन्द्र खतिवडालगायतको सक्रिय सहभागिता थियो ।

सोही अवसरमा संघका सदस्य झरेन्द्र खतिवडाले ५ हजार १ सय, विष्णु इङनाम सुब्बाले ५ हजार र गोविन्द निरौलाले १० हजार रुपैयाँ गरी कुल २० हजार १ सय रुपैयाँ मुद्रण उद्योग संघको अक्षयकोषमा हस्तान्तरण गरिएको छ ।

संघका अध्यक्ष रोहित भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव भानुभक्त खनालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here