भद्रपुर ।

भद्रपुरमा आठौँ नगरस्तरीय तथा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हिमाली माविले उचालेको छ ।
भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भद्रपुर माविमा सम्पन्न भएको तीन दिने प्रतियोगितामा हिमालीले ८ स्वर्ण, ३ रजत र २ कांस्य गरी १३ पदक जित्दै उपाधि उचालेको हो । उपाधि उचालेसँगै हिमालीले नगद १५ हजारसहित ट्रफि पाएका छन् ।
प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र २ कांस्य गरी १२ पदक जित्दै सगरमाथा मावि उपविजेता बनेका छन् । सगरमाथाले नगद १० हजार र ट्रफि पाएका छन् । त्यस्तै वीरेन्द्र माविले ६ स्वर्ण, २ रजत र ३ कांस्य गरी ९ पदक जित्दै तेस्रो र चन्द्रभानु ज्योति माविले ३ स्वर्ण, १ रजत र ३ कांस्य गरी ७ पदक जित्दै चौथो स्थान हासिल गरेको छ ।
तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ७ र ५ हजार नगदसहित ट्रफि प्रदान गरिएको शाखाका कर्मचारी योगेन्द्र पौडेलले जानकारी दिए । प्रतियोगितामा नगर क्षेत्र भित्रका सामुदायिक र निजी गरी २२ वटा विद्यालयको सहभागिता रहेको उनले बताए ।
विजेताहरू विद्यालयहरूलाई नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्र लगायतले नगदसहितको ट्रफि र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रतियोगितामा नगर क्षेत्र भित्रका सामुदायिक र निजी गरी २२ वटा विद्यालयको सहभागिता रहेको नगर शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए ।
फुटबल छात्रतर्फ हिमाली मावि प्रथम, सिद्धार्थ शिशु सदन द्वितीय र विभूति विद्या मन्दिर तृतीय भएको छ । फुटबल छात्रातर्फ वीरेन्द्र मावि प्रथम, ग्यालेक्सी द्वितीय र सिद्धार्थ तृतीय भएको छ । प्रतियोगितामा छात्रा र छात्रको छुट्टाछुट्टै भलिबल, कबडीसहित एथलेटिक्स खेलहरू भएको थियो ।































