सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सुदृढ गर्ने उद्देश्यले कार्यशाला

0
5

झापा, काठमाडौं उपत्यकामा सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सुदृढ गर्ने उद्देश्यले आयोजित एकदिने कार्यशाला गोष्ठी बिहीबार सम्पन्न भएको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजना तथा एसियाली सडक सुरक्षा संस्था (नास्का) को सहकार्यमा “काठमाडौं उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एकदिने कार्यशाला गोष्ठी” सम्पन्न गरिएको हो ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको प्रमुख आतिथ्यमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन सत्र सुरु गरिएको थियो ।

कार्यक्रममा बोल्दै सचिव शर्माले जीवनलाई सहज बनाउने र विकासको गतिलाई अघि बढाउने पूर्वसर्तका रूपमा यातायात रहे पनि सडक सुरक्षा विषय झन् संवेदनशील बन्दै गएको बताए । सडक सुरक्षा जस्तो गम्भीर विषयमा एउटै निकाय मात्र सक्रिय भएर नहुने र सरोकारवाला निकायका उच्च तहसम्मको सहभागितामा संयुक्त रूपमा पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यशालामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, राष्ट्रिय सडक सुरक्षा परिषद्, सडक विभाग, वातावरण विभाग, सुरक्षित सडक तथा यातायात अनुसन्धान संस्थाका अध्यक्ष डा. रोहित बालुजा, नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिकालगायत निकायबाट प्रस्तुतीकरण र छलफल गरिएको थियो ।

सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले छलफलमा उठेका विषयमा सुझाव तथा टिप्पणी प्रस्तुत गरेका थिए ।

सडक सुरक्षा सुदृढीकरण र सवारी दुर्घटना न्यूनीकरणका लागि काठमाडौं उपत्यकाको ट्राफिक अवस्थाको तथ्यमा आधारित विश्लेषण गर्ने, सरोकारवाला निकायबीच एकीकृत समन्वय र सहकार्य प्रवर्द्धन गरी दिगो ट्राफिक व्यवस्थापनको आधार तयार गर्ने, ट्राफिक प्रहरीको क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय अनुभव र नवीन अभ्यासको आदानप्रदान गर्ने, सडक प्रयोगकर्तामा सचेतना बढाउने तथा विद्यालय, विश्वविद्यालय, विद्यार्थी र पेशागत चालकमा सडक सुरक्षा सम्बन्धी जिम्मेवारी प्रवर्द्धन गर्ने कार्यशालाका मुख्य उद्देश्य रहेका थिए ।

समापन सत्रका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कार्यशालाले सडक प्रयोग सुधार र सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकाय तथा संस्थाबीच नीतिगत र कार्यगत समन्वय, सहकार्य र सहजीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । सो अवसरमा कार्कीले सुरक्षित सडक तथा यातायात अनुसन्धान संस्थाका अध्यक्ष डा. रोहित बालुजालाई मायाको चिनो प्रदान गरे ।

त्यस्तै, ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि तालिम सञ्चालनमा योगदान पुर्‍याउने एसियाली सडक सुरक्षा संस्थाका प्रतिनिधिलाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गरे भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here