झापा–३ का उम्मेदवारको एजेण्डा कृषि, सुशासन र पूर्वाधार विकास

0
2

सुरेन्द्र भण्डारी

झापा , फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतका उम्मेदवारहरूले बिहीबार एउटै मञ्चबाट आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् ।

मतदातासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवारहरूले कृषि, शिक्षा, पूर्वाधार, डुवान–कटान नियन्त्रण र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

झापा क्षेत्र नम्वर ३ अन्तरगत रहेका वाह्रदशी , हल्दिवारी , भद्रपुर र र कचनकवल जेसीजको संयुक्त आयोजनामा प्रतिनिधिसभा सदस्य उम्मेदवारसंग प्रत्यक्ष अन्तरसंवाद (ककस)’ कार्यक्रम राखिएको थियो । हल्दिवारी जेसीजको आतिथ्यमा हल्दिवारीस्थित नेपाल रेडक्रस सोसाइटीको भवनमा आयोजित कार्यक्रममा सहभागी आठ जना उम्मेद्वारले आफ्ना चुनावी एजेण्डा राखेका थिए ।

झापा क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र सहित १७ जना उम्मेद्वार चुनावी प्रतिष्पर्धामा रहेका छन् । उनीहरुलाई जेसीजले एउटै थलोमा उभ्याउँदै आफ्ना चुनावी एजेण्डा सार्वजनिक गर्न कार्यक्रमको आयोजना गरिएको वाह्रदशी जेसीजकी अध्यक्ष सदिक्षा खड्काले बताउनुभयो

कार्यक्रममा स्वागत हल्दिवारी जेसीजका अध्यक्ष नितेष खरेलले गरेका थिए भने आस्था वाचन हल्दिवारी जेसीजका कार्यकारिणी उपाध्यक्ष प्रयुष पौडेलले गरेका थिए ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष विदुर थापा, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष रमेश पोखरेल तथा ५३औँ राष्ट्रिय महाधिवेशनका निर्देशक एवं भद्रपुर जेसीजका पूर्व अध्यक्ष वशन्त पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । धन्यवाद ज्ञापन कचनकवल जेसीजका अध्यक्ष गोपाल घिमिरेले गरेका थिए भने कार्यक्रम सञ्चालन भद्रपुर जेसीजका पूर्व अध्यक्ष टिकाराम पाण्डेले गरेका थिए ।

अन्तरसंवाद कार्यक्रममा नेपाली कांग्रेसका राजेन्द्र कुमार घिमिरे, नेकपा एमालेका हरिवहादुर राजवंशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन, नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरे, उज्यालो नेपाल पार्टीका श्यामकृष्ण पाठक, नेशनल रिपब्लिक पार्टीका जयन मगर, स्वतन्त्र उम्मेदवार अभय राजवंशी र मानप्रकाश संग्रौला सहभागी थिए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका उम्मेदवार राजवंशीले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिँचाइ सुविधा विस्तार, मलखादको सहज व्यवस्थापन र उत्पादनको बजारीकरणमा जोड दिने बताए ।

झापा–३ मा धान, मकै र चिया अत्यधिक उत्पादन हुने भए पनि बजारीकरण अभाव रहेको उल्लेख गर्दै उनले त्यसको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

 

उनले शिक्षा क्षेत्रमा कक्षा १ मा भर्ना भएका विद्यार्थी कक्षा १० सम्म पुग्दा न्यून संख्यामा झर्ने समस्याप्रति चिन्ता व्यक्त गर्दै बीचमै पढाइ छाड्ने प्रवृत्ति रोक्न कार्यक्रम ल्याइने बताए ।

विरिङ र मेची नदीको तटबन्धन गरी डुवान र कटानको दीर्घकालीन समाधान खोज्ने उल्लेख गर्दै संविधानसभा सदस्य हुँदाका बेला तटबन्धनमा गरेको सहकार्यको स्मरण गराए । आदिवासी समुदायको बाहुल्य रहेको झापा–३ मा लक्षित कार्यक्रम सञ्चालन गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका उम्मेदवार घिमिरेले ‘जेनजी आन्दोलन’पछि राजनीतिक दल र उम्मेदवारहरू आत्मसमीक्षामा पुगेको दाबी गरे ।

उनले पुरानो प्रचार–प्रसारको शैली त्यागेर नयाँ ढंगले चुनावी अभियान अघि बढाइने बताए । कांग्रेस घोषणा पत्र होइन, ‘संकल्प पत्र’ लिएर जनतामाझ जाने उल्लेख गर्दै बोलेको कुरा गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । राज्यलाई कर तिर्न चाहँदा पनि नसक्ने अवस्थाको अन्त्य गरिने, संविधानले दिएको अधिकार व्यवहारमा लागू गरिने र हरेक महिना नयाँ योजना सार्वजनिक गर्दै तत्काल कार्यान्वयनमा जाने कांग्रेसको नीति रहेको उनको भनाइ थियो ।

राणाकालमा अधिकार स्थापित गराएको, द्वन्द्व समाधान गरी देशलाई वर्तमान अवस्थामा ल्याउन भूमिका खेलेको कांग्रेस जनताको पक्षमा सधैं उभिने उनले दाबी गरे ।

 

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लिङ्देनले झापा–३ विकासको दृष्टिले पछाडि परेको क्षेत्र भए पनि पछिल्ला वर्षमा उल्लेखनीय परिवर्तन आएको बताए । गाउँ–गाउँमा सडकसहितका पूर्वाधार बने पनि अझै अपूरा रहेकाले तिनलाई पूर्णता दिने उनको भनाइ थियो । उनी यही क्षेत्रबाट दुई पटक निर्वाचित प्रतिनिधि सभा सदस्य हुँदै उपप्रधान मन्त्री सम् मबनेका थिए ।

झापा जिल्लाको ‘कर्णाली’ भनेर चिनिने यो क्षेत्रले विकासमा फड्को मारेको उल्लेख गर्दै उनले मेची र विरिङ नदीका कारण सामान्य बाढीमै त्रासमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको दाबी गरे । कालोपत्रे सडक, सिँचाइ विस्तार, पाँच दर्जनभन्दा बढी डिप बोरिङ जडान र विद्युतीकरणमा आएको सुधारले क्षेत्रको मुहार फेरिएको उनको भनाइ थियो ।

कार्यक्रममा उम्मेदवारहरूले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउँदै मतदातालाई सचेत र जिम्मेवार बनाउने उद्देश्यले यस्ता अन्तरसंवाद कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, हल्दिवारी गाउापालिकाका अध्यक्ष रविन्द्र लिङ्दने, नेपाली कांग्रेस झापाका सचिव नवीन विमली लगायत सहभागी थिए ।

कार्यक्रममा सहभागी अन्य उम्मेद्वारले समेत आ आफ्ना चुनावी एजेण्डा जनतासामु राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here