रसवादी आवरणमा गिरीको सम्झनाका तरेलीहरु

0
3

‘वाक्यं रसात्मक काव्यम्’ अर्थात् रसयुक्त वाक्य नै काव्य हो । १४औं शताब्दीका पूर्वीय साहित्य चिन्तक विश्वनाथले साहित्यको प्रमुख आधार रसलाई मानेका छन् । तर, रसवादका व्याख्याता भने नाट्यशास्त्री भरत हुन र उनले नाटकको कथानकसँगै प्रस्तुति र पात्रको माध्यमबाट मञ्चित नाटकको प्रभावबाट जुन प्रकारको आनन्द प्राप्त हुन्छ त्यो नै रस हो भनेर यसलाई सरलीकृत गरेका छन् ।

तथापि साहित्यका अन्य विधामा पनि साहित्यको अध्ययनबाट पाठकले जुन प्रकारको आनन्द प्राप्त गर्दछ त्यो नै रस हो । यिनै मतहरु पूर्वीय साहित्य दर्शनमा सिर्जनाको आत्मीकरण, अनुकरण वा भावानात्मक वरणको मियो रहेका छन् । साहित्य हेतुसँग रसवादको सघन सम्बन्ध रहेको हुन्छ । यथार्थमा कृतिको सार्थकता भनेको रसवादले तय गरेको मार्ग मै निहित हुन्छ, तर अपवादका रुपमा भिन्न वैशिष्ट्य अँगालेका, असाधारण कथानक मात्र नभई असामान्य प्रस्तुतियुक्त कृतिबाट समग्रमा वरण गरिने अप्रत्यक्ष रसका अंगहरु आधुनिक अध्येताहरुले औंल्याउन थालेका छन् ।

नेपाली साहित्यको सन्दर्भमा मूना–मदन, प्रेमपिण्ड, गौरी, रामायण जस्ता रसवादी चरित्रका अति सफल र लोकप्रिय प्रतिनिधि कृतिहरु हुन् जसका सामाजिक प्रभाव र आदर्श चिकाल पर्यन्त रहिरहन्छन् । विशेषतः रसको वैशिष्ट्य प्रवृत्ति पाठकले कृति अध्ययन गर्दै जाँदा त्यहाँका पात्र र चरित्रमा आफूलाई समाहित गर्दै पात्र रुँदा रुने, हाँस्दा हाँस्ने वा कृतिको अन्तरवस्तुमा प्रवेश गरेर प्रतिक्रिया जनाउनु हो । संस्कार, प्रवृत्ति आवेग, संवेदना, भावना र भावातिरेक यसका जड हुन् क्रिया, प्रतिक्रिया, अनुभव, प्रभाव र साधारणीकरण रसका चरित्र ।

प्रवासी स्रष्टाहरुमा विमल गिरी सायदै नवीन पात्रका रुपमा रहे । श्रव्यकृति ‘उपासना’का रचयिता (गीतकार)का रुपमा उद्भाषित उनै गिरीको गीति संग्रह ‘सम्झनाका तरेलीहरु’ले अँगालेका रसवादी आचरणहरुको, गुणहरुको, संयोगहरु अनि चरित्रहरुको यहाँ संक्षिप्त अवलोकन गर्ने प्रयास गरिएको छ । कर्मथलो बेल्जियममा क्रियाशील गिरीको कृति प्रकाशक संस्था अनेसासकै नियमितता रहेछ । वि.सं. २०६६ प्रकाशन वर्ष रहेको गीति संग्रहको रसपक्षको वैशिष्ट्यतालाई आवरणमा उपस्थापन गराउने अभिप्र्रायको प्रस्तुति हो यो ।

नवरस मध्ये सबै गीतहरु ठ्याक्कै श्रृङ्गारिक तर वियोगात्मक श्रृङ्गारिकले नडो¥याए पनि यसको बाहुल्यताले कृतिलाई थिचेको भान वा रचयिताको आत्मीय अन्तर्वेदना, अन्तर्र्घुु वा कल्पशैली वियोग रहेको ठम्याउन मुस्किल पर्दैन । कृतिको प्रारम्भमै ‘दैव लाग्यो जीन्दगीमा’ शिर्षकको प्रवेशसँगै कारुणिक रस प्रवाह गरेर विविधता र शब्द–शब्दमा रसको सञ्चार गरेका छन् । जसका रसमयी उदगारहरुका प्रभावमा पाठकले रसिला फलाहार र आला चाकाका मह झैं सुरुप्पै पार्ने मिठास प्राप्त गर्दछ, आत्मीक आल्हादन अनुभव गर्दछ । र गीतकारले अँगालेको गेयात्मक विम्व आफैंमा अनुभूत गर्दछ । यो नै कृतिको वैशिष्ट्य र सार्थक पक्ष हो ।

लेखकले रसमयी प्रस्तुतीकरणमा सिंगो शिर्षकलाई प्रतिनिधित्व गराउँदै सग्लो रुपमा अर्थिने गरी साधारणीकरण गरेका छन् । जसले गर्दा पाठकले कृति अध्ययन गर्दा पाना–पाना, शब्द–शब्द र अक्षरहरुमा डुबेको पत्तै पाउँदैन । यो नै रस पक्षको सबल उपस्थापन हो ।

कृतिको केन्द्रीय पक्ष वियोगात्मक श्रृङ्गारिकता हो यसैले पनि यसलाई श्रृङ्गारिक गीतिकाव्य भनी ठम्याउँदा अत्युक्ति नहोला । गीतका शिल्प उन्नयनमा अभ्यस्त गीतकार स्वयम् आलम्वित पात्र बनेका छन् भने शब्दको रसास्वादनले पाठकहरु उद्दीप्त भएका छन् । गीत वाचन गर्दा लाग्छ पाठक स्वयम् पूर्व दिप्तीको लहरो समातेर सम्झनाका तरेलीका फाँटहरु चहारिरहेको छ ।
गीतमा मिलाइएका अन्त्यानुप्रासका मिठास, लोकशैलीका छोटा मौलिक शब्द संयोजन अन्ततोगत्वा रसमै समाहित भएका छन् । कृतिका अंशहरुले बोकेका कथानकसँग जसरी भावनाकत्व व्यापार हुन्छ त्यसले पाठकलाई उद्धेलित गराउँछ यो नै कृतिबाट प्राप्त हुने रसास्वादनको चरमोत्कर्ष हो ।

गीतकारले समेटेका माया–प्रीति, वियोग,–विछोड, सामाजिक आस्था, कर्तव्य, नैतिक उपदेशिक सन्देश र आत्मीय अनुभवको केन्द्रीय चरित्र आफूमा पाउँछ यो नै रसवादी दृष्टिकोणको सफल प्रयोग हो । रसवादी धाराभित्र पनि मानवीय संवेदनालाई च्वास्सै छुन सक्ने करुण, श्रृङ्गारिक जस्ता प्रतिनिधि रसलाई प्रधानता दिएर रसभित्र पनि लोकप्रिय शाखाको पहिचान गरेका छन् । र्शिषकका कान्तिहरु, श्लोकको आदि मध्य र अन्त्यको कौशलताले कायकल्पको परिणति दिलाउन सक्ने रसकीय शिल्प भेटिन्छ । तर रस भूमिमा रहेर पनि गीतकारले रसका कुनै एकल पक्षमा नलागी छ्यासमिसे रसधाराहरुमा बहकिएको प्रष्टै हुन्छ ।

‘दैव लाग्यो जीन्दगीमा’ शिर्षकबाट उद्घाटित काव्यले प्रारम्भमै गीतकारको रसवादी रुझानलाई उजगार त गर्छ नै साथमा श्रृङ्गारिक बियोगको मियोमा कृतिको फन्कोको संकेत पनि । त्यहाँ उर्लेको विरह ‘दैव लाग्यौ जीन्दगीमा डुवाइगयौ सागरमा, उडी गयौ बादलसँगै वागमतीको बगरमा’ लाग्छ यिनै हरफहरु काफी छन् पाठकहरुका मन अमिल्याउन विरहमा ।

यसरी नै बग्दै जान्छन् उनी अप्राप्ति र अतृप्ततालाई ‘जीन्दगीलाई फूल सम्झेँ’ भन्दै फेरि शान्त, सौम्य रसधारमा फड्किँदै’ जीवन जिउँछौ निर्धाहरु’मा सामाजिक उपदेश, सद्भावको अपेक्षाका साथ ‘जीवन जिउँछौ निर्धाहरु पखेरी र पाखामा, दोहोरी र मारुनी गीत गाउँदै आफ्नै भाखामा’ शान्त र सुन्दर अतीतको विशिष्ट दृष्टान्त हो यो । कता–कता वियोगको केन्द्रै लाग्ने ‘च्वास्स मुटु दुख्दो रै’छ आफ्नै मान्छे टाढिदिँदा, मन हलुङ्गो भैदिन्थ्यो कि एकान्तमा बसी रुँदा’ जस्ता वियोगको सुन्दर व्याथाहरु भेटिन्छन् ।

यसरी नै ‘कैंयौ विते हिउँदहरु’मा आत्मीयजनको विछोडमा परदेशको विनिमयको पीडादायी रस सोस्नै पर्ने हुन्छ नै ‘एकान्त प्यारो लाग्छ’ जस्ता आत्मै कोतर्ने विरह पनि । प्रकृतिका विम्व सँगालेका ‘खोलो तरौं साँघु छैन’बाट असाहयपना दर्शाउने मात्र होइन ‘चुप्प चुप्प म्वाई खान्थ्यौं एकअर्कालाई पालो गरी, सल्बलाउँथे हातहरु स्वचालित मेशीन सरी’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here