भोजपुर,

हिउँदे वर्षात नहुँदा यहाँका किसान चिन्तित भएका छन् । गहुँ, जौ, आलु, तोरीलगायत बालीमा आवश्यक चिस्यान नपुग्दा बाली सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
भोजपुर नगरपालिका– ५ का बेनीबहादुर विष्टले आकाशे पानीमा निर्भर बाली जोगाउन समस्या भएको गुनासो गर्नुभयो । “आशा गरेर रोपिएको बाली पानी नपाएर सुक्न थालेको छ,” उहाँले भन्नुभयो “अब पनि पानी नपरे नोक्सानी हुने डर छ । हिउँदेबाली पानी अभावमा सुक्न थालेको अवस्था छ । ”
खेतीका लागि सिँचाइको पर्याप्त व्यवस्था नहुँदा समस्या थप जटिल बनेको छ । खोलानाला सुक्दै जानु र भूमिगत पानीको सतह घट्नुले सिँचाइ गर्न कठिनाइ भइरहेको किसान बताउँछन् । यस वर्ष समयमै पानी नपरे हिउँदे बालीको उत्पादन घट्ने किसानको भनाइ छ ।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार खडेरीको असर जिल्लाभर देखिन थालेको छ । केन्द्रका प्राविधिकहरूले सम्भव भएसम्म वैकल्पिक सिँचाइ व्यवस्था अपनाउन र माटोमा चिस्यान जोगाउने उपाय अपनाउन किसानलाई सुझाव दिएका छन् ।
लामो खडेरीले हिउँदेबाली मात्र होइन, आगामी कृषिजन्य उत्पादन र किसानको जीवनस्तरमा समेत असर पार्ने चिन्ता बढ्दै गएको छ ।































