झापा कारागारबाट निस्कने फोहरजन्य र दुर्गन्धित पानी सोझै खेतीको जमिन हुँदै मानवबस्तीमा पुगेपछि त्यस क्षेत्रको जीवन कष्टकर बनेको छ । विगत १७ वर्षदेखि कारागारको फोहरजन्य पानी निरन्तर बाहिर आउँदा स्थानीयबासी भद्रपुर–९ की कालिका न्यौपानेले मनग्गे उत्पादन हुने अन्नको स्रोत बन्द भएको गुनासो गरेकी छन् । नागरिकको निजी र उत्पादनशील जमिनमा निरन्तर ढल बग्ने र जम्मा हुने गरेका कारण सो क्षेत्रको प्रदूषणको पीडा बेग्लै छ । न्यौपानेको एक विगाहभन्दा बढी जग्गामा कारागारबाट निस्किएको फोहर पानी जम्मा भएर जलकुम्भी फैलिएको छ । यसले सर्पदशंको जोखिम पनि बढेको स्थानीयले गुनासो गरेका छन् ।

भद्रपुर–९ स्थित झापा कारागार बनेको छ दशकभन्दा बढी भयो । कूल दुई सय पचास जनालाई राख्न सकिने गरी बनाइएको कारागारमा भौतिक संरचना थप गर्दैै हाल सात सय पचास जना बस्न सक्ने छ । तर, हाल स्रोह सयभन्दा बढी कैदीबन्दी बस्नु पर्दा उनीहरुको बसाइ असुविधाजनक मात्र भएको छैन जीर्ण भवनका कारण अनेक सास्ती समेत भोग्नु परेको बताइन्छ । क्षमताभन्दा बढी कैदीबन्दी राखिएकोले ढलदेखि वर्षामा पानी चुहिने, शौचालय र फोहरमैलाजन्य असुविधाले कारागार स्थानान्तरण गर्नुपर्ने आवश्यकता देखिएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयका प्रमुख तत्कालीन प्रजिअ उदयबहादुर रानाको अगुवाईमा भद्रपुर–१० कलबलगुडीमा स्थानान्तरण गर्ने योजना पनि बनाइयो ।
फोहरमैला व्यवस्थापनका साथै आफू वरपरको वातावरणको गुणस्तर सुधार गर्नु सबैको कर्तव्य हो । त्यसका लागि प्राकृतिक संशाधनको प्रयोग, पुनःनवीकरण गर्न सकिने हदसम्म पुनःनवीकरण गर्ने संयन्त्र स्थापना गर्नुपर्छ । अझ नगरपालिका, शहर र शहरउन्मुख क्षेत्रभित्र जैविक विविधता संरक्षण तथा व्यवस्थापन गर्न विशेष रणनीति अवलम्बन गर्नुपर्छ । वातावरणमा हुनसक्ने जमिन, हावापानी र ध्वनी प्रदूषण नियन्त्रण गर्दै हाम्रा सन्तति, भविष्य, स्वास्थ्यको सुरक्षाका लागि वातावरणीय संरक्षणमा हामी सबैको जिम्मेवारी र भूमिका रहनु पर्दछ ।
पृथ्वी हाम्रो साझा घर हो । साझा घर बस्न योग्य भएन भने हामी कसैको जीवन र भविष्य सुुरक्षित हुँदैन । वातावरणमा घात हुने विषादी र रासायनिक वस्तुको प्रयोग गर्नु केवल व्यक्तिगत हानी मात्रै होइन बरु यो ओजोन तहको क्षयीकरण पनि हो । त्यसका लागि पीडित व्यक्ति वा समुदाय मात्र होइन सिंगै राज्यका जिम्मेवार निकायका बीच सहकार्य, समन्वयन र सत्प्रयास जरुरी छ । त्यसैले भद्रपुर कारागारबाट उत्सर्जन भएको दूर्गन्धित फोहर तत्काल व्यवस्थापनमा स्थानीय सरकारले प्रभावकारी अग्रसरता लिनु पर्दछ । कलबलगुडीमा प्राप्त जग्गामा आवश्यक भौतिक संरचना निर्माण गरी कारागार स्थानान्तरण गर्दै विद्यमान असन्तुष्टि, असहजता र फोहरजन्य पीडाबाट स्थानीय पीडितलाई मुक्ति दिलाउनु पर्छ ।




























