ध्रवताराको शैक्षिक प्रदर्शनीमा अभिभावकको भिड

0
5

दुधे।

झापाको शिवसताक्षी नगरपालिका–स्थित धुर्वतारा अङग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीको व्यावहारिक सिकाइलाई उजागर गर्ने उद्देश्यसहित ऐतिहासिक प्रथम शैक्षिक प्रदर्शनीमा अभिभावकको भिड लागेको छ ।

विद्यालय परिसरमा बिहीबार सम्पन्न उक्त प्रदर्शनीमा अभिभावक, शिक्षक, शिक्षा क्षेत्रका अभियन्ता, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागि हुन आउनेको उपस्थितीबही अनुसार ३ हजार ८ सय १६ जनाले शैक्षिक प्रदर्शनीको अवलोकन गरेको विद्यालयका कोअडिनेटर चन्द्र मादेम्वाले बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक डम्बर खड्काका अनुसार पाठ्यक्रमले निर्धारण गरेका विषयवस्तुलाई व्यवहारमा उतार्ने, विद्यार्थीको सिर्जनशीलता, अनुसन्धान क्षमता तथा प्रस्तुतीकरण सीप विकास गर्ने लक्ष्यसहित प्रदर्शनी आयोजना गरिएको हो । कक्षा कोठामा सीमित हुने शिक्षालाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले विद्यार्थीहरूले परियोजना, मोडल, चार्ट तथा विभिन्न सिर्जनात्मक सामग्रीमार्फत आफ्ना सिकाइ उपलब्धि प्रस्तुत गरेका थिए ।

विद्यालयले यस प्रदर्शनीबाट विद्यार्थीमा आत्मविश्वास वृद्धि, विद्यालय र अभिभावकबीचको सम्बन्ध थप मजबुत हुने तथा शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरेको छ । प्रदर्शनीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पु¥याउनुका साथै समुदायमा शिक्षाप्रतिको चासो बढाउने महत्वपूर्ण उपलब्धि दिने विश्वास गरिएको छ ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, अन्य जनप्रतिनिधि, नगर शिक्षा अधिकारी छवि ढकाल, लगायत सर्वसाधारण, अभिभावक, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, पत्रकारहरूले प्रदर्शनीको अवलोकन गरेका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आगन्तुक दर्शकलाई विभिन्न प्रकृतिका खेलसमेत खेलाएर मनोरञ्जनात्मक तथा सिकाइमुखी वातावरण सिर्जना गरेका थिए ।

नगरप्रमुख मेगाहाङ थोप्राले कार्यक्रम ऐतिहासिक रहेको उल्लेख गर्दै यस्ता प्रदर्शनीले विद्यार्थीहरूको क्षमता वृद्धि हुनुका साथै व्यावहारिक ज्ञान प्राप्त हुने बताए । बदलिँदो शिक्षा प्रणालीमा अब किताबी ज्ञान मात्र पर्याप्त नभई प्रयोगात्मक सिकाइ, अनुसन्धान, नवप्रवर्तन र प्रस्तुतीकरण सीप आवश्यक रहेको उनले जोड दिए ।

यस प्रकारका कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्दै विद्यार्थीलाई भविष्यका लागि सक्षम बनाउने, समुदायलाई विद्यालयसँग जोड्ने तथा आधुनिक शिक्षाको अवधारणालाई स्थानीय तहसम्म विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ । यो कार्यक्रम निक्कै प्रभावकारी रहेको नगर शिक्षा अधिकारी छवि ढकालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here