सुरेन्द्र भण्डारी,
झापा ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा ५बाट २४ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’, नेपाली कांग्रेसकी नेतृ मन्धरा चिमरियासहित २४ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
झापा–५ परम्परागत रूपमा ठूला राजनीतिक दलहरूको बलियो आधार क्षेत्र मानिन्छ । त्यसमाथि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गढ नै हो– झापा ५ । विगतका निर्वाचन परिणामले यहाँ मुख्य प्रतिस्पर्धा सत्तारूढ तथा प्रमुख प्रतिपक्षी शक्तिबीच केन्द्रित हुने गरेको देखाउँछ । त्यसैले आगामी निर्वाचनलाई दलहरूको संगठनात्मक शक्ति र जनाधार मापन गर्ने ‘साखको चुनाव’का रूपमा हेरिएको छ ।
दलहरू टोल–टोलमा पुग्ने, संगठन बिस्तार गर्ने र स्थानीय मुद्दा उठाउने रणनीतिमा सक्रिय देखिएका छन् । चुनावी प्रचार औपचारिक रूपमा शुरु नभए पनि कार्यकर्ता परिचालन तीव्र बन्दै गएको छ ।
झापा–५का मतदातामा यसपटक विकास, रोजगारी, कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार प्रमुख चुनावी एजेण्डा बन्ने संकेत देखिएको छ । बिगतमा राजनीतिक विचारधाराले मत प्रभावित भए पनि अहिले स्थानीय विकासको प्रत्यक्ष अनुभूति खोज्ने प्रवृत्ति बढेको देखिन्छ । युवा मतदाताको संख्या बढ्दै गएकाले रोजगारी, उद्यमशीलता र डिजिटल सेवासँग सम्बन्धित कार्यक्रम प्रस्तुत गर्न नसक्ने उम्मेदवारलाई चुनौति हुने आकलन गरिएको छ ।
विशेषगरी सामाजिक सञ्जालमार्फत सक्रिय युवा समूहले चुनावी माहोल प्रभावित पार्ने सम्भावना प्रवल छ । झापा–५मा दलको संगठन बलियो भए पनि उम्मेदवारको व्यक्तिगत छवि निर्णायक बन्ने सम्भावना छ । स्थानीयस्तरमा पहुँच, सामाजिक सक्रियता र विकाससँग जोडिएको विश्वास जित्न सक्ने उम्मेदवारले अग्रता लिन सक्ने देखिन्छ ।
समग्रमा झापा–५ आगामी प्रतिनिधिसभा निर्वाचनमा परम्परागत शक्ति, नयाँ राजनीतिक विकल्प र मतदाताको बदलिँदो अपेक्षाबीचको प्रतिस्पर्धात्मक मैदानका रूपमा उभिएको छ । परिणाम केवल दलको प्रभावले होइन, उम्मेदवारको विश्वसनीयता र मतदातालाई विश्वास दिलाउने योजनाले तय गर्ने विश्लेषण गरिएको छ ।
यो निर्वाचन क्षेत्रमा १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन् । जसमा पुरुष मतदाताको संख्या ४९ दशमलब ६३ अर्थात् ८१ हजार ८१ रहेको छ । महिला मतदाताको संख्या ५० दशमलव ३७ प्रतिशत छ । अर्थात ८२ हजार २ सय ९६ र अन्य मतदाता २ प्रतिशत रहेका छन् । १८देखि ४० वर्ष उमेर समूहका मतदाताको संख्या ३९ प्रतिशत छ । जुन नतिजाका लागि निर्णयक बन्न सक्छ ।
पछिल्लो समय युवा क्रेज र युवा मतदाताको संख्या ३९ प्रतिशत हुनुले पनि यो मत निर्णायक बन्नेमा दुई मत छैन । ६०देखि माथिको उमेर समूहका मतदाताको संख्या २१ प्रतिशत मात्रै अर्थात् ३५ हजार ६ सय ४५ रहेको छ ।
समग्रमा हेर्ने हो भने यो निर्वाचन क्षेत्रमा १८ देखि २५ वर्ष उमेर समूहका मतदाताको संख्या ७ प्रतिशत अर्थात् १२ हजार छ सय २६ मतदाता रहेको छ । २६ देखि ४० बर्ष उमेर समूहका ३१ प्रतिशत अर्थात् ५१ हजार एक सय तीन, ४१ देखि ६० प्रतिशत उमेर समूहका ३८ प्रतिशत अर्थात् ६२ हजार नौ सय ८२ मतदाता रहेका छन् ।
बालेन्द्रको ‘क्रेज’ रोक्नु नै ओलीलाई मुख्य चुनौति
नेपाली राजनीतिमा एक दशकभन्दा बढी समय केन्द्रबिन्दुमा रहँदै आएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुनः झापा–५बाट जनअनुमोदन खोज्दै चुनावी मैदानमा उत्रिएका छन् । यसपटकको प्रतिस्पर्धा भने उनका अघिल्ला चुनावभन्दा फरक, पेचिलो र राजनीतिक भविष्य निर्धारण गर्ने मोडको रूपमा हेरिएको छ ।
विगतका चुनावमा गठबन्धनको साथ र ‘बोनस’ भोटको बलमा सहज जित निकाल्दै आएका ओलीलाई यसपटक नयाँ राजनीतिक लहर, बदलिँदो मतदाता मनोविज्ञान र बलियो प्रतिस्पर्धीको चुनौति एकसाथ सामना गर्नुपरेको छ । विश्लेषकहरूका अनुसार, काठमाडौँ महानगरको नेतृत्वबाट राष्ट्रिय चर्चामा आएका बालेन्द्र शाहको बढ्दो लोकप्रियता रोक्नु नै ओलीका लागि चुनावी रणनीतिको केन्द्र बनेको छ । ३१ असार २०७१मा पार्टी नेतृत्व सम्हालेपछि ओली राष्ट्रिय राजनीतिमा निर्णायक पात्र बने । २०४८ सालदेखि संसदीय राजनीतिमा सक्रिय उनले झापा–५ बाट पटक–पटक चुनाव जित्दै आफ्नो प्रभाव कायम राखे ।
उनको राजनीतिक पहिचान विशेषतः तीन विषयसँग जोडिन्छ—भारतीय नाकाबन्दीका बेला देखिएको अडान, चुच्चे नक्सा सार्वजनिक गर्ने निर्णय र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को विकासवादी नारा । यही कारण उनले राष्ट्रवादी र विकासप्रेमी नेताको छवि निर्माण गरेका छन् ।
झापा–५ लामो समयदेखि ओलीको ‘लालकिल्ला’ मानिँदै आएको छ । २०७४मा वाम गठबन्धनको बलमा कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारीलाई ठूलो मतान्तरले पराजित गरेका ओलीले २०७९मा पनि राप्रपाको समर्थनसहित सहज जित निकालेका थिए ।
तर, २०८२ को चुनावमा परिस्थिति फेरिएको छ– सहयोगीहरू प्रतिस्पर्धी बनेका छन् र चुनावी समीकरण पूर्ण रूपमा बदलिएको छ । झापा–५ मा सडक सञ्जाल विस्तार, पूर्वाधार निर्माण र केन्द्रबाट ल्याइएको ठूलो बजेट ओलीको मुख्य चुनावी पुँजी मानिन्छ । स्थानीय स्तरमा ‘झापाको विकास भनेकै ओली’ भन्ने धारणा अझै बलियो देखिन्छ ।
नेकपा एमालेको संगठनात्मक पकड पनि उनको महत्वपूर्ण आधार हो । वडा तहदेखि टोलसम्म फैलिएको पार्टी संरचनाले ‘ब्लक भोट’ सुरक्षित राख्ने अपेक्षा गरिएको छ । विपक्षी मत विभाजित हुने सम्भावना ओलीका लागि अर्को सकारात्मक पक्ष हो । परिवर्तनको एजेन्डा बोकेका प्रतिस्पर्धीहरूबीच मत बाँडिँदा एमालेको स्थिर मत बैंकले उनलाई प्रतिस्पर्धामा अगाडि राख्न सक्छ ।
यसपटक ओली स्वयम् पनि मतदातासँग प्रत्यक्ष संवाद बढाउँदै चुनावी मैदानमा सक्रिय देखिएका छन् । यस चुनावको सबैभन्दा ठूलो चुनौति भनेको नयाँ पुस्ताको राजनीतिक मनोविज्ञान हो । ‘जेन–जी आन्दोलन’पछि देखिएको परिवर्तनको चाहना र वैकल्पिक राजनीतिप्रतिको आकर्षणले पुराना दलहरूलाई दबाबमा पारेको छ । युवा मतदातामाझ बालेन्द्र शाहको लोकप्रियता उल्लेख्य देखिन्छ । व्यक्तिगत ‘क्रेज’ र राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन जोडिँदा एमालेको परम्परागत मतमा असर पर्ने आँकलन गरिएको छ ।
अघिल्ला चुनावमा ओलीलाई सहयोग गरेका दलहरू यसपटक प्रतिस्पर्धी बनेका छन् । माओवादी र राप्रपाबाट आएको अनुमानित १५–२० हजार ‘प्लस’ मत गुम्ने स्थिति सिर्जना भएको छ । यही मतको अभावपूर्ति गर्नु ओलीका लागि सबैभन्दा कठिन गणित बनेको छ । पटक–पटक प्रधानमन्त्री हुँदा अपेक्षा पूरा नगरेको आरोप, संसद् विघटन विवाद र स्थिर सरकार दिन नसकेको आलोचना पनि चुनावी बहसको केन्द्रमा छ । कांग्रेसले महिला उम्मेदवार अघि सारेर महिला मतदाता तान्ने रणनीति अपनाएको छ, जसले प्रतिस्पर्धालाई थप जटिल बनाएको छ ।
झापा–५ को चुनाव यसपटक केवल एक निर्वाचन क्षेत्रको प्रतिस्पर्धा मात्र होइन, यो ओलीको राजनीतिक विरासतसँग जोडिएको परीक्षा बनेको छ । एकातिर विगतका सहयोगीहरू प्रतिस्पर्धी बनेका छन्, अर्कोतिर ‘नयाँ राजनीति’ को नारासहित उदाएको बालेन्द्र शाह मुख्य चुनौतिका रूपमा उभिएका छन् । यसर्थ विगतको ‘बोनस’ भोट गुमाएर पनि बालेन्द्रको ‘क्रेज’ लाई रोक्नु नै ओलीको मुख्य चुनौति हुनेछ ।
यसकारण २०८२को चुनाव ओलीका लागि साधारण जित–हारभन्दा धेरै ठूलो अर्थ राख्छ– यो उनको दीर्घ राजनीतिक यात्राको मूल्यांकन र भविष्यको दिशानिर्धारण गर्ने निर्णायक मोड हो ।
बालेन्द्रको कठोर परीक्षा
नेपाली राजनीतिमा परम्परागत ढाँचा भत्काउँदै उदाएका पात्र हुन् बालेन्द्र शाह (बालेन)। पेशाले इन्जिनियर, पहिचानले ¥यापर र अहिले वैकल्पिक राजनीतिक धारका प्रतिनिधि मानिने शाहको यात्रा नेपाली समाजमा बदलिँदो मतदाताको मनोविज्ञानको कथा पनि हो ।
३६ वर्षीय शाह चार वर्षअघिसम्म मुख्यतः नयाँ पुस्तामाझ ¥याप सङ्गीतमार्फत चिनिन्थे। तर २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर जितेपछि उनी राष्ट्रिय राजनीतिका केन्द्रबिन्दु बने ।
काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् । वाइट हाउस इन्स्टीच्यूट अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनियरिङमा स्नातक गरेका उनले भारतस्थित नेशनल इन्स्टीच्यूट अफ टेक्नोलोजी कर्नाटकाबाट स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।
इञ्जिनियरका रूपमा काम गर्दै देशका करिब ६५ जिल्ला पुगेको अनुभव उनले बारम्बार सुनाउने गर्छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि उद्धार तथा राहत अभियानमा सक्रिय सहभागी बनेपछि उनको सामाजिक छवि थप बलियो बनेको थियो । ¥याप सङ्गीतमार्फत सामाजिक र राजनीतिक विषय उठाउने कलाकारका रूपमा चिनिएका शाह अचानक चुनावी मैदानमा उत्रिँदा शुरुमा धेरैले त्यसलाई गम्भीर रूपमा लिएनन् । तर, चुनावी परिणामले स्थापित दलहरूको गणित उल्ट्याइदियो ।
काठमाडौं महानगरको मेयरमा जित हासिल गरेपछि उनले भर्चुअल लोकप्रियतालाई भौगोलिक राजनीतिक प्रभावमा रूपान्तरण गरे । सामाजिक सञ्जालमा बनेको समर्थन वास्तविक मतमा परिणत भएको उदाहरणका रूपमा उनको विजयलाई विश्लेषण गरियो । चुनावताका फिल्म, संगीत र फेसन क्षेत्रका चर्चित कलाकारहरू खुलेर उनको पक्षमा उभिएका थिए । अभिनेत्री प्रियंका कार्की, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेत, गायिका इन्दिरा जोशी, निर्माता माधव वाग्ले र सन्तोष सेन लगायतको सार्वजनिक समर्थनले उनको अभियानलाई थप चर्चित बनायो ।
शाहले चुनावी घोषणा–पत्रमा डिजिटल सरकार, आइडिया बैंक, सिपमा आधारित रोजगारी जस्ता अवधारणा अघि सारे। डिग्रीभन्दा सिप भन्ने उनको नाराले युवापुस्तामा प्रभाव पा¥यो । राजनीतिक भाषणभन्दा कामको परिणाम देखाउनुपर्नेमा जोड दिने शाह अहिले पनि आफूलाई परम्परागत राजनीतिज्ञभन्दा ‘कार्यसम्पादनमुखी व्यक्ति’का रूपमा प्रस्तुत गर्छन् । जनकपुरको उद्घोष सभामा उनले भनेका थिए– आफू पद होइन, कामको अवसर खोजिरहेको व्यक्ति हुँ । मिथिलालाई ‘वेडिङ डेस्टिनेशन’ बनाउनेदेखि काठमाडौं महानगरले सञ्चालन गरेको निःशुल्क शिक्षाको अभ्यास देशव्यापी बनाउने योजना उनले सार्वजनिक रूपमा सुनाउँदै आएका छन् ।
संघीय संरचनालाई बलियो बनाउनुपर्ने धारणा राख्दै उनले प्रशासनिक अधिकार स्थानीय र प्रदेशमै केन्द्रित हुनुपर्ने तर्क पनि अघि सारेका छन् । जेनजी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने प्रस्ताव आएको चर्चा चल्दा शाहले त्यो अवसर अस्वीकार गरेका थिए ।
प्रधानमन्त्री बन्नेभन्दा प्रणाली परिवर्तन महत्वपूर्ण रहेको सन्देश उनले दिएका थिए । पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै उनले प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धाको बाटो रोजे । अझ साहसी कदमका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि उनको राजनीतिक यात्रा नयाँ मोडमा पुगेको मानियो ।
परम्परागत दलप्रति निराश युवा मतदाता, सामाजिक सञ्जालमार्फत बनेको जनसमर्थन र वैकल्पिक नेतृत्व खोज्ने प्रवृत्ति शाहको मुख्य बल मानिन्छ । व्यक्ति–केन्द्रित राजनीति उदाउँदै गएको समयमा उनी परिवर्तनको प्रतीकका रूपमा स्थापित भएका छन् । तर, नेपाली समाजमा दलगत निष्ठा अझै बलियो छ । संगठन संरचना कमजोर हुँदा केवल लहरका आधारमा चुनाव जित्नु चुनौतिपूर्ण हुन्छ । स्थापित दल र अनुभवी नेतासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्दा चुनावी अंकगणित ठूलो अवरोध बन्न सक्छ ।
विशेषतः अघिल्लो निर्वाचनमा ठूलो मतान्तरसहित विजयी ओलीजस्ता स्थापित नेताबिरुद्ध प्रतिस्पर्धा गर्ने निर्णयले शाहको राजनीतिक जोखिम असाधारण देखिन्छ ।
प्रधानमन्त्री बन्ने सम्भावना अस्वीकार गर्दै ‘ठूलो माछासँग पांैठेजोरी’ खेल्ने निर्णयले शाहको राजनीतिक चरित्र झल्काउँछ– अत्यधिक महत्वाकांक्षी, जोखिम लिन तयार र आत्मविश्वासले भरिएको । ¥यापको मञ्चबाट शुरु भएको उनको यात्रा अहिले राष्ट्रिय राजनीतिक परीक्षणको चरणमा पुगेको छ । अब प्रश्न एउटै छ– जनताको आशा र आफ्नो भिजनबीचको दूरी उनले कति छोटो बनाउन सक्छन् ?
ओलीको किल्लामा मन्धराको कठिन परीक्षा
प्रतिनिधिसभा निर्वाचन–२०७९पछि नेपाली राजनीतिमा ‘प्रधानमन्त्री सम्भावित’ नेताहरूको चर्चा बढिरहेका बेला झापा क्षेत्र नम्बर–५को चुनावी मैदान रोचक बनेको छ । नेकपा एमालेका अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शाहबीच केन्द्रित प्रतिस्पर्धामा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरिया अप्रत्याशित चुनौतिका रूपमा उभिएकी छन् ।
प्रधानमन्त्रीका दाबेदारका रूपमा प्रचारित दुई चर्चित नेतासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्दै कांग्रेसले झापा–५मा पहिलोपटक प्रतिनिधिसभा उम्मेदवार बनाएकी चिमरिया चुनावी मैदानमा होमिएकी हुन् । लामो समयदेखि एमालेको प्रभाव क्षेत्रमा मानिएको यस निर्वाचन क्षेत्रमा कांग्रेसले नयाँ रणनीतिसहित उनलाई अघि सारेको देखिन्छ ।
दमक निवासी ६३ वर्षीया चिमरिया औपचारिक रूपमा पहिलोपटक प्रतिनिधिसभा निर्वाचन लड्दै छिन् । एसएलसीसम्म अध्ययन गरेकी उनी नेपाली कांग्रेसकी महासमिति सदस्य हुन् ।
२०४८ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय चिमरिया झापामा सामाजिक, धार्मिक तथा महिला नेतृत्व विकासका गतिविधिमार्फत परिचित नाम हुन् । उनले नेपाल महिला संघ झापाको सचिव र उपाध्यक्षको जिम्मेवारी समेत सम्हालेकी थिइन् ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा खुलेर उभिएकी उनी पार्टीभित्र संगठन निर्माण र महिला सहभागिता विस्तारमा सक्रिय नेतृका रूपमा चिनिन्छिन् । झापाका कांग्रेस नेता लोकराज ढकालका अनुसार चिमरिया लामो समयदेखि सामाजिक सेवामा क्रियाशील व्यक्ति हुन् । स्थानीय तहदेखि धार्मिक तथा सामुदायिक कार्यक्रमहरूमा उनको निरन्तर सहभागिताले पार्टीभित्र उनको स्वीकार्यता बढाएको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्ने तयारी गरेकी चिमरियाको योजना गठबन्धन राजनीतिले रोकियो । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको तालमेलका कारण कांग्रेसले आफ्नै उम्मेदवार उठाएन । कांग्रेसको समर्थनमा राप्रपाका उम्मेदवार राम थापा मेयर निर्वाचित भएपछि चिमरिया प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट बाहिरिएकी थिइन् ।
गत प्रतिनिधिसभा निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्दै कांग्रेसका उम्मेदवारलाई फराकिलो अन्तरले पराजित गरेका थिए । कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याउँदा रास्वपाका उम्मेदवारले ११ हजार ७५९ मत पाएका थिए ।
२०७४ सालको निर्वाचनमा समेत कांग्रेस उम्मेदवार अधिकारी ओलीसँग पराजित भएका थिए । त्यसैले कांग्रेसका लागि झापा–५ विगतदेखि चुनौतिपूर्ण क्षेत्रका रूपमा रहँदै आएको छ ।
यसपटक भने चुनावी समीकरण अघिल्ला निर्वाचनभन्दा फरक देखिएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा प्रवेश गरेका बालेन शाह पनि यही क्षेत्रमा पुगेपछि प्रतिस्पर्धा त्रिकोणीय बनेको हो । ओलीको स्थापित राजनीतिक आधार, शाहको नयाँ राजनीतिक आकर्षण र कांग्रेसको संगठनात्मक उपस्थिति– यी तीन तत्वले झापा–५को चुनावलाई राष्ट्रिय चासोको केन्द्र बनाएको छ । यस क्षेत्रमा एमाले, कांग्रेस, रास्वपा, राप्रपा, नेपाल कम्युनिष्ट पार्टीसहित विभिन्न दल र स्वतन्त्र गरी २४ उम्मेदवार चुनावी मैदानमा छन् ।
पहिलोपटक प्रतिनिधिसभा निर्वाचन लडिरहेकी चिमरिया आफूलाई ‘सामाजिक आधारबाट आएको उम्मेदवार’का रूपमा प्रस्तुत गर्दैछिन् । पार्टी स्रोतका अनुसार उनी घरदैलो अभियान, महिला सञ्जाल र स्थानीय सामाजिक सम्बन्धलाई मुख्य चुनावी रणनीति बनाउँदै मतदाता समक्ष पुगिरहेकी छन् ।
प्रधानमन्त्रीका सम्भावित दाबेदार दुई नेताबीच कांग्रेसले अघि सारेकी मन्धरा चिमरिया झापा–५ मा केवल उम्मेदवार मात्र होइनन्, परम्परागत शक्ति संरचनालाई चुनौति दिने परीक्षणका रूपमा पनि हेरिन थालेकी छन् ।




























