- प्रतिनिधिसभाको चुनाव
झापा । झापा–४ मा उत्तरदायी, जनमुखी र मूल्यमा आधारित नेतृत्वको खोजी रहेको बखतमा ६३ वर्षीय देउकुमार थेबे (देउमान) को उम्मेदवारी परेको हो ।
निर्वाचनको चहलपहलमा होइन, प्रतिनिधित्वको गुणस्तरमाथि गम्भीर आत्ममन्थनको मोडमा उभिएका कारण थेबेको उम्मेदवारीको महत्त्व झल्किन्छ । वर्षौँदेखि जनताले सुन्दै आएका भाषण, देख्दै आएका अनुहार र भोग्दै आएका अधुरा वाचाबीच यो क्षेत्रले प्रश्न गरिरहेको उत्तर खोज्ने क्रममा थेबेको उम्मेदवारी राजनीतिक विकल्पभन्दा पनि नैतिक र उत्तरदायी निर्णयको प्रस्तावका रूपमा उभिएको छ ।
गौरवमय इतिहास, जिम्मेवार वर्तमान र र उज्यालो भविष्यको नारा बोकेर अघि बढेको नेपाली काङ्ग्रेसका कार्यकर्ता राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त एवं आदर्शप्रति अटुट आस्थावान छन् र दृढ़ अडान र निरन्तर अभियानमा नेपाली काङ्ग्रेस सदैब अविचलित रहने थेबेको भनाइ छ ।
नेपाल देशको उन्नति अनि नेपाली जनताको समग्र प्रगति नेपाली काङ्ग्रेसको मूल अभिष्ट भएकाले बी.पी. कोइरालाको विचार, कैयन शहिदको बलिदान, हजारौं योद्धाको समर्पण र लाखौं सदस्यको अनवरत यात्रा पार्टीका मूल अभिष्टमा केन्द्रित र लक्षित रहेको उनको भनाइ छ । नेपाली काङ्ग्रेसका झापा सभापति थेबे पार्टी सङ्गठनभित्र मात्र होइन, जनजीवनसँग प्रत्यक्ष जोडिएर राजनीति गर्ने नेताका रूपमा चिनिन्छन् । उनको राजनीतिक यात्रा पद, प्रतिष्ठा वा आकस्मिक लोकप्रियताको सहारामा होइन, अपितु सङ्घर्ष, निरन्तरता र जनसम्पर्कको जगमा उभिएको छ । कार्यकर्ताको पीडा, किसानको चिन्ता, युवाको रोजगारीको खोजी र आम नागरिकको दैनिक जीवनका समस्यासँग नजिकबाट साक्षात्कार गरेको अनुभव उनको राजनीतिक चेतनाको आधार हो । 
झापा–४ ले आज शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार र सुशासनजस्ता आधारभूत सवालमा दीर्घकालीन सोच बोकेको नेतृत्व खोजिरहेको छ । यहाँ समस्या नयाँ छैनन् । नयाँ चाहिएको भनेको समाधानप्रति इमानदार प्रतिनिधि हो । देउकुमार थेबे यिनै मुद्दामा स्पष्ट दृष्टिकोण राख्ने, सम्भावनालाई योजनामा रूपान्तरण गर्ने र संसदमा क्षेत्रको आवाज दृढताका साथ उठाउन सक्ने नेतृत्वका रूपमा प्रस्तुत छन् । उनका लागि राजनीति सत्ता प्राप्तिको साधन होइन, यो जनताको भरोसा बोक्ने जिम्मेवारी हो ।
विगतमा झापा–४ ले धेरै वाचा सुनेको छ, तर अपेक्षित परिणाम कमै देखेको छ । त्यसैले आज यो क्षेत्रले नाराभन्दा काम, भाषणभन्दा व्यवहार र शक्तिभन्दा जवाफदेहिता खोजिरहेको छ । देउकुमार थेबे यही मान्यतामा उभिएका छन्, जहाँ प्रतिनिधि जनतासँग उत्तरदायी हुन्छ, आलोचनाबाट भाग्दैन र निर्णयमा पारदर्शिता अपनाउँछ । उनको उम्मेदवारी राजनीतिक स्थायित्व र लोकतान्त्रिक मूल्यको संरक्षणप्रति प्रतिबद्धताको स्पष्ट सङकेत हो ।
नेपाली काङ्ग्रेस इतिहास, सङ्घर्ष र लोकतान्त्रिक निरन्तरताको प्रतीक हो । उनी भन्छन्–राजनीति जनहितमा उभिन्छ, प्रतिनिधित्व विश्वासयोग्य बन्छ र विकास दीर्घकालीन सोचसँग जोडिन्छ । उनले लोकतान्त्रिक मूल्य, निष्ठा र उत्तरदायित्वमा आधारित नयाँ अध्याय सुरु गर्ने महान् अभियानकोे सारथीका रूपमा थेबेको उम्मेदवारी रहेको नेपाली काङ्ग्रेसका युवा नेता भूवन खतिवडाको भनाइ छ । नेपाली काङ्ग्रेसले आज युग र नयाँ पुस्ताले खोजेको राजनीतिक दलमा आफूलाई रूपान्तरित गरेको छ भन्ने थेबेको भनाइ छ । क्षणिक आवेग र उत्तेजनाले होइन, दीगो सोच, स्पष्ट दृष्टिकोण र नीतिगत प्रतिबद्धताले स्थापित नेतृत्वले मात्र मुलुकको निकास दिने हो ।ऊर्जा र अनुभवको सङ्गम—आज देशले खोजेको सक्षम विल्कप नेपाली काङ्ग्रेस हो । स्थायित्व, सुशासन र समृद्ध विकासका लागि आफ्नो उम्मेदवारी रहेको थेबेको भनाइ छ ।

ठुलो होहल्ला र तामझाम बिनानै चुनाव प्रचारप्रसारमा जुटेका पूर्व जनप्रतिनिधिसमेत रहेका थेबे २०७४ र २०७९ मा एलपी साँवाबाट पराजित भए पनि यस पटक जित हासिल गर्ने पक्षमा छन् । उनी भन्छन्–‘दुई पटकको हारले मलाई निराश बनाएको छैन, ती हारले मलाई चुनावी रणनीति बनाउन शिक्षा दिएका छन् ।’ राष्ट्रियता र लोकतन्त्रको संरक्षण र संबद्र्धन गर्दै लोकतान्त्रिक समाजवादको आदर्श अनुरूप समानुपातिक समावेशी सिद्धान्तका आधारमा नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा स्थापित गरी राजनीतिक, सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यले नेपाली काङ्ग्रेस नित्यनिरन्तर अघि बढिरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श एवं सिद्धान्तअनुरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको माध्यमबाट प्रत्येक नागरिकका राजनीतिक, आर्थिक, सामाजिक, भाषिक तथा सांस्कृतिक एवं धार्मिक अधिकार र वैयक्तिक स्वतन्त्रताको प्रत्याभूति गर्दै, नागरिकको सुरक्षा, संरक्षण र समान अवसर उपलव्ध गराउन, न्यायपूर्ण, समतामूलक, गतिशील र शान्तिपूर्ण लोकतान्त्रिक समाज निर्माण गरी सम्पन्न नागरिक र समुन्नत राष्ट्र निर्माण गर्दै राजनीतिक, सामाजिक तथा आर्थिक विकासको लक्ष्य पूरा गर्ने र विश्वशान्ति एवं भ्रातृत्व कायम गर्दै विश्वसामु नेपाललाई अखण्ड, सम्पन्न र स्वाभिमानी राष्ट्रका रुपमा परिचित गराउने नेपाली काङ्ग्रेसको उद्देश्यलाई आफूले सदैव अनुशरण गर्ने थेबेको प्रतिबद्धता छ ।





























