झापा, झापामा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दुईजना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र वहादुर खड्काका अनुसार पक्राउ पर्नेमा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नम्बर ब्युरो इन्चार्ज धमिल र झापा जिल्ला कमिटी सदस्य हेम अर्याल रहेका छन् ।
उनीहरूलाई बुद्धशान्ति गाउँपालिकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
यसैबीच, पार्टीका कार्यालय सचिव अविरलले प्रेस विज्ञप्ति जारी गर्दै संगठनात्मक कामका क्रममा रहेका नेतामाथि न्यूनतम लोकतान्त्रिक अधिकारसमेत उल्लंघन हुने गरी गैरन्यायिक रूपमा पक्राउ गरिएको आरोप लगाएका छन् । विज्ञप्तिमार्फत तत्काल रिहाइको मागसमेत गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले पछिल्लो समय निर्वाचन बहिष्कारसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ ।
प्रहरीले भने पक्राउ अनुसन्धानको प्रक्रिया अन्तर्गत गरिएको जनाएको छ ।





























