व्यक्ति हत्याको अर्को एउटा रुप सर्लाही जिल्लाको सर्लाहीमा कार्यरत सब–इञ्जिनियर प्रमोदकुमार यादवलाई गोली हानी हत्या गरिएको थियो । यादव हत्याको अनुसन्धान गर्दै प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । यही फागुन ३ गते साँझ डेरामा बसेका यादवलाई भेट्न बोलाएर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । पछिल्लो समय मान्छेले मान्छे मार्नु शत्रू जीव मार्नुभन्दा सामान्य हुन थालेको यस घटनाले पुष्टि गरेको छ । यसले वैदिक सनातन दर्शनको ‘वशधैव कुटुम्बकं’ भन्ने आदर्शलाई उपहास गरेको छ ।

प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको हत्याको कारण पनि अनौठो छ । विगतमा व्यक्तिगत शत्रुता, प्रेम र यौन सम्बन्ध, सम्पत्ति विवाद लगायतका कारणले हत्या भएका उदाहरण छन् । तर, यी सबैभन्दा भिन्न यादव हत्याको कारण जागिरको उद्देश्य रहेको अनौठो तथ्य बाहिर आएको छ । प्रदेश लोकसेवा आयोग जनकपुर धामबाट लिइएको सब–इञ्जिनियर पदमा परीक्षा उत्तीर्ण गरेका प्रमोदकुमारलाई सधैँका लागि पन्छाएर वैकल्पिक सूचीमा रहेका गणेशकुमार महतोले नियुक्ति अवसर सुनिश्चित गर्न यस्तो क्रुरता प्रदर्शन गरे । प्रहरीले उक्त घटनाका मुख्य योजनाकार गणेश तथा अपराधमा संलग्न अन्यलाई समेत पक्राउ गरेको छ ।
परिवार र आफन्तबाट हत्या हुनुमा अनैतिक सम्बन्ध, आर्थिक लेनदेन र घरायशी विवाद मुख्य कारणहरु हुने गरका छन् । पछिल्लो समय श्रीमान–श्रीमती नै एकअर्काको हत्यामा संलग्न हुने क्रम बढेको छ । यस्तो हत्यामा परपुरुष वा परस्त्रीसँगको सम्बन्ध देखिने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । आखिर किन मानवता यति कमजोर भइरहेको छ । दया, प्रेम, करुणा र बन्धुत्वको भावना किन मर्दैन ? जसका कारण समाज यति बिदु्रप हुन थालेको छ । त्यसो त हाम्रो पारिवारिक ढाँचा फेरिएको छ । एकल परिवारमा रहँदा बालबालिकाले सामाजिकता, मर्यादा र अनुशासन के हो सिक्न, बुझ्न र त्यस अनुसारको व्यवहार गर्न पाउँदैनन् । अझ प्रविधिको पहुँच सामाजिक सञ्जालको गलत प्रयोग जस्ता कारणले अपराधको मानसिकता बनाउँदै लगेको छ ।
व्यक्ति हत्याका पछि आर्थिक अभाव, उच्च महत्वाकांक्षा समेत जिम्मेवार हुन्छन् । त्यसले मानिसलाई यतिसम्म क्रुर बनाउँछ कि मानिस मानिसलाई मार्न पछि पर्दैन । सर्लाहीमा भएको यादव हत्या प्रकरणले भने नयाँ रहस्य उद्घाटन गरेको छ । रोजगारको अवसर प्राप्त गर्न कै लागि एक निरपराध मानिसको ज्यान जानुले रोजगारीको अवसर कति खुम्चिएको छ भन्ने देखाउँछ । रोजगारकै लागि लाखौं युवाशक्ति विदेश पलायन भइरहेका छन् भने स्वदेशमा रहेकाले पनि क्षमता, सिप र योग्यता प्रयोग गर्ने अवसर पाएका छैनन् । यस्तोमा अनौठो तर विभत्स यादव हत्या प्रकरणले राज्य सञ्चालन गर्ने दल, नेता र नेतृत्वहरुको गम्भीर ध्यान आकृष्ट गर्नुपर्छ । अन्यथा यस्ता अपराधको घटनालाई न्यूनीकरण गर्न गाह्रो हुन्छ ।



























