गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

0
1
गण्डकी,
आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन गण्डकी प्रदेशका ११ वटै जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । प्रदेश निर्वाचन सुरक्षा कमाण्ड पोष्टका संयोजक एवं गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले निर्वाचन लक्षित सुरक्षा तयारी पूरा भएको बताउनुभयो ।
“शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ”, उहाँले भन्नुभयो, “निर्धक्क भएर मतदानमा सहभागी हुन सबै मतदाताहरूमा आह्वान गर्दछौँ ।” सोमबार सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेको उहाँले बताउनुभयो ।
मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेको संयोजक घिमिरेले बताउनुभयो । एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी परिचालन गरिएको उहाँको भनाइ छ ।
जिल्ला कमाण्ड पोष्टसँगको समन्वयमा मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा विश्लेषणसहित आवश्यक रणनीति तयार गरिएको उहाँले बताउनुभयो । “गण्डकी प्रदेशमा ठूलो सुरक्षा चुनौती छैन, सुरक्षा विश्लेषण र निगरानीको काम नियमित भइरहेको छ”, संयोजक घिमिरे भन्नुभयो, “सोमबारदेखि मतदानस्थल केन्द्रित सुरक्षा तयारी सुरु भएको छ ।”
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले सोमबार सबै मतदानस्थलमा प्रहरीको सुरक्षा टोली परिचालन भएका जानकारी दिनुभयो । एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत प्रदेशभर सात हजारभन्दा बढी नेपाल प्रहरी परिचालित भएको उहाँले उल्लेख गर्नुभयो ।
“मतदानस्थलमा गर्नुपर्ने सुरक्षाको पूर्वतयारीमा नेपाल प्रहरी जुटेको छ, निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातवारणमा सम्पन्न गराउन नेपाल प्रहरी तयार छ”, प्रवउ कार्कीले भन्नुभयो । उहाँले निर्वाचनका बेला शङ्कास्पद गतिविधि गर्ने व्यक्ति र समूहलाई निगरानीमा राखिएको बताउनुभयो । सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्वाचन शान्तिपूर्ण र भयरहित हुनेमा कुनै आशङ्का गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मतदानस्थलको अनुगमन र सुरक्षा विश्लेषणका आधारमा सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याइएको बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिएको उहाँको भनाइ छ ।
नेपाली सेना र सशत्र प्रहरी बलले प्रदेशका हरेक निर्वाचन क्षेत्रमा सुरक्षा बेस स्थापना गरी सुरक्षा निगरानी बढाएको छ । प्रदेशभर एक महिनाअघि नै निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको थियो । निर्वाचन सुरक्षालाई दृष्टिगत गरी सुरक्षा निकायले नियमित गस्ती र सुरक्षा निगरानी बढाइरहेका छन् ।
एकीकृत निर्वाचन सुरक्षा योजनाबमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिने जनाइएको छ । नेपाली प्रहरीसँगै निर्वाचन प्रहरी पनि पहिलो तहको सुरक्षा घेरामा परिचालित हुनेछ । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ । मतदानको दिन आउन दुई दिन बाँकी रहँदा प्रदेशभर निर्वाचन सुरक्षादेखि अन्य व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
निर्वाचन सम्पन्न गर्न झण्डै २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन गरिएको छ । अठार निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा ३० स्वतन्त्र उम्मेदवारसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता, एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here