झापा–५ मा चुनावी सुरक्षा कडा : सेनाको ‘एक्सन मोड’, हेलिप्याडदेखि हवाई गस्तीसम्म

0
3

झापा । देशकै ‘इलेक्सन इपिसेन्टर’ बनेको झापा–५ मा चुनावी सुरक्षालाई लक्षित गर्दै नेपाली सेना आक्रामक रूपमा परिचालन भएको छ । मुख्य प्रतिस्पर्धीका कारण सुरक्षा संवेदनशीलता बढेपछि अन्य सुरक्षा निकायसँग समन्वय गरी नेपाली सेनाले विशेष तयारी थालेको हो ।
नेपाली सेनाले दमक–८ स्थित सभागृहमा कम्पनी अपरेटिङ बेस (सीओबी) खडा गरी गत माघ २१ गतेदेखि निर्वाचन सुरक्षा सुरु गरेको जनाएको छ ।
चारआलीस्थित अरिदमन गणका सेनानी सुरेन्द्र योगीको कमाण्डमा सञ्चालन भइरहेको उक्त सीओबीअन्तर्गत चारवटा प्लाटुन अपरेटिङ बेस (पीओबी) स्थापना गरिएका छन् । दमक, गौरादह, तोपगाछी र गौरीगञ्जमा पीओबी राखिएका हुन् ।
सीओबीमा क्षेत्र नम्बर ५ को सुरक्षाका लागि २५० भन्दा बढी सेना खटिएका छन् । प्रत्येक पीओबीमा लप्टनको कमाण्डमा ३५ जनाका दरले फौज परिचालन गरिएको छ ।  
दमक–४ मा रहेको पीओबीले दमक नगरपालिकाको १ देखि १० नं वडासम्म सुरक्षा दिइरहेको छ । गौरादह–५ मा रहेको पीओबीले गौरादह १ देखि ७ नं वडासम्म, कमल–३ तोपगाछीस्थित पीओबीले कमल १ देखि ७ सम्म र गौरीगञ्ज–४ बजारस्थित पीओबीले गौरादह–८ तथा गौरीगञ्ज ३, ४, ५ र ६ नं वडाको सुरक्षा जिम्मा लिएको छ ।

बम डिस्पोजल टोली तयारी अवस्थामा

सीओबीसहित चारवटै पीओबीमा बम डिस्पोजल टोली तैनाथ गरिएको छ । आवश्यक परे जुनसुकै बेला परिचालन हुने गरी टोली तयारी अवस्थामा राखिएको सुरक्षा अधिकारीले बताएका छन् ।
निर्वाचनलाई लक्षित गरी नेपाली सेनाले विद्यालयस्तरमा ‘माइन रिस्क एजुकेसन’ कक्षा सञ्चालन गरेको छ । बेवारिसे अवस्थामा भेटिने शंकास्पद वस्तु वा विस्फोटक सामग्रीबारे कसरी सुरक्षित रहने र तत्काल सुरक्षा निकायलाई खबर गर्ने भन्ने विषयमा विद्यार्थीलाई सचेतना दिइएको छ ।

चार बख्तरबन्द गाडी, विशेष फौज परिचालन


झापा–५ मा सेनाले चारवटा बख्तरबन्द गाडी परिचालन गरेको छ । ती गाडीमा विशेष फौज खटिएको छ । एक महिनाअघिदेखि नै भेहिकल पेट्रोलिङ, मेकानाइज्ड पेट्रोलिङ, डे–नाइट पेट्रोलिङ र फ्ल्याग मार्च सञ्चालन हुँदै आएको सेनाको भनाइ छ ।

हेलिप्याड निर्माण, हवाई रेकी

दमक–८ स्थित सीओबी परिसरमा करिब १५ कठ्ठा क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको छ । स्थानीय तहसँग समन्वय गरी निर्माण गरिएको हेलिप्याडबाट हवाई रेकी र गस्ती सञ्चालन भइरहेको छ ।
हालै नेपाली सेनाको एएलएच हेलिकोप्टर सोही हेलिप्याडमा अवतरण गरेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि विशेष फोर्सले दमक बजार र क्षेत्र नम्बर ५ का विभिन्न क्षेत्रमा हवाई निगरानी गरेको जनाएको छ ।
झापाभर चारवटा सीओबी र १६ वटा पीओबी परिचालनमा रहेका छन् । अन्य सीओबीहरूले चारआली ब्यारेकस्थित हेलिप्याड प्रयोग गरिरहेका छन् ।
सीओबीको पूर्वी पृतनाका पृतनापति, २१ नं बाहिनी अड्डाका बाहिनीपति, सैनिक मुख्यालयका उपरथी तथा जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारीलगायतले निरीक्षण भ्रमण गरेका छन् ।

‘मतदान केन्द्रभित्र प्रवेश हुँदैन’

सेनाले प्रत्येक मतदान स्थलमा अन्य सुरक्षा निकायसँग समन्वय गरी तेस्रो घेरामा रहेर सुरक्षा दिने जनाएको छ । मतदान केन्द्रभित्र सेना प्रवेश नगर्ने स्पष्ट पारिएको छ ।
मतपेटिका ढुवानीका बेला सेनाले स्कर्टिङ र पिकेटिङ मात्र गर्ने, मतपेटिका नछुने सुरक्षा अधिकारीको भनाइ छ ।
झापा–५ का ६१ मतदानस्थलबाट संकलित मतपेटिका दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा ल्याई गणना गरिनेछ । मतदानदेखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म चौबीसै घण्टा सुरक्षा दिने सेनाले योजना बनाएको छ ।

निर्वाचन विथोल्ने वा हस्तक्षेप गर्न खोज्नेविरुद्ध सुरक्षा कार्यविधिअनुसार ‘एक इन्च तलमाथि नगरी’ आक्रामक कारबाही गरिने चेतावनी दिइएको छ। आदेश प्राप्त भइसकेकाले सेना ‘पर्ख र हेर’ मा नभई आवश्यक परे तुरुन्तै एक्सनमा जाने तयारीमा रहेको अधिकारीको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here