झापा, फागुन २१ अर्थात भोलि हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रसँगै मतगणना स्थलको तयारीसमेत पूरा गरिएको छ।
देशकै चुनावी ‘इपिसेन्टर’का रूपमा हेरिएको झापा–५ को मतगणना निर्वाचन अधिकृतको कार्यालय रहेको दमकस्थित अर्ग्यानिक कृषि भवनमा हुने भएको छ। मतदान सम्पन्न भएपछि झापा–५ अन्तर्गतका ६१ वटा मतदानस्थलबाट संकलित मतपेटिका सोही भवनमा ल्याई गणना गरिने व्यवस्था मिलाइएको छ।
मतगणनास्थलको व्यवस्थापन नेपाली सेना को प्रत्यक्ष संलग्नतामा गरिएको हो। सेनाका एक अधिकृतका अनुसार मतगणना अवरोध नहुने गरी सुरक्षा घेरा कडा बनाइएको छ।
मतगणना कक्ष, प्रवेश–निर्गमन मार्ग तथा मतपेटिका राख्ने स्थानलाई सुरक्षा मापदण्डअनुसार व्यवस्थित गरिएको जनाइएको छ। अन्तिम मतपरिणाम घोषणा नहुँदासम्म मतगणना स्थलको सुरक्षा जिम्मा सेनाले नै लिने योजना बनाएको ती अधिकृतले बताए।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा निकायले उच्च सतर्कता अपनाएको जनाइएको छ।






























