कञ्चनपुर,

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ‘बाख्राको हैजा’ भनेर चिनिने पिपीआर रोगको सङ्क्रमण पुष्टि भएको छ ।
पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको परीक्षणअनुसार कैलालीको धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाबाट सङ्कलित नमूनाको नतिजा ‘पोजेटिभ’ आएको हो ।
प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार व्यावसायिक फार्म र स्थानीय किसानले पालेका बाख्रामा पिपीआरको सङ्क्रमण देखिएको छ । अनुसन्धानका क्रममा भारतबाट क्वारेन्टाइन प्रक्रिया पूरा नगरी अवैध रूपमा ल्याइएका बोकाहरूबाट सङ्क्रमण फैलिएको पुष्टि भएको जनाइएको छ । वरिष्ठ पशु चिकित्सक जोशीले गैरकानुनी रूपमा नेपाल भित्र्याइएका ती बोकाबाटै स्थानीय बथानमा पिपीआरको विषाणु सरेको हुनसक्ने बताउनुभयो ।
सीमानाकामा हुने स्वास्थ्य जाँचलाई छलेर ल्याइएका पशुका कारण अहिले स्वस्थ बाख्रासमेत जोखिममा परेका छन् । पिपीआर अत्यन्त सङ्क्रामक विषाणुजन्य रोग भएकाले छोटो समयमै ठूलो सङ्ख्यामा फैलिन सक्ने र उच्च मृत्युदर निम्त्याउन सक्ने खतरा रहेको पशु प्राविधिकहरू बताउँछन् ।
यस अवस्थालाई मध्यनजर गर्दै पशु सेवा कार्यालय र प्रयोगशालाले किसानलाई जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन आग्रह गरेका छन् । नयाँ पशु खरिद गर्दा अनिवार्य स्वास्थ्य परीक्षण गराउन र कम्तीमा २१ दिनसम्म छुट्टै राखेर मात्र पुरानो बथानमा मिसाउन सुझाव दिइएको छ ।
खोरमा रहेका बाख्रामा कडा ज्वरो आउने, मुखमा घाउ देखिने, आँखा–नाकबाट पानी बग्ने वा झाडापखाला लाग्नेजस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकको पशु प्राविधिक वा भेटेरिनरी अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
अवैध पशु ओसारपसारका कारण देखिने यस्ता महामारीले समग्र पशुपालन क्षेत्रलाई नै गम्भीर असर पार्ने भएकाले सीमावर्ती क्षेत्रमा निगरानी कडा पार्नुका साथै किसान स्वयं सचेत हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।






























