सुदूरपश्चिम,

आज हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नयाँ प्रतिनिधि चयन गर्न यहाँका मतदाता उत्साहित छन् । विसं २०७९ मा भएको निर्वाचनको दुई वर्ष बाँकी रहँदै देशमा फेरि निर्वाचन हुँदैछ ।
विषम परिस्थितिमा हुन लागेको निर्वाचनमा योग्य, सक्षम र जनताको सुखदुःखमा साथ दिनसक्ने उम्मेदवारलाई मतदान गर्ने भन्दै मतदाताहरू उत्साहित भएको कैलाली क्षेत्र–५ का मतदाता चेतराज भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशमा कस्तो अवस्थामा निर्वाचन हुदैछ भनेर हामी सबै सचेत छौँ । त्यसैले जनमतको सम्मान गर्ने र देशको अवस्था सम्हाल्नसक्ने उम्मेदवारलाई मत दिन्छौँ । निकै उत्साहित छौँ ।”
जनप्रतिनिधि चुन्न उत्साहित देखिएका मतदाता चुनावपछि देशमा राजनीतिक स्थिरता हुने र गत भदौमा जस्तो फेरि विद्रोह नहुने अपेक्षासहित मतदानमा सहभागी हुँदैछन् ।
कैलालीका पदमकान्त जोशीले भन्नुभयो, “विशिष्ट परिस्थितिमा हुन लागेको चुनावमा मतदान गर्न उत्साहित नै छौँ, आ–आफ्नो मताधिकारको प्रयोग गरेर राम्रो जनप्रतिनिधि छान्ने र फेरि कुनै पनि नाममा आन्दोलन नहुने गरी जनमत आओस् भन्नेमा सचेत हुँदै मतदान गर्छौं ।”
मतदानको दिन आउँदा सहरी क्षेत्रमा अस्थायी रूपमा बसोबास गरेका नागरिकहरु आ–आफ्नो मतदाता नामावली भएको क्षेत्रमा पुगिसकेका छन् ।
मतदानको व्यवस्थापनका लागि तोकिएका मदानस्थलमा आज साँझसम्म मतदान केन्द्र निर्माण तथा व्यवस्थापनका काम सम्पन्न भएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा पाँच लाख ५१ हजार ५२ मतदाता छन् । विभिन्न दलका र स्वतन्त्र गरी यहाँ ७५ उम्मेदवार रहेका छन् ।


























