विनोद सापकोटा,
झापा ।

२०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनले झापा क्षेत्र नम्बर ४ ले एउटा फरक मनोविज्ञान देखाएको छ । यसपटक मतदाताले केवल मत मात्रै हालेनन्, उनीहरूले आफ्नो निराशा, अपेक्षा र वर्षौँदेखि भोग्दै आएको समस्याको सन्देश पनि दिएका छन् । धेरै मतदाताले पुराना दल र चिन्ह छोडेर नयाँ विकल्प रोजे ।
यो परिवर्तनको कारण खोज्न दुई दिन लगाएर झापा क्षेत्र नम्बर ४ का विभिन्न गाउँबस्तीमा हामीले फिल्ड रिपोर्टिङ ग¥यौँ । झिलझिलेबाट सुरु भएको हाम्रो यात्राले शिवगञ्ज, गौरादह नगरपालिका–९, गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर १, झापा गाउँपालिका, कन्काई नगरपालिका र शिवशताक्षी नगरपालिकाको धरमपुर आसपासका क्षेत्रका बासिन्दासँग कुराकानी गर्यौ । कसैको भिडियो बनायौं , कसैको अडियो रेकर्ड राखियो, कतिपयले आफ्नो परिचय सार्वजनिक नगर्ने सर्तमा मनका कुरा सुनाए ।
ती कुराकानीहरूबाट झापा–४ का सर्वसाधारणको साझा आवाज स्पष्ट सुनियो—वर्षौँदेखि भोग्दै आएका समस्या उस्तै छन्, तर नेताहरू बदलिएका छैनन् । यही कारणले यसपटक धेरै मतदाताले मत परिवर्तन गरेका रहेछन् ।
शिवशताक्षी क्षेत्रकी पार्वता अधिकारीको कथा सुन्दा यहाँका धेरै बस्तीको साझा पीडा बुझ्न सकिन्छ । उनीहरू २०३६ सालदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका छन् । झोडा फाडेर बसोबास सुरु गरेको अहिले करिब चार दशक बितिसकेको छ । तर यतिका वर्ष बित्दा पनि उनीहरूको नाममा जग्गाधनी प्रमाणपुर्जा छैन । घर अर्कैको जग्गामा बनेको छ र खेतबारी जोतेको पनि आफ्नो हो जस्तो लाग्दैन ।
‘जोतभोग हामीले गरेका छौँ । तर लालपुर्जा छैन भने कसरी आफ्नो भन्नु ?’ पार्वता अधिकारी भन्छिन् । उनका अनुसार हरेक चुनावमा उम्मेदवारहरू गाउँमा आउँछन्, गाउँका समस्या सुन्छन् र आश्वासन दिन्छन् । तर चुनाव जितेपछि गाउँ फर्केर नआएको अनुभव उनीहरूले पटक–पटक भोगेका छन् । गाउँमा सडकको अवस्था अझै कच्ची छ । वर्षायाममा हिलोले हिँड्न गाह्रो हुन्छ । खानेपानीको व्यवस्था पर्याप्त छैन । स्वास्थ्य सेवा टाढा छ । नदीको कटानले खेतीयोग्य जमिन घटिरहेको छ ।
‘यी समस्या हामीले हरेक चुनावमा सुनायौँ । तर कसैले समाधान गरेन,’ उनले भनिन् । यही कारणले उनले यसपटक आफ्नो मत परिवर्तन गरेको बताइन् । गौरीगञ्जका पुण्यप्रसाद सुवेदी नाम (परिवर्तन) कुनै पनि राजनीतिक दलका सदस्य होइनन् । उनले यसअघि पनि चुनावमा फरक फरक निर्वाचन चिन्हमा मतदान गर्दै आएका थिए । तर उनि कुनै पार्टीमा आवद्ध छैनन् ।
गाउँका साथीभाइ र छिमेकीहरूले फागुन २१ को चुनावका बेला पनि सल्लाह दिएका थिए । उहाँहरुले मलाई हलोमा भोट हाल्न सल्लाह दिएका थिए । उनले भने,‘मैले यो पटक घन्टी चिन्हमा मतदान गरे । फेसबुकमा पनि धेरै चर्चा घन्टीकै थियो । यसैमा लगाए ।’
उनका अनुसार वर्षौँदेखि नेताहरूले जनताका समस्या समाधान गर्न सकेनन् । त्यसैले यसपटक नयाँ विकल्पलाई मौका दिनुपर्छ भन्ने सोचले मत परिवर्तन गरेका हुन् । ‘यसअघिका नेताले केही पनि गर्न सकेनन् । त्यसैले यसपटक नयाँलाई हेरौँ न त भनेर मत परिवर्तन गरेँ,’ उनले भने ।
उनले आफ्नो परिचय सार्वजनिक नगर्न आग्रह पनि गरे । यदि आफूले कसलाई भोट दिएको कुरा गाउँमा थाहा भयो भने सम्बन्ध बिग्रिन सक्ने उनको चिन्ता छ । उनका अनुसार गाउँमा खानेपानीको राम्रो व्यवस्था छैन । सरकारी विद्यालयमा छोराछोरी पढाउँदा पनि बोर्डिङ विद्यालय जस्तै शुल्क तिर्नुपर्छ । उनी वर्षौँदेखि फुसको घरमा बसिरहेका छन् ।
‘धनीले सरकारलाई बुझाउने कर र हामीजस्ता हुँदा खानेले बुझाउने कर उस्तै छ,’ उनको ठुलो गुनासो छ । उनका अनुसार गाउँमा बेरोजगारी ठूलो समस्या बनेको छ । धेरै युवा विदेश गएका छन् । गाउँमा कामको अवसर कम भएकाले रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ ।
झापा गाउँपालिकाका सञ्जय शाहले पनि यसपटक मत परिवर्तन गर्ने योजना बनाएका थिए । तर मतदान केन्द्रमा पुगेपछि उनको मन बदलियो । ‘मतपत्रमा स्वस्तिक छाप हान्ने बेला हात मनले मानेन । मैले त्यसो गर्न सकिन,’ उनले भने। अन्ततः उनले नेपाली कांग्रेसको रुख चिन्हमै मतदान गरे । उनका अनुसार झापा गाउँपालिकामा आधारभूत पूर्वाधार धेरै हदसम्म पुगेको छ । सडक, विद्यालय, विद्युत् र सञ्चार सुविधा विस्तार हुँदै गएको छ ।
तर उनले पनि केही समस्या औँल्याए । किसानले मलखाद समयमा पाउन गाह्रो हुन्छ । सिँचाइको पर्याप्त व्यवस्था छैन । कृषि उत्पादनको उचित मूल्य पनि किसानले पाउँदैनन् ।
उनका अनुसार कन्काई पुल निर्माण भएपछि हुलाकी राजमार्ग अझ सक्रिय हुनेछ र यातायात सहज हुनेछ ।
मिरा तामाङ २०६४ सालदेखि मतदान गर्दै आएकी मतदाता हुन् । उनी कुनै राजनीतिक दलको सदस्य होइनन् । यसपटक भने उनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईका कुरा सुनेर मतदान गरेको बताइन् ।
‘उनका कुरा सुनेपछि म नतमस्तक भएँ,’ उनी भन्छिन् । उनी नेपालको शिक्षा प्रणालीलाई बोझिलो मान्छिन् । बच्चाहरूले धेरै किताब बोकेर विद्यालय जानुपर्ने अवस्था उनलाई पटक्कै मन परेको छैन । ‘सात किलोभन्दा बढी किताब र कापी बोकेर नानीहरू विद्यालय जानुपर्छ,’ उनले भनिन् ।
उनका अनुसार विकसित मुलुकहरूमा शिक्षा प्रणाली सरल छ । त्यसैले नेपालमा पनि शिक्षा प्रणाली सुधार गर्न आवश्यक छ भन्ने उनको विश्वास छ । झापा–४ का विभिन्न गाउँबस्तीमा गरिएको कुराकानीले यहाँ समस्याको ठुलो चाङ रहेछ । धेरै ठाउँमा स्वास्थ्य चौकी भए पनि पर्याप्त औषधि र विशेषज्ञ डाक्टरको अभाव छ । किसानले मलखाद समयमा पाउँदैनन् र सिँचाइको समस्या पनि उस्तै छ । नदी कटानले खेतीयोग्य जमिन घटिरहेको छ । कृषि उत्पादन बजारसम्म पु¥याउन सडक र ढुवानीको समस्या चुलिदो छ ।
सरकारी विद्यालयमा पढ्दा पनि अभिभावकले धेरै शुल्क तिर्नुपर्ने गुनासो सुनियो । गाउँमा रोजगारका अवसर कम भएकाले युवाहरू विदेश पलायन भइरहेका छन् । अर्कोतर्फ धेरै मतदाताका छोराछोरी विदेशमा रहेका छन् । विदेशको उनिहरुको अनुभवले पनि मतदाता (अभिभावक) को सोचमा प्रभाव पारेको देखिन्छ ।
‘हाम्रा नानीहरू विदेशमा छन् । उनीहरूले त्यहाँको विकास देखे,’ एक स्थानीयले भने । विदेशमा बस्ने सन्तानहरूले फोन गरेर यसपटक मतदानमा नयाँ विकल्प रोज्न सुझाव दिएको उनीहरूले बताए ।
झापा–४ का मतदाताको भनाइमा राजनीतिक पार्टीहरू कमजोर छैनन्, तर समस्या नेताहरूमा छ । वर्षौँदेखि एउटै अनुहार राजनीति हावी भएको र सर्वसाधारणले नेताको चाकडी गर्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ ।
देशभर नयाँ राजनीतिक शक्तिले भारी मतान्तरका साथ जित हासिल गरिरहेको सन्दर्भमा झापा–४ का मतदाताको अपेक्षा पनि बढेको छ । उनीहरू भन्छन्, अब हेर्न बाँकी छ—यहाँबाट निर्वाचित भएर जाने सांसदले संसदमा जनताको आवाज बोल्छन् कि बोल्दैनन् । तर उनीहरूका अनुसार बोल्नु मात्रै पर्याप्त हुँदैन, कार्यान्वयन हुनुपर्छ ।
झापा–४ का गाउँबस्तीमा गरिएको फिल्ड रिपोर्टिङले देखाएको सन्देश स्पष्ट छ । मत परिवर्तन राजनीतिक घटना होइन, जनताको मनोविज्ञानको परिवर्तन पनि हो । वर्षौँदेखि उस्तै समस्या भोग्दै आएका सर्वसाधारणले यसपटक पुराना दल र नेताहरूलाई कडा सन्देश दिएका छन् । झापा–४ का भुईँ मान्छेहरू अब प्रतीक्षामा छन्। उनीहरूको एउटै प्रश्न छ ।‘हामीले मत बदल्यौँ, अब नेताहरू बदलिन्छन् कि बदलिँदैनन् ?’




























