मोरङका ६ वटै क्षेत्रमा रास्वपाको ऐतिहासिक विजय : सबै क्षेत्रमा जित्दै ह्याट्रिक

0
11

योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ),

मोरङ जिल्लाका सबै ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक जित हात पार्दै ह्याट्रिक गरेको छ। यसपटकको निर्वाचनमा रास्वपाले मोरङका सबै क्षेत्रमा प्रतिस्पर्धी दलहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै जिल्लाभर बलियो उपस्थिति स्थापित गरेको हो।

मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन्। उनले श्रम संस्कृति पार्टी (माटो)की उम्मेदवार शान्ति पाख्रिन लामालाई ९ हजार ८ सय ४५ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।

अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २७ हजार ३ सय ६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी पाख्रिनले १७ हजार ५ सय २२ मत ल्याइन्। यसैगरी नेपाली कांग्रेसका खडगबहादुर फागोले ११ हजार ९ सय ८६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे भने नेकपा (एमाले)का घनश्याम खतिवडाले ९ हजार ८ सय २३ मत ल्याउँदै चौथो स्थानमा सीमित भए।

मोरङ क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार कृष्णकुमार कार्की फराकिलो मतान्तरले विजयी भएका छन्। उनले एमालेका उम्मेदवार दिलीपकुमार अग्रवाललाई पराजित गरेका हुन्। कार्कीले ४० हजार ९२४ मत प्राप्त गर्दा अग्रवालले १५ हजार ६२४ मत मात्र पाए। कांग्रेसका मिनेन्द्र रिजालले १२ हजार ७६४ मत ल्याए भने श्रम संस्कृति पार्टीका अबोह रैरहले १ हजार ८२२ र नेकपाका चन्द्रवीर राईले १ हजार ३६६ मत प्राप्त गरे।

त्यस्तै मोरङ क्षेत्र नम्बर ३ मा रास्वपाका गणेश कार्की निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका सुनिलकुमार शर्मालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्। कार्कीले ३६ हजार ९ सय २४ मत प्राप्त गर्दा शर्माले २४ हजार ३ सय ५४ मत पाए। यसैगरी श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५ सय ९ मत, नेकपा (एमाले)का इरनकुमार राईले ७ हजार ७ सय ५२ मत र नेकपाका डा. देउमान सम्बाहाङफेले १ हजार २ सय ५९ मत प्राप्त गरे।

मोरङ क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन्। उनले ४० हजार ८३३ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले १२ हजार ८१८ मत पाए भने नेकपाका अमनलाल मोदीले १० हजार ७६२ मत प्राप्त गरे।

यसैगरी मोरङ क्षेत्र नम्बर ५ मा रास्वपाकी उम्मेदवार आशा झा फराकिलो मतान्तरले विजयी भएकी छिन्। उनले नेपाली कांग्रेसका फुलकुमार लालवानीलाई २० हजारभन्दा बढी मतान्तरले पराजित गरिन्। अन्तिम मतपरिणाम अनुसार झाले ३० हजार ४३४ मत प्राप्त गरिन् भने लालवानीले ९ हजार ४१५ मत पाए। यसैगरी जसपाका राजकुमार यादवले ८ हजार ७४७ मत, नेकपाका शिवकुमार मण्डलले ८ हजार ७१४ मत र एमालेका मनोज अग्रवालले ६ हजार १४५ मत प्राप्त गरेका छन्।

त्यस्तै मोरङ क्षेत्र नम्बर ६ मा रास्वपाकी उम्मेदवार रुबिना आचार्य अत्यधिक मतसहित विजयी भएकी छिन्। उनले ५५ हजार ५१३ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. शेखर कोइरालालाई ठूलो मतान्तरले पराजित गरिन्। कोइरालाले १२ हजार ८५० मत प्राप्त गर्दा एमालेका उम्मेदवार बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन्।

यसरी मोरङका सबै ६ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लामा अभूतपूर्व सफलता हात पारेको छ। मतदाताहरूले पुराना दलहरूप्रति असन्तुष्टि जनाउँदै वैकल्पिक शक्तिको रूपमा रास्वपालाई व्यापक समर्थन दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

मोरङबाट देखिएको राजनीतिक सन्देश

यसपटकको परिणामले मोरङमा मात्र होइन, देशभर राजनीतिक बहस सुरु गराएको छ। विश्लेषकहरूका अनुसार मतदाताले नयाँ अनुहार, वैकल्पिक राजनीति र परिवर्तनको अपेक्षा गर्दै रास्वपालाई ठूलो जनादेश दिएका छन्।

मोरङजस्तो राजनीतिक रूपमा संवेदनशील जिल्लामा सबै क्षेत्र जित्नु रास्वपाका लागि ठूलो उपलब्धि मानिएको छ। यसले आगामी दिनमा संघीय राजनीतिमा समेत पार्टीको प्रभाव बढ्ने संकेत दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here