झापा, झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।
निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय झापामा पेश गरिएको विवरण अनुसार शाहले निर्वाचन अभियानका क्रममा कुल १४ लाख १७ हजार ७२९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
पेश गरिएको विवरणमा विभिन्न शीर्षकमा गरिएको खर्च समेटिएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा सवारी साधन भाडामा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा २ लाख ३३ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । त्यसैगरी पाँच पटकको हवाई भाडामा ३५ हजार रुपैयाँ तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्च शीर्षकमा २६ हजार ९७० रुपैयाँ खर्च भएको जनाइएको छ ।
त्यस्तै वडा स्तरीय प्रचार कार्यक्रम तथा घरदैलो अभियान सञ्चालनका लागि ४ लाख ५० हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ । नमुना मतपत्र छपाइका लागि ४४ हजार ५५० रुपैयाँ खर्च भएको जनाइएको छ ।
निर्वाचन अभियानका क्रममा कार्यालय सञ्चालनका लागि पानी खर्च शीर्षकमा दुई महिनामा ९० हजार रुपैयाँ तथा स्टेशनरी खर्च शीर्षकमा २९ हजार ६७० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
यसैगरी प्रचार सामग्री छपाइ ९कपडा तथा ब्यानर० मा १ लाख ७५ हजार ३४ रुपैयाँ र प्रचार सामग्री ढुवानी तथा टिकटमा १ लाख १९ हजार ५०५ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ । उम्मेदवारी दर्ता शुल्कका लागि १० हजार रुपैयाँ खर्च भएको पनि उल्लेख गरिएको छ । खर्च विवरण शाहका प्रतिनिधि नविन भण्डारीले हस्ताक्षर गरी आज जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नु भएको हो ।




























