झापा,गौरादह नगरपालिकाले नगरप्रमुख छत्रपति सुवेदी माथि भएको दुव्र्यवहार र हातपातको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
नगरपालिकाले जारी गरेको विज्ञप्तिअनुसार फागुन २४ गते बेलुका करिब ६ः३० बजे नगरप्रमुख सुवेदीको निजी निवासमा गौरादह नगरपालिका–५ का भिम सिटौलाले अभद्र व्यवहार तथा हातपात गरेका हुन् । उक्त घटनाप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
नगरपालिकाका प्रवक्ता नरेन्द्र भण्डारीले जारी गरेको विज्ञप्तिमा नगरप्रमुखमाथि निवासमै पुगेर गरिएको यस्तो कार्य निन्दनीय र भत्र्सनायोग्य भएको उल्लेख छ । यस्ता गतिविधिले असुरक्षाको वातावरण सिर्जना गर्नुका साथै जनप्रतिनिधि र सर्वसाधारणको मनोबल कमजोर बनाउने भन्दै नगरपालिका चिन्तित बनेको उल्लेख गरिएको छ ।
घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याई थप अनुसन्धान गरी कडाभन्दा कडा कारबाही गर्न सुरक्षा निकाय र प्रशासनसँग जोडदार माग गरिएको नगरपालिकाले जनाएको छ ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन जनप्रतिनिधि तथा सर्वसाधारणको सुरक्षामा थप संवेदनशीलता अपनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
यस घटनाप्रति नगरपालिकाले नागरिकलाई विचलित नहुन र कुनै पनि प्रकारका अवाञ्छित गतिविधिविरुद्ध एकजुट हुन अपिल गरेको छ ।
घटनामा सम्लग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र वहादुर खड्काले जानकारी दिए ।





























