काठमाडौँ,

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो र जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ ।
अवलोकन तथा निरीक्षण भ्रमणका क्रममा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुग्नुभएका सचिव श्रेष्ठले स्थानीय तहलाई जिम्मेवार बनाई स्रोतसाधनको व्यवस्था र प्राविधिक सहयोग भने प्रदेश र सङ्घ सरकारले गर्नुपर्ने धारणा राख्नुभयो ।
गत साता सम्पन्न निर्वाचनका सन्दर्भमा मौसम कस्तो होला भन्ने जिज्ञासा रहिरहेका बेला जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानले सहयोग गरेको दृष्टान्त राख्दै सचिव श्रेष्ठले पूर्वानुमानको विश्वसनियताको जगमा पूर्वतयारी र प्रतिकार्यलाई सुदृढ बनाउनुपर्ने बताउनुभयो ।
प्राधिकरणका कार्यकारी प्रमुख इ दिनेश भट्टले प्राधिकरणले सम्पादन गरिरहेका कार्यहरू, चुनौती एवं मन्त्रालयबाट गरिएका अपेक्षाहरूबारे प्रस्तुतीकरण गर्नुभएको थियो । त्यसक्रममा सचिव श्रेष्ठले प्राधिकरणद्वारा तयार पारिएको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन हाते पुस्तिका’को विमोचन पनि गर्नुभयो ।





























