युवा समृद्धिका बाहक बनून्

0
11

ऐतिहासिक रुपमै यसपटकको निर्वाचनमा नयाँ तथा युवा सांसदहरुले प्रवेश पाउँदैछन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ऐतिहासिक रेकर्ड कायम गरेका तथ्यांकहरुकै सूचीमा युवा र नयाँ सदस्यको प्रवेश मुख्य हो । अघिल्लो आवधिक निर्वाचन अर्थात् २०७९ मा प्रत्यक्ष र समानुपातिक गरी एक्काइस सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले परिस्थितिजन्य सम्पन्न यो निर्वाचनमा संसदको दुईतिहाइ सदस्य आफ्नो पोल्टामा पारेर सर्वाधिक महŒवको रेकर्ड कायम गरेको हो । यसकारण पनि संसद प्रवेश गर्ने प्रत्यक्ष तर्फबाट निर्वाचित कूल एक सय पच्चीस जनामध्ये एक सय तेह्र जना नयाँ छन् । त्यसैगरी दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले जितेको कूल अठाह्र मध्ये चौध जना नयाँ सदस्यले, एमालेका कूल नौ जना मध्ये तीन जना नयाँ अनुहार छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट जितेका कूल आठ जना मध्ये तीन जना नयाँ छन् ।

प्रत्यक्ष तर्फबाट निर्वाचित नयाँ अनुहार मध्ये सबैभन्दा धेरै युवा नै छन् । यस हिसाबले देशलाई समृद्ध बनाउन, भ्रष्टाचारको अन्त्य गर्न र सुशासन कायम गर्न युवा शक्ति लाग्नु पर्दछ । परिवर्तनको चाहना राख्ने मतदाताको भावना मतपेटिका मार्फत निर्वाचित सदस्यहरुको जिम्मेवारीमा आएको छ । भदौ २३–२४ गते भएको विद्यार्थी तथा युवाहरुको विद्रोहको जगमा टेकेर आमनिर्वाचन मार्फत संसद प्रवेश गरेका प्रतिनिधिहरुले नेपाली जनताको संघर्ष र बलिदान खेर जानु हुँदैन । त्यही विद्रोहकै परिणति अन्तरिम सरकार र सरकारको दृढताले सम्पन्न आमनिर्वाचनको परिणाम पुराना दलहरुको नेतृत्वको संकीर्णता, अहंकार, दम्भ र स्वेच्छाचारिताका कारण जनताबाट उपेक्षित हुन पुगे । यस्तो कठिन घडीमा रास्वपाले पाएको अपार जनसमर्थनको गौरवलाई जोगाइ राख्न सुशासन र भ्रष्टाचारबिरुद्धको शून्य सहनशीलता कामबाट देखिनु पर्दछ ।

निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका दल मध्ये रास्वपा एक हो । रास्वपामा भर्खरै प्रवेश गरेका काठमाडौं महानगर प्रमुख पदबाट राजीनामा दिएर संसदीय राजनीतिमा चमत्कारी ढंगले प्रवेश गरे । नगर प्रमुख हुँदाको तीन वर्षको कार्यकालमै राम्रा काम गरेर सबैको मन जितेका बालेन्द्र शाह देशकै युवाशक्तिको आकर्षणको केन्द्र बनेर अझ पूर्वी नेपालको झापा अझ निर्वाचन क्षेत्र ५ मा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिष्पर्धा गर्ने साहसपूर्ण निर्णय गरेर विश्वव्यापी रुपमै चर्चाको केन्द्रमा रहे । निर्वाचन सम्पन्न भई परिणाम पनि सार्वजनिक भइसकेको छ । अब बालेन्द्र शाह प्रधानमन्त्री बन्ने निश्चित छ । तर, उनी र उनको दल रास्वपाका अघि चुनौतीको पहाड निक्कै अग्लो छ । उनले मुलुकबासी र राष्ट्रको हितलाई सर्वोपरि राखेर नेपालीको स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र आत्मसम्मानको श्रीवृद्धि गर्नु पर्दछ । छिमेकी देशहरुसँग सुमधुर, निकटदूरी, सन्तुलित र पारदर्शी सम्बन्ध राखेर विदेशी लगानीलाई समेत आकर्षित गर्नुपर्छ । यसो गरिए विदेशिएका लाखौं नेपाली युवाले स्वदेश फिर्ने वातावरण तय हुन्छ र गाउँ फेरि उर्वर हुन्छ, आत्मनिर्भरता बढ्छ, सबैको सहकार्यबाट देश शान्त र समृद्ध बन्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here