काठमाडौँ,

“इतिहास केवल अतितको कथा होइन, वर्तमानलाई बुझ्ने मार्ग पनि हो ।’’, भारत स्वतन्त्र भएपछिका तत्कालीन प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले भने झैँ इतिहासका घटनाहरुले वर्तमानलाई बुझाउन मद्दत गर्छ । इतिहासबाट पाठ सिकेर भविष्यको गोरेटो कोर्नुपर्छ पनि भनिन्छ तर इतिहासको विरासतले मात्रै वर्तमान र भविष्य चल्न सक्दैन पनि भनिन्छ ।
मुलुकमा प्रतिनिधिसभाको निर्वाचन (फागुन २१) कै बीच प्रकाशनमा आएको लेखक / पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ ले नेपालको निर्वाचन र लोकतान्त्रिक पद्धतिको इतिहासलाई पुनःस्मरण गराएको छ । पहिलो आम निर्वाचनमा दुई तिहाइको जनमत प्राप्त गरेको नेपाली कांग्रेस पछिल्लो निर्वाचनबाट निकैपछि परेको सन्दर्भले पनि पुस्तकलाई समयसापेक्ष बनाएको छ ।
इतिहासका घटना सम्झन नसक्नेले दुःखद् घटनालाई दोहोर¥याउन बाध्य हुन्छ भन्ने भनाइलाई पनि निर्वाचन प्रणालीका उतारचढावले प्रदर्शन गर्दै नआएका होइनन् । यस पुस्तकले नेपाली निर्वाचन इतिहासको सोही ऐतिहासिक घटनालाई केन्द्रमा राखेर ‘पहिलो आम निर्वाचन २०१५’ लाई अभिलेखीकरण गरेको छ । नेपालमा २०१५ साल फागुन ७ गते पहिलो आम निर्वाचन भएको मितिलाई आधार मानेर हरेक फागुन ७ लाई निर्वाचन आयोगले निर्वाचन दिवसका रुपमा मनाउँदै पनि आएको छ । संयोग, त्यही दिन मुलुकको आधिकारिक समाचार समिति (रासस) को पनि स्थापना दिवस हो ।
नेपालको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसको ‘रुख’, नेपाल राष्ट्रवादी गोर्खा परिषद्को झुपडी (घर), संयुक्त प्रजातन्त्र पार्टीको ‘धानको बाला’, नेपाल कम्युनिष्ट पार्टीको ‘मकैका तीन घोगा र हँसिया’, नेपाल प्रजा परिषद् (टङ्कप्रसाद आचार्य समूह) को ‘धन कोदालो’, नेपाल प्रजा परिषद् (भद्रकाली मिश्र समूह) को ‘हलो’, नेपाली राष्ट्रिय कांग्रेसको ‘छाता’, तराई कांग्रेसको ‘टाउकोमा गहुँको बिटा बोक्ने कृषक’, प्रजातान्त्रिक महासभाको ‘हात’ निर्वाचन चिन्ह रहेको थियो । स्वतन्त्र उम्मेदवार विभिन्न निर्वाचन चिन्हमा लडेका थिए ।
देशभरका १०९ क्षेत्रमा भएको उक्त निर्वाचनमा उम्मेदवारको धरौटी रु २५० र खर्चसीमा रु पाँच हजार रहेको रोचक तथ्यहरु पनि पुस्तकमा रहेका छन् । त्यस निर्वाचनमा १०९ स्थानका लागि ७८६ उम्मेदवार रहेकामा नेपाली कांग्रेसले ७४ स्थानमा विजय हासिल गरेको थियो । दुई तिहाइ मत ल्याएसँगै सो दलबाट बिपी कोइराला प्रधानमन्त्री बन्नुभएको थियो । आफूले सोचे भन्दा बढी मत कांग्रेसले पाएपछि तत्कालीन राजा महेन्द्र र कांग्रेस तथा प्रधानमन्त्री कोइरालाबीच दूरी बढेको सन्दर्भ पुस्तमा रहेको छ । त्यही दूरी बढेको घटनाक्रमले २०१७ पुस १ गते राजाले प्रधानमन्त्रीलाई अपदस्थ र संसद् विघटन गरी तीस वर्षसम्म पञ्चायती शासन चलाएको इतिहास ताजै छ ।
जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा भएको प्रतिनिधिसभा निर्वाचनको परिणाम कतिपयलाई रोचक लागिरहेका बेला प्रकाशित पुस्तकले नेपालको पहिलो संसदीय निर्वाचनको पृष्ठभूमि, प्रक्रिया, राजनीतिक वातावरण तथा परिणामलाई तथ्यगत, खोजपरक र विश्लेषणात्मक ढङ्गले प्रस्तुत गरेको छ ।पुस्तकमा २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति, तत्कालीन राजतन्त्र र दलहरुको अन्तरसङ्घर्ष, प्रजातन्त्रको सवलीकरणका लागि दलहरूको सक्रियता, ती दलहरुभित्रका विवाद र गुट–उपगुट आदिलाई चर्चा गरिएको छ । नेपालको लोकतान्त्रिक प्रणाली, राजाको निरकुङ्शता र संवैधानिक विकासक्रमलाई विस्तृतरूपमा व्याख्या गरिएको पुस्तक राजनीति शास्त्रका जिज्ञाशुहरुका लागि गहकिलो खुराक भएको छ ।
मुलुकमा २००७ सालमा प्रजातन्त्र आए पनि किन २०१५ सालमा मात्रै संसदीय निर्वाचन हुन पुग्यो र त्यो निर्वाचन हुन कसरी सम्भव भयो,भन्ने ऐतिहासिक सन्दर्भलाई बुझ्न पुस्तकले सघाएको छ । अन्तररष्ट्रिय मामिलाका पनि अध्येता अनुपमकृत पुस्तकमा त्यसबेलाको निर्वाचन व्यवस्थापन, दलहरूको चुनावी रणनीति, निर्वाचन घोषणापत्र, मतदाताको सहभागिता तथा निर्वाचन परिणामलाई विभिन्न स्रोत र तथ्याङ्कका आधारमा प्रस्तुत गरेका छन् । त्यसबेलाका दल र उम्मेदवार, निर्वाचन चिन्ह, निर्वाचन क्षेत्र र निर्वाचन गराउने अधिकृतहरु, प्राप्त मत परिणाम पनि समावेश गरिएको छ । यसअघि निर्वाचन आयोगबाट नेपालको निर्वाचन इतिहासका शृङ्खलाबद्ध पुस्तक प्रकाशन भए पनि राजनीतिक स्थिति र विवेचनासहितको यस प्रकारको पुस्तक भने बजारमा उपलब्ध थिएन ।
निर्वाचनसम्बन्धी ऐतिहासिक दस्तावेज, तथ्याङ्क र अभिलेखको प्रयोग विवरणात्मक नभइ विश्लेषण र विवेचनात्मकरुपमा प्रस्तुत गरिएको छ । नेपालमा लोकतान्त्रिक अभ्यासको प्रारम्भिक चरण बुझ्न चाहने पाठक, अनुसन्धानकर्ता तथा विद्यार्थीका लागि यो पुस्तक उपयोगी स्रोत बन्न सक्छ ।लेखक अनुपम पत्रकारितमै सक्रिय रहेकाले पुस्तकको भाषाशैली सरल र सुस्पष्ट देखिन्छ । इतिहासका विषय पढ्न निरस लाग्ने भए पनि लेखकको विवरण केलाउने र रोचक बनाउने शैलीले पुस्तक पढ्दा पाठकलाई अल्छी लाग्दैन ।
नेपालको संसदीय इतिहासमा महत्वपूर्ण मानिने यस प्रकाशनले २०१५ सालअघि र पछिका राजनीति घटनाक्रमलाई पनि मूल्याङ्कन गर्न प्रेरित गरेको मान्न सकिन्छ । पछिल्लो समयमा अहिलेको युवा पुस्ताको राजनीतिक सहभागिता र उनीहरुको अपेक्षा एवं चाहनालाई राज्यका नीति निर्माण तथा सेवा प्रवाह (सुशासन) मा प्रकट हुनुपर्ने सन्दर्भ जोडतोडका साथ उठिरहेका बेला नेपालको पहिलो आम निर्वाचनताका पनि फरक शब्दावलीमा ती विषय उठेकै रहेछन् भन्ने देखिन्छ । नयाँ पुस्तकले मुलुकको राजनीति र लोकतान्त्रिक अभ्यासबारे चासो दिनु आफैमा प्रणालीका लागि सकारात्मक पक्ष हो । यस पक्षलाई मनन् गर्न सघाउन पुस्तक उपयोगी हुने देखिन्छ । पहिलो आम निर्वाचन भएका बेला मुुलुकमा यातायात र सञ्चारलगायत साधनको अपर्याप्तताका कारण चरणबद्धरुपमा निर्वाचन भएको र निर्वाचनको परिणाम आइपुग्दासम्म ८० दिन लागेका विवरण पुस्तकमा समोटिएको छ ।
‘बुक हिल’ प्रकाशनद्वारा प्रकाशित पुस्तकमा अधिकांशः त्यस समयमा उपलब्ध अखिलेख र तथ्याङ्क तथा विवेच्य पक्षहरु समावेश भए पनि ‘तथ्याङ्कीय टेबुलेसन’, त्यसबेलाका तस्बिर भने समेटिएको छैन । यस्तै त्यसबेला अस्तित्वमा रहेका दलहरु र तिनका धारहरु अहिलेका कुन दल र पक्षसँग गाभिए वा कसरी बिलाएर गए भन्ने पक्षको पनि विशलेषण गरिएको भए सुनमा सुगन्ध हुने थियो । समग्रमा नेपालको निर्वाचन इतिहास लोकतान्त्रिक उतारचढावलाई मिसहनरुपमा अध्ययन र विश्लेषण गर्न पुस्तक सामयिक देखिन्छ ।





























