आत्मसमीक्षा गरौं

0
7

भर्खरै सम्पन्न निर्वाचनको परिणामले विघटित प्रतिनिधिसभाका प्रमुख दल र नेतृत्वका बारेमा तीव्र, बहस शुरु भएको छ । लामो समयदेखि सत्ता र शक्तिमा रहेको नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलभित्रको यो बहस निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्ने स्वभाविक नै हो । प्रतिनिधिसभा निर्वाचनमा लाज लाग्ने गरी पराजीत हुनु परेको कारण ती दलभित्र आफूहरुले अख्तियार गरेको नीति र त्यसलाई व्यवस्थापन गर्ने नेतृत्वका विषयमा शुरु भएको बहस दलभित्रका कमी–कमजोरी हटाउन र दललाई नयाँ ढंगबाट रुपान्तरण गर्न जरुरी पनि हुन्छ ।

हिजोसम्म ठूलो दलका रुपमा रहेको नेपाली कांग्रेस चुनावकै मुखमा विशेष महाधिवेशनबाट पुनर्संगठित भएको थियो । नेतृत्व नै परिवर्तन गरेको कांग्रेसले नियमित महाधिवेशनको पनि व्यवस्थापन गर्नु नै छ । त्यसैगरी दोस्रो ठूलो दलका रुपमा रहेको एमालेले नियमित महाधिवेशनबाट निर्वाचन मार्फन नेतृत्व चयन गरेको थियो भने तत्कालीन माओवादी केन्द्र लगायतका दल आयोजक समिति बनाएर निर्वाचनमा गएकै हुन् । तर, यी तीनवटै दलले सम्पन्न निर्वाचनमा लज्जास्पद पराजय मात्र भोगेनन् दुई प्रमुख दलका नेतृत्व नै ठूलो मतान्तरले पराजीत हुन पुगे ।

आफूलाई पुराना, ठूला र शक्तिमान ठान्ने परम्परागत दलहरुको सत्ता केन्द्रित स्वार्थबाट आजित भएका नेपाली मतदाता खासगरी युवा शक्तिको विद्रोहका कारण विसर्जन हुनु परेको तीतो यथार्थ हो । बहुमत र दुईतिहाईको नजिक भएर पनि स्थिर सरकार सञ्चालन गर्न, सुशासन कायम गर्न र भ्रष्टाचारमुक्त देश निर्माण गर्न नसक्नु पराजयको कारण बन्यो । त्यही चरित्रका कारण युवा पुस्ताले गरेको विद्रोहले उनीहरु सत्ताबाट विस्थापित मात्र भएनन् जनताबाट दण्डित हुनु प¥यो । फरक राजनीतिक दर्शन, विचार र गन्तव्य भएर पनि मतदातालाई प्रत्येक निर्वाचनमा बन्धक बनाउन लगाइयो ।

त्यही विकृतिबाट आजित भएर नेपाली कांग्रेसभित्रको राजनीतिक चेत, दृष्टिकोण र चिन्तन भएकाहरुले विद्रोह मार्फत नेतृत्व परिवर्तन गरे । त्यहीकारण नेपाली कांग्रेसले पुरानाका बीचबाट थोरै भए पनि अस्तित्व रक्षा गरेका छन् । यस्तो बेला समय र परिस्थितिको माग र आवश्यकता अनुभूत गरेर नियमित महाधिवेशन मार्फत संगठनलाई पुनर्संगठित गर्नु कांग्रेसको हितमा हुनसक्छ । अन्यथा संस्थापन र इतर भनेर गरिने विभाजनले न कांग्रेसले प्रतिष्ठानको रक्षा गर्नसक्छ न त एमाले वा नेकपा अथवा अस्तित्व रक्षा गर्न नसकेका मधेशवादी दलहरु पुनर्जीवित हुन सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here