निर्वाचन : सम्भावना र चुनौती

0
2

नेपालमा भर्खरै मात्र आम निर्वाचन समाप्त भएको छ र आसन्न निर्वाचनको परिणाम लगभग अगाडि आइसकेको छ । यस निर्वाचनले दिएको परिणाम हेर्दा धेरैले नसोचेको परिणाम झैं देखिएको छ । वास्तवमा भन्ने हो भने वेस्ट मिनिस्टरियल पार्लियामेन्टरी सिस्टममा एउटा दलको बहुमत, अझ दुईतिहाई बहुमत प्राप्त हुनु भनेको राजनीतिक वृत्तमा एउटा अनौठो घटना नै मान्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले लगभग दुईतिहाइ बहुमत प्राप्त गरेको छ ।

विश्वमा यस प्रकारको संसदीय राजनीतिक प्रणाली भएको देशमा एउटा मात्र दलले दुईतिहाई बहुमत प्राप्त गर्नु भनेको एउटा विरलै हुने राजनीतिक घटनाक्रम हो । पुराना राजनीतिक दलहरूलाई पछि पार्दै पछिल्लो निर्वाचन अगाडि मात्र आएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड बहुमतका साथ चुनाव जित्नु एउटा संयोग मात्र होइन, यसका पछाडि थुप्रै कारणहरु रहेका देखिन्छ । सर्वप्रथम विश्वमा आएको परिवर्तन, विश्वमा देखापरेको सामाजिक, आर्थिक परिवर्तन, अहिलेको समाज भनेको प्रविधिको समाज हो, विशेष गरेर सूचना र सञ्चार प्रविधिले समाजलाई गहिरो प्रभाव पारिराखेको सन्दर्भमा यो सूचना तथा सञ्चार प्रविधिको बढी प्रयोग गर्ने अहिलेका पुस्ताहरूको अहिलेको समाजमा हावी भएको पाइन्छ र यसपटकको निर्वाचनमा यो पुस्ताको संलग्नता उच्च देखिएकोले निर्वाचन परिणाममा फेर बदल आउनु अस्वभाविक होइन जसलाई पुराना दलहरूले नजरअन्दाज गरे र आज यो परिणाम भोगिरहेका छन् ।

देशमा विद्यमान भ्रष्टाचार, कुशासन तथा पुरानो राजनीतिक सोच र विचारबाट अघि बढिरहेका राजनीतिक दल तथा त्यससँग सम्बद्ध नेतृत्व पंक्तिहरू जसले समयको माग बुझ्न सकेनन् वा चाहेनन्, आफ्ना डम्फु बजाइरहे, आफ्नो स्वार्थ बाजिने भएकोले परिवर्तनका लागि तयार भएनन्, यो दोस्रो कारण हुन सक्छ । त्यसैगरी यसका पछाडि अरु थुप्रै कारणहरू होलान्, जे भए पनि आज एउटा दलले स्पष्ट बहुमत प्राप्त गरेको छ । यसलाई सरसर्ती हेर्दा अहिले देशमा धेरै अवसरहरू यस दलले पाएको छ, साथसाथै थुप्रै चुनौती हरू पनि अगाडि नभएका होइनन् ।

एउटा राष्ट्रको समग्र विकासमा राजनीतिले अत्यन्त महत्वपूर्ण भूमिका खेल्दछ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपले देशको आर्थिक, सामाजिक, पूर्वाधारको विकासका लागि राजनीतिले महत्वपूर्ण भूमिका खेल्दछ । हाम्रो देशमा पटकपटक भएको परिवर्तनले देशमा नागरिकहरूले आस गरे जस्तो परिवर्तन तथा विकासका गतिहरू अगाडि नबढ्नुको एउटा प्रमुख कारण राजनीतिक अस्थिरता नै हो । अब हामी कामना गरौं, देशमा राजनीतिक स्थिरता बन्छ र देशका हरेक क्षेत्रमा परिवर्तनहरु आउँछन्, सामाजिक, आर्थिक र पूर्वाधारको विकासको क्षेत्रमा उल्लेखनीय रुपले सकारात्मक परिवर्तन हुन्छ भन्ने कामना समग्र नागरिकहरुले गरेका छन् ।

वास्तवमा हेर्ने हो भने राजनीतिमा शुद्धता आयो भने देशका समग्र क्षेत्रमा सकारात्मक परिवर्तन आउँछ भन्ने कुरा विश्वका धेरै अरु राष्ट्रहरुका अवस्थालाई हेर्दा पनि थाहा हुन्छ । दोस्रो विश्वयुद्धको समाप्तिसँगै विश्वका थुप्रै राष्ट्रहरू नेपालको जस्तै अवस्थामा थिए जुन राष्ट्रहरू आज आर्थिक रुपले समृद्धशाली भएका छन् र नागरिकहरु गुणस्तरीय जीवनयापन गर्दछन् । सन् १९६५ मा मलेसियाबाट स्वतन्त्र भएको सिङ्गापुर ,सानो देश, प्राकृतिक स्रोत र साधनको अभाव, वेरोजगारी, जातीय समस्याले गर्दा धेरै पछाडि परेको थियो भने आज संसारको सबैभन्दा आर्थिक समुन्नत देशको रुपमा देखापरेको छ । यसको पछाडि गहिरिएर हेर्ने हो भने राजनीतिक कारण नै देखापर्छ ।

एउटा सच्चा नेतृत्वले आँट गरे के हुँदैन भन्ने उदाहरण पनि सिंगापुरले देखाउँछ । ली क्वान यु भन्ने व्यक्ति नेतृत्वमा आएपछि उनले सर्वप्रथम राजनीतिक रूपले शुद्ध र सफा सरकार बनाउने प्रण गर्दै कडा कानूनी राज्य र अनुशासनमा मुलुकलाई अघि बढाए, शिक्षा र मानव संसाधनको विकासमा जोड दिँदै निर्यातमुखी उद्योग को विस्तारमा लागे र भौगोलिक अवस्थाको भरपुर प्रयोग गर्दै आवास निर्माण तथा सामाजिक स्थिरता, व्यवहारिक र दीर्घकालीन योजना जस्ता क्षेत्रहरुमा दृढतापूर्वक अगाडि बढाए जसले गर्दा सिंगापुर आजको अवस्थामा आइपुग्न सकेको हो । त्यसैगरी आजभोलि नेपालीहरूको वैदेशिक रोजगारीको मुख्य छनौटको देश रहेको दक्षिण कोरिया पनि आजभन्दा ७०÷८० वर्ष अगाडि निकै पछाडि परेको देश हो ।

दोस्रो विश्वयुद्धको समाप्तिसँगै टुक्रिएको कोरिया, सन् १९५० देखि १९५३ सम्म भएको उत्तर कोरिया तथा दक्षिण कोरियाबीचको युद्धले जर्जर भएको दक्षिण कोरियाली देश निकै पछाडि परेको थियो । गरिबी, अभाव, भोकमारीले आक्रान्त दक्षिण कोरियाको नेतृत्वमा पार्क चुङ हि नेतृत्वमा आएपछि दक्षिण कोरियाले काँचुली फे¥यो । आज दक्षिण कोरियालाई एउटा समुन्नत देशका रूपमा लिइन्छ । हाम्रो नजिकको छिमेकी राष्ट्र भारत पनि सन् १९९० सम्म निकै पछाडि परेको राष्ट्रको रूपमा चिनिन्थ्यो ।

भारत सन् १९९० भन्दा अगाडि बन्द आर्थिक नीतिमा रहेको थियो । अभाव, गरिबी, जातीय हिंसा जस्ता सामाजिक अवस्थाबाट गुज्रीराखेको भारत सन् १९९० मा पीवी नरसिंह राव प्रधानमन्त्री बनेपछि अर्थमन्त्री बने मनमोहन सिंह जसले राष्ट्रलाई खुला आर्थिक नीति अन्तर्गत अगाडि लैजाने प्रण गरे जसले गर्दा भारतको आर्थिक वृद्धि दर तीव्र बन्यो र आज भारत आर्थिक रुपले धेरै समृद्धशाली भएको हामीसामु छ ।

त्यसैगरी हाम्रो अर्को उत्तरतिरको छिमेकी राष्ट्र चीनले देङ जेओ पेङको नेतृत्वमा सन् १९७८ मा आर्थिक सुधार शुरु ग¥यो जसले राज्य नियन्त्रण अर्थव्यवस्थाबाट राष्ट्रलाई समाजवादी अर्थव्यवस्थातिर लग्यो साथै अन्य थुप्रै आर्थिक सुधारका कार्यक्रमहरू लागू भयो जसले गर्दा आज चीन विश्वकै एउटा आर्थिक रुपले समृद्ध देशको रुपमा अगाडि आएको छ । यहाँ मैले यी प्रसङ्गहरु ल्याएर चर्चा गर्न खोजेको मुख्य विषय के हो भने राजनीतिक रूपले स्थिर भएर एउटा नेतृत्वले इमान्दारपूर्वक काम ग¥यो भने राष्ट्र र नागरिकको हितमा काम ग¥यो भने देशमा परिवर्तन हुन समय लाग्दैन भन्ने उदाहरणहरू दिनलाई खोजेको हो । आज नेपालको पनि चुनौतीहरु थुप्रै हुँदाहुँदै पनि अवसरहरु पनि प्रशस्त छन् । आजको दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रको लागि गर्नुपर्ने केही आधारभूत कुराहरु यहाँ छोटकरीमा उल्लेख गर्न चाहन्छु जसले गर्दा राष्ट्रको आर्थिक, सामाजिक र पूर्वाधार विकासले गति लिन सकोस् ।

सर्वप्रथम अब आउने सरकारले पहिलो कदम चाल्नुपर्ने भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा हो भन्ने मेरो बुझाइ छ । भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा निर्मम प्रहार गर्नुपर्ने देखिन्छ । यसरी भ्रष्टाचार नियन्त्रणमा अगाडि बढ्न सक्यो सरकार भने स्वभाविक रुपले सुशासन कायम हुन तर्फ देश अगाडि बढ्छ । देशमा निर्यातमुखी उद्योगको स्थापना गर्नु आजको प्रमुख आवश्यकता हो । देशका धेरैजसो विकासका लागि साझेदार संस्थाहरु, शिक्षा, स्वास्थ्य लगायतका सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रका संघ–संस्थाहरूमा भइरहेको चरम राजनीतिकरणबाट यस्ता स्वतन्त्र संस्थाहरूलाई मुक्त पार्नु आजको अर्को आवश्यकता हो जसले गर्दा नागरिकहरूले स्वतन्त्रतापूर्वक सेवा प्राप्त गर्न सकुन् ।

त्यसैगरी प्रजातान्त्रिक संघ–संस्थाहरूलाई पनि राजनीतिकरण गरेर यसबाट प्रवाह हुने सेवासुविधालाई अवरुद्ध बनाउने जुन प्रयासहरु गरियो, यसका लागि पनि यस्ता संस्थाहरुलाई राजनीतिकीरणबाट अलग्ग बनाउन पर्छ जसले गर्दा नागरिकहरुको प्रजातन्त्र प्रति विश्वास र आस्था बढोस् र यसबाट भरमग्दुर फाइदा नागरिकहरुले लिन सकुन् । त्यसैगरी कृषि, पर्यटन जस्ता क्षेत्रहरूलाई आधुनिककरण र व्यवसायिक बनाउन यस सरकारले तत्काल थाल्नु पर्छ । यसरी राष्ट्रमा आएको परिवर्तन सरकारको परिवर्तन भएको मात्र होइन, यो परिवर्तनले तल्लो तहसम्म पनि महशुस हुन सक्ने गरी काम गर्न सकोस् भन्ने हाम्रो सदैव हाम्रो चाहना छ, अन्यथा यसले धेरै ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ ।

(निरौला विपद् व्यवस्थापन, पर्यटन तथा समकालीन राजनीतिका विषयमा कलम चलाउँछन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here