हावाहुरीका कारण झापामा कृषि क्षेत्रमा ठूलो क्षति, मकै र केरा खेती नष्ट

0
1

गणेश कोइराला / बिर्तामोड ।

झापामा गत फागुन २८ गते राति हावाहुरीसहित परेको अविरल वर्षाका कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको छ ।

अचानक वर्षासहित आएको हावाहुरीका कारण केरा खेती र मकैबाली नष्ट भएको किसानहरुले बताएका छन् । झापाको झापा गाउँपालिका–७ मा हावाहुरी र वर्षाले केराखेतीमा ठूलो क्षति पु¥याएको छ । किसानहरूका अनुसार करिब दुई विगाह दुई कठ्ठा क्षेत्रफलमा लगाइएको ३२ सय बोट केरा हावाहुरीले ढालेर नष्ट पारेको छ। उत्पादन दिने तयारीमा रहेको केरा बोटहरू भाँचिएपछि वर्षभरि गरेको मेहनत खेर गएको उनीहरूको भनाइ छ।

किसान चन्द्रप्रसाद बस्नेतले सञ्चालन गरेको साधना संस्कृति नमूना प्रालि अन्तर्गत गरिएको केरा खेतीमा मात्रै करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। बस्नेतका अनुसार उनले करिब ३० बिगा क्षेत्रफलमा केरा खेती गरेका छन्। उत्पादन लिनै लाग्दा आएको हावाहुरीले धेरै बोट ढालेर नष्ट गरेपछि ठूलो पीडा भएको उनले बताए।

त्यस्तै किसान पूजा खनालले पनि करिब १० बिगा क्षेत्रफलमा लगाएको केरा खेतीमा क्षति भएको बताएकी छन्। किसानहरूका अनुसार प्राकृतिक विपत्तिका कारण वर्षमै पटक–पटक खेतीमा क्षति पुग्ने गरेको छ। बैंकबाट लिएको ऋणसमेत तिर्न कठिन हुने अवस्था आएको भन्दै उनीहरूले कृषि बिमा, राहत र क्षतिपूर्ति उपलब्ध गराउन राज्यसँग आग्रह गरेका छन्।

वर्षभरि पसिना बगाएर लगाएको खेती एकै रातमा नष्ट हुँदा किसानहरू निराश बनेका छन्। झापामा अचानक आएको हावाहुरीका कारण कृषिबालीसहित तरकारी तथा केरा खेतीमा ठूलो क्षति पुगेको हो । गत असोजमा आएको बाढीका कारण झापा गाउँपालिकामा लगाएको केरा खेतीमा समेत ठूलो क्षति पुगेको थियो ।

किसानले बिमा गरेको रकम भुक्तानी नै पाउन नसकिने भन्दै यस्तै अवस्था रहेका किसान नेपालमा टिक्न नसक्ने दुखेसो पोखे । कृषिमा भएको क्षतिको विवरण संकलन गरेर तत्काल भुक्तानी दिनुपर्ने उनीहरुको भनाई छ ।

झापामा करिव साढे ४४ हजार हेक्टरमा मकैवाली लगाइएको छ । त्यसमा सबैभन्दा बढी झापा गाउँपालिकामा करिव ७ हजार हेक्टरमा मकै लगाइएको छ । त्यसपछि बाह्रदशी गाउँपालिकामा करिव ६ हजार हेक्टरमा मकै लगाइएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए ।

मकैसंगै केरा खेती र हिउँदे तरकारीमा पनि क्षति पुगेको छ । बालीनालीमा पुगेको क्षतिको तथ्यांक निकाल्ने कार्य भइरहेको उनले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here