
यस बिषयको लेख शृङ्खला यो पहिलो हो, जसले हामीलाई आत्महत्या जस्तो अकल्पनीय मृत्यूलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भनी एकपटक सोच्न बाध्य गर्नेछ । यदि कसैको मृत्यु भएमा हामी सहानुभूति दर्शाउन कर्तव्य मानेर पुग्छौं अनि सान्त्वनाका शब्दहरुद्वारा मृतक परिवारको शोकलाई साहसमा बदल्न सहयोग पनि गर्छौं । ती आत्मीयता र सहानुभूतिका शब्दले शोक सन्तप्त परिवारलाई ठूलो हिम्मत पनि आउँछ र जीवन अगाडि बढाउन आत्मबल पनि बढाउँछ ।
तर, व्यक्तिको मृत्यु प्राकृतिक नभई आत्महत्याबाट हुन गयो भने हामी धेरै निर्णायात्मक हुन्छौं । यो एउटा त्रासदीपूर्ण दुःखद् घटना हो । तर, हामी यस्ता घटनालाई आफ्नो ज्यान लिनु मूर्खता अनि कायरता भनेर पापको दर्जा दिन्छौं । यस्तो घटनालाई कानून व्यवस्था नियम विपरीत भनिन्छ । पीडित परिवारलाई सहानुभूतिसँगै धेरै प्रश्नहरु खडा गरिन्छ, परिवारका प्रिय मृतकलाई दुःखी, पागल, स्वार्थी भनेर शब्दहरु उपहारमा दिइन्छ । यी शब्दहरु प्रत्यक्ष वा अप्रत्यक्ष दुबै हुन सक्छन् ।
आत्महत्याको विषयमा चर्चा ग¥यो भने धेरै मानिसहरुमा यसले नकारात्मक असर गर्दछ भनेर डराउँदछौं । शायद अझ धेरै आत्महत्याका घटना हुन सक्दछ भन्छौं । हामी सजिलैसँग आत्महत्या गर्नेलाई कमजोर पनि सम्झन्छौं । भन्न सजिलो छ तर ऊ भित्रको पीडा, कमजोरी र जोखिमबारे हामीलाई थाहा हुँदैन । हामी सबै जोखिममा छौं । हामी जोखिममा छौं भन्नु हाम्रो कायरता होइन । यदि निराशा र चिन्तामा रहेको व्यक्तिले आफू जोखिममा छु भन्ने विषयमा चर्चा गर्दछ र परिवारलाई भन्न सक्छ भने त्यो व्यक्तिले आत्महत्या जस्तो पीडाबाट मुक्ति पनि पाउँछ ।
मानिसले जीवनमा धरै अप्ठ्यारोको सामना गर्नु पर्दछ । विछोड, मरण, तनाव, दुःख अनेक छन् । हामीलाई समस्या परेपछि मात्र कारण र परिणाम थाहा पाउँछौं । सम्भावित कतिपय घटनाहरु घट्छ भन्ने पूर्व अनुमान पनि गरेको हँुदैन । यस्ता भाविक घटनाहरुलाई हामीले ध्यान दिने र अध्ययन गर्न खोज्ने हो भने त्यसको सक्दो नियन्त्रण गर्न सकिनेरहेछ भन्ने तथ्य र खोजहरुले देखाएको छ । यसमा कालगतिको मृत्युवरणको हकमा हामी चित्त बुझाउँछौं । तर दुर्घटना, आत्महत्या जस्ता अकाल मृत्युलाई सहजरुपमा मृत्युको दर्जा दिदैनौं । यी दुई मध्ये पनि आत्महत्यालाई हामीले अपराध र हिन दृष्टिकोणबाट मूल्याङ्कन गदर्छौं ।
घरपरिवारलाई परिवारको सदस्य गुमाएको पीडा छ साथै समाजले कसरी व्याख्या गर्छ भन्ने चिन्ता छ । मृत्युलाई पनि वर्गीकरण गरिएको छ कालगति, अगति भन्ने चलन छ । विशेष त आत्महत्यालाई कलङ्कको रुपमा हेर्ने गरिएको छ । हाम्रो समाजले आत्महत्यालाई सामाजिक र कानूनी रुपमा र कलङ्कको रुपमा लिन्छ । सामाजिक संस्कारमा लज्जित, सर्मनाक र डरको रुपमा पनि यसलाई लिने गरिन्छ भने कानूनी प्रक्रियाप्रति भएका कारण धेरै मानिसहरु मानसिक समस्या र पीडाबारे बोल्न चाहँदैनन् । यसकारण आवश्यक मानसिक स्वास्थ्य र सामाजिक सहयोग प्राप्त हुन सक्दैन ।
जुन दिन मेरो श्रीमानले आफ्नो जीवन समाप्त गर्नुभयो । सोही दिन पनि हाम्रै गाउँमा अर्को जीवन समाप्त भयो भन्ने खबर सुनिरहेकी थिएँ । त्यसैगरी केही दिनभित्रै १५ जना परिवारका प्रियजनले आफ्नो इहलीला समाप्त गरिसकेका थिए । विभिन्न तथ्यांक अनुसार हाम्रो समाजमा परिवारले आफ्नो बुवा, आमा, छोरा, भाइ, श्रीमान गुमाउनु परेको अवस्था छ । जसका कारण महिलाभन्दा पुरुषको आत्महत्याको संख्या बढी रहेको छ । सधैँ तथ्यांकहरु सही हुन्छन् भन्ने पनि हुँदैन किनभने यस्ता घटनाहरुको यकीन रिर्पोट पनि गरिएको हुँदैन ।
त्यस दिनको घटना म सम्झन्छु । मैले जब मेरा श्रीमानलाई मृत फेला पारे त्यसबखत मेरो हविगत के भएको थियो आज कल्पनासम्म पनि गर्न सक्दिनँ । सारा पृथ्वीले मलाई शिरमा थिचेको थियो । मेरो सिउँदो पुछिएको थियो । मलाई सधैँ खुशी राख्न चाहने मेरो हृदयको सबभन्दा प्यारो जीवनसाथीले साथ छाडी गई सक्नुभएको थियो । सोही क्षण उहाँको निर्जिव शरीर भुइँमा राखि सकिएको थियो । त्यसबेला म बेहोसीमा रहेछु तर पनि कतै–कतैबाट आवाज आइरहेको थियो कि मृत्युको कारण हृदयघात हो भन्नुपर्छ । म पनि एकछिन के यो आत्महत्या पाप वा अपराध हो भनि दोधार भइरहेकी थिएँ । घरपरिवार, समाज सबै मेरो श्रीमानको प्रतिष्ठाको विषयमा चिन्तित देखिनुहुन्थ्यो । किन, के, कारणले त्यस्तो कदम चाल्नु प¥यो भन्ने प्रश्नको जवाफ म धर्मपत्नीलाई तेस्र्याइयो ।
नेपालमा आत्महत्यालाई एक अपराधको रुपमा हेरिन्छ । किनभने विशेषगरी प्रहरीको संलग्नताले गर्दा विषयलाई गम्भीर रुपमा हेरिन्छ । आत्महत्या अपराध होइन, यो एउटा भ्रम मात्रै हो । आत्महत्या सहायताको एक संकेत हो । आवाज हो रोदनको । परिवारले यस्तो अवस्थामा लज्जाबोध गर्नुपर्ने होइन । मानिसहरुमा फेरि आत्महत्या दोहोरिन्छ भन्ने भ्रम पर्न जान्छ । त्यो एक संयोग मात्रै हो । जुन मेरो श्रीमानको आत्महत्यापछि छिमेकी भाइले पनि आत्महत्या गर्नुभयो । यसमा मेरो श्रीमानको कुनै सम्बन्ध छैन । तर पनि समाजले हेर्ने भित्री दृष्टिकोण फरक हँुदोरहेछ । यो त सरुवा रोग हो कि भन्ने आशंका पनि व्यक्त भएको पाइन्छ । कुरा ग¥यो भने पनि यस्तो घटना घटन सक्छ भन्ने पनि हुन्छ । तर, वास्तवमा आत्महत्या जस्तो विषयमा खुलेर चर्चा गर्न अझ पनि व्यक्तिले सकिरहेका छैनन् । चर्चा–परिचर्चा गर्नु इमान्दारिता र खुल्ला रोकथामको प्रारम्भिक चरण हो । यदि मेरो श्रीमानले आफ्ना मनभित्रका पीडा अथवा समस्या केही थियो भने हामी परिवार समक्ष व्यतm गर्नु भएको भए समस्याको समाधान हुन सक्ने थियो ।
समाजले सर्वश्रेष्ठ शक्तिको रुपमा पुरुषलाई मानेको छ । जन्म दिने बित्तिकै परिवारको वंश बढाएको मानिन्छ । यस प्रकारले हुर्काएको पुरुषलाई सामाजिक बन्धनले बाँधेको हुन्छ । घरमा छोरा, बाबु, श्रीमान, दाजुभाइको भूमिका निभाउन जिम्मेवार बनाइएको हुन्छ । हाम्रो पुरुष प्रधान संस्कारले गर्दा अप्ठ्यारा पाटोहरुको चर्चा गरिँदैन । मैले आफ्नो परिवारमा पनि त्यही नै पाएँ । मेरो श्रीमानले आफ्नो समस्या सधैँ आफूभित्र राख्नुभयो । अप्ठ्यारोमा हामी साथ दिन तयार थियौं, तर कहिल्यै साथ माग्नु भएन एक्लै लडिरहनुभयो । त्यसैले पनि अन्तिम समयसम्म परिस्थिती अनुकूल नै छ भन्ने थियो । उहाँभित्रको पीडा र छटपटीको गम्भीरता आंकलनसम्म पनि मैले गर्न पाइँन् ।
त्यसैले पुरुषहरु आफूलाई बलियो र आर्थिक रुपमा सफल, भावनात्मक रुपमा पनि अप्रभावित देखाउन बाध्य महशुस गर्छन् । यो पनि पुरुष आत्महत्याको एउटा ठूलो लुकेको कारण हो । लामो समयसम्म भावनाहरु दबाउँदा मानसिक दवाब धेरै बढ्न सक्छ । परिवारको अपेक्षाहरु पूरा गर्न नसक्दा उनीहरुलाई लाज, असफलता र हीन भावना महशुस हुन सक्छ । भित्रभित्रै संघर्ष गर्नुपर्ने अवस्था सृजना गर्छ । यस्तो बेलामा परिवार र समाजले पुरुषलाई भावना व्यतm गर्ने सुरक्षित वातावरण दिनु पर्दछ । मानसिक स्वास्थ्यको बिषयमा खुलेर कुरा गर्नु र मद्दत माग्नु लाज मान्नुपर्ने कुरा होइन भनि बुझाउनुपर्ने रहेछ ।

























