झापा ।

पत्रकारमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापा क्षेत्र नम्बर ५ मा चुनावी समाचार संकलनका क्रममा पुगेका मोरङका पत्रकार अर्जुन आचार्यमाथि साङ्घातिक आक्रमण गर्ने मुख्य अभियुक्त युवराज पाठक पक्राउ परेका हुन् ।
घटना भएको १५ दिन र किटानी जाहेरी दर्ता भएको दुई साता बितिसक्दा पनि आरोपी पक्राउ नपरेको भन्दै प्रहरी प्रशासनको आलोचना भइरहेका बेला प्रहरीले पाठकलाई आज बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाको शिवसताक्षी नगरपालिका–४ स्थित बुलुचोकमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । झिलझिले चोकबाट झण्डै १० किलोमिटर टाढा आफन्तको घरमा बसेका पाठकलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले बिहानै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय चन्द्रगढी पु¥याएको छ ।
गत फागुन १४ गते झापा कमल गाउँपालिका–६ स्थित सार्वजनिक बाटोमा पत्रकारमाथि अभद्र व्यवहार गरेको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एमाले सर्मथीत समूहले पत्रकारमाथि आक्रमण गरेको थियो ।
पत्रकारमाथि आक्रमण भएको भन्दै नेपाल पत्रकारमहासंघसहित मिडिया एक्सन नेपाल लगायतका संघ–संस्थाले कडा शब्दमा विरोध जनाएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा ‘घरदैलो’ अभियानको समाचार संकलन गरिरहेका आचार्यमाथि गत फागुन १४ गते कमल गाउँपालिका–६, जीवनचोकमा आक्रमण भएको थियो । एमाले निकट भ्रातृ संगठन ‘भोलेन्टियर्स फोर्स’ का सदस्यहरूले आचार्यलाई मुक्का र बुट प्रहार गरी घाइते बनाएका थिए ।





























