झापा, तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कूलले शैक्षिक सत्र २०८२ को तेस्रो महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका–६ मा सञ्चालित विद्यालयमा करिब ८०० विद्यार्थी अध्ययनरत छन् भने कक्षा प्ले ग्रुपदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ।
दुई दिनसम्म सञ्चालन भएको महोत्सवमा पठन–पाठनसँगै अतिरिक्त क्रियाकलाप, प्रयोगात्मक सिकाइ तथा खेलकुदसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। महोत्सवको उद्घाटन समाजसेवी तथा अभियन्ता दुर्गा प्रसाईले गरेका थिए।
कार्यक्रमको आकर्षणका रूपमा विद्यार्थीद्वारा सञ्चालन गरिएको रोबोटमार्फत प्रमुख अतिथि तथा अतिथिहरूलाई फूलमाला अर्पण गरिएको थियो भने ड्रोनमार्फत पुष्पवृष्टि गर्दै महोत्सवको उद्घाटन गरिएको थियो।
महोत्सवको पहिलो दिन ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित कक्षागत विद्यार्थीहरूबीच विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको थियो। सोही अवसरमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण पनि गरिएको थियो। कार्यक्रमले विद्यार्थीहरूलाई खेलकुदको महत्त्व र स्वस्थ जीवनका लागि यसको आवश्यकता बारे सन्देश दिएको विद्यालयले जनाएको छ।
दोस्रो दिन विद्यार्थीहरूले विभिन्न जातजातिका भेषभूषामा राष्ट्रिय झण्डासहित झाँकी प्रस्तुत गर्दै ¥याली निकालेका थिए। त्यसपछि प्रमुख अतिथिबाट औपचारिक रूपमा कार्यक्रम उद्घाटन गरिएको थियो। सो अवसरमा विद्यार्थीहरूले आफ्नो प्रयोगात्मक सिकाइ प्रस्तुत गर्न विभिन्न स्टलहरू सञ्चालन गरेका थिए।
अभिभावकहरूको बाक्लो उपस्थितिमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको ज्ञानवर्धक प्रस्तुति, गीत–संगीत तथा नृत्यले विशेष आकर्षण थपेको थियो। शिक्षकहरूले पनि कला र गायन प्रस्तुति दिएका थिए भने विभिन्न मनोरञ्जनात्मक खेलहरू तथा खानाका परिकारको समेत व्यवस्था गरिएको थियो।
विद्यालयले विद्यार्थीहरूको प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिँदै आधुनिक प्रयोगशाला, प्रविधिमैत्री कक्षाकोठा तथा विविध अनौपचारिक सिकाइ विधिहरूमार्फत शिक्षाको स्तर उकास्ने प्रयास गरिरहेको जनाएको छ। दक्ष शिक्षकको व्यवस्थापन गर्दै विद्यालयले शिक्षाको गुणस्तर वृद्धि र विद्यार्थीहरूको समग्र विकासमा निरन्तर पहल गरिरहेको विद्यालय प्रशासनको भनाइ छ।
छोटो अवधिमै विद्यालय पूर्वी नेपालको उदीयमान शैक्षिक केन्द्रका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै विद्यालय व्यवस्थापनले आगामी दिनमा यसलाई देशकै नमूना विद्यालयका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।





























