रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

विष्णुभगवती स्मार्ट स्कूलले एक दिवसीय अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।
बिर्तामोड -१०विराटपोखरस्थित विष्णुभगवती स्मार्ट स्कूलको आयोजनामा बालबालिकाको समग्र विकासका लागि एक दिवसीय अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको हो।
विष्णु भगवती स्मार्ट स्कूलका संस्थापक प्रिन्सिपल पुण्यप्रसाद उप्रेतीको अध्यक्षता तथा नीजि तथा आवासीय विद्यालय प्याप्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकको प्रमुख आतिथ्यमा भएको तालिममा विद्यालय विकास परामर्शकर्ता शिक्षक प्रशिक्षक मिनु सुवेदी र ग्लोबल आईएमई बैंकका अधिकृत सम्झना खड्काले प्रशिक्षण प्रदान गरेका थिए।
प्रशिक्षक सुबेदीले बालबालिकाको सर्वाङ्गिण विकासका लागि विद्यालय र अभिभावकको सहकार्य सम्बन्धि तथा प्रशिक्षक खड्काले अभिभावहरुका लागि वित्तीय साक्षरता र वित्तीय अनुशासन सम्बन्धि विषयमा सहजीकरण गरेका थिए।
उनीहरुले कसरी आमाबाबुले उमेर अनुसार छोराछोरीको पहिलो गुरु र सहयोगी साथी बनेर सकारात्मक सोच एवम् असल संस्कारको विकास गर्ने तथा आर्थिकरुपमा उत्कृष्ट व्यवहार र वचत गर्ने वानीको विकास गरेर पढाइ तथा जीवनयापन सरल र सहज बनाउने जस्ता विषयमा व्यवहारिक ज्ञान-सीप सिकाएका थिए। अन्तर्क्रियात्मक रहेको कार्यक्रममा अभिभावकले आफ्ना नानीबाबुको स्वभाव र समस्याको बारेमा विचार राखेका थिए।
सहभागीका तर्फबाट प्रशिक्षार्थी सुष्मा अधिकारी र अम्बिका दाहालले तालिम अत्यन्त व्यवहारोपयोगी तथा लाभदायक भएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए। तालिममा १८० जना अभिभावक सहभागी थिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि झापा प्याप्सनका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले बालबालिकाको प्रविधि मैत्री शिक्षामा जोड दिदै अभिभावक तथा विद्यालयले योजना बनाएर इन्टरनेट तथा मोबाइलको सही प्रयोगमा कडाइका साथ नीति नियमको अबलम्बन गर्नुपर्नेमा जोड दिए।
विद्यालयका संस्थापक प्रिन्सिपल उप्रेतीले विद्यार्थीको समग्र विकासका लागि विद्यालय परिवारले अहोरात्र कडा परिश्रम गरिरहकाले दिनानुदिन विद्यालयको प्रगति भइरहेको र यसमा अभिभावकको साथ सहयोगले थप बल पुगेको बताए। उनले विद्यालयको गतिविधिबारे जानकारी गराउँदै सहभागी अभिभावक,शिक्षक, कर्मचारी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
शिक्षक अनु भट्टराईले नृत्य प्रस्तुत गरेको कार्यक्रममा बिर्तामोड -१०का वडाध्यक्ष दुर्योधन गुरुङलगायतको आतिथ्य रहेको थियो। विद्यालयका अतिरिक्तक्रियाकलाप विभाग प्रशिक्षक दिनेशराज शर्माले अौचित्यसहित स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालय सञ्चालक विष्णु दाहाल उप्रेतीले गरेकी थिइन् ।






























