धुलाबारी ।

विद्यार्थीले सिकेका सीप र ज्ञानलाई अभिभावकमाँझ प्रस्तुत गर्दै झापाको मेचीनगर-९ स्थित होलीवेल इङ्लिस सेकेण्डरी स्कुलले आइतबार २५ औं बार्षिकोत्सव सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले पानसमा दिप प्रज्ज्वलन गरेर उद्घाटनपछि सम्पन्न भएको हो । २५ औं `सिल्भर जुवेली सेलेब्रेशन प्रोग्राम-२०८२´ का प्रमुख अतिथि नगर शिक्षा अधिकारी भण्डारीले विद्यार्थीको चौतर्फी विकासका लागि अभिभावक र विद्यालयको महत्त्वपूर्ण भुमिका हुने भएकाले त्यसतर्फ ध्यान जान जरुरी रहेको बताए ।

पठनपाठनका साथै अतिरिक्त क्रियाकलापले पनि विद्यार्थीको भबिस्य उज्वल हुने उदाहरण पेश गर्दै उनले बिश्वक कयौं परिचित ब्यक्तीहरु कलासँगै भाषण शैली, नृत्य, खेल बिधाबाट आफुलाई चिनाउन सफल भएको बताएका थिए ।
स्वागत गाँन र नृत्यबाट सुरु भएको कार्यक्रममा स्कुलमा अध्ययरत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले घाटु नृत्य, मयुर नृत्य, काली नृत्य, मारुनी नृत्य, महारानी नृत्य, चिरिबिरी नृत्य, डाफली नृत्य र जेनजी नृत्य लगायतका सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मानष रिजाल, यन्चना लिम्बू, आरुसी राउत, प्रकृति भण्डारी, सान्भी ढुंगाना, रस्मिका रम्तेलले भाषण प्रस्तुत गरेका थिए । कार्यक्रममा स्कुलका सहायक प्रिन्सिपल सागर शर्माले होलीवेल स्कुलमा अध्ययनपछि उच्च शिक्षा हासिल गर्दै २५ वर्षमा विद्यार्थीहरुले हाल विभिन्न देशमा डाक्टर, प्रोफेसर, इन्जिनियर भएर उपलब्धि हासिल गरेको जानकारी गराएका थिए । आगामी दिनमा पनि विद्यार्थीको चौतर्फी विकासका लागि स्कुल अनवरत रुपमा लागेकोसमेत उनको भनाई थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपाल बस्नेतको अध्यक्षमा सम्पन्न कार्यक्रममा स्कुलका प्रिन्सिपल अरिस्ता प्रधानले स्वागत गरेकी थिइन्। कार्यक्रममा स्कुलका संस्थापक अमृता प्रधान र निर्देशक अभिषेक प्रधान, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँ, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष कपिल क्षेत्री, मेचीनगर-९ कि जनप्रतिनिधि लक्ष्मी परियारलगायतको सहभागीता रहेको थियोे ।
कार्यक्रमको सञ्चालन शिक्षक बिमल भट्टराई र शिक्षिकाहरुले गरेका थिए ।होलीवेल स्कुलले गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो ।





























