
क्षणिकको लोकरिझ्याइँका लागि ‘पपुलारिजम’को सहारा निर्वाचन जित्नेदेखि ‘स्टन्ट’ र प्रपोगण्डा गर्ने टुलको रूपमा प्रयोग हुँदै आएको छ, केही दशकदेखि विश्व परिवेशमा । ‘पपुलारिजम’को असर नेपालमा पनि परि हावा बहेको पृष्ठभूमिमा संसदीय फाँट होस् या पार्टीको आन्तरिक निर्वाचनमा मात्र नभएर पार्टी कब्जा गर्न समेत यसको प्रयोग भयो । ‘पपुलारिजम’को प्रयोग राजादेखि दोस्रो पुस्ता भनिएका नेता समेतले गरे । ‘पपुलारिजम’को आवरण सुखद् मात्र नभएर दुःखद् पनि हुन्छ भन्ने पुष्टि गर्न धेरै अगाडिको इतिहास पल्टाउनै पर्दैन ।
पूर्व राजा ज्ञानेन्द्रले राजाको हैसियतमा गरेका देशदर्शनको चित्र नै काफी छ । कर्णप्रिय लाग्ने जयजयकारको गगनभेदी तरङ्गित ध्वनि श्रवण गरेका तिनै कानले मुर्दावाद र देश छोड्को गुञ्जायमान स्वर सुन्दा ज्ञानेन्द्रले कस्तो अनुभूत गरे होलान् । हेक्का रहोस्, ‘सेलिब्रेटि’को रूपमा छलाङ मार्दै लोकप्रियताको कसीमा खरो उत्रिन कोशिश गर्ने पात्रहरूलाई । भारत बिहारका विवादित मुख्य एवम् संघीय मन्त्री लालु यादवको लोकप्रियताको ग्राफ छोटो समयमै ह्वात्तै बढेको थियो केही समयका लागि । तिनै लालुले कारावासको हावा खानु परेको पनि यहाा स्मरणीय छ ।
कुनै पनि व्यक्ति वा नेतृत्व लोकप्रिय हुनका लागि ‘पपुलारिजम’ साधन मात्र हो, साध्य भने होइन । ‘सेलिब्रिटि’का रूपमा उदाएका व्यक्ति ‘पपुलिस्ट’ बन्न सक्छन्, तर लोकप्रियताको कसीमा खरो उत्रन उसमा लिडरशीपमा हुनु पर्ने न्यूनतम गुणहरू आवश्यक मानिन्छ । दृष्टिकोण, सञ्चार कौशल, इमानदारिता र निष्ठा, निर्णय क्षमता, मानवता र सहानुभूति, प्रेरणा दिने क्षमता, समीक्षा र आत्मलोचना, लचिलोपन, साहस, टोली निर्णय र समन्वय क्षमता जस्ता गुणहरू नै सफल नेतृत्वका लागि साध्य हुन् ।
चर्चित र लोकप्रिय शब्द धेरै प्रयोग हुँदै आएका छन् पछिल्लो समय विभिन्न क्षेत्र, विधामा मात्र नभएर नेपालको राजनीतिमा पनि । भ्रम यस्तो सिर्जना गर्न खोजिएका छ कि चर्चित र लोकप्रिय शब्दले एउटै अर्थ बोक्दछन् । यो भाष्य गलत हो । चर्चित हुन यो विधा वा त्यो विधा अथवा क्षेत्र भन्ने निश्चित दायरा र समयसीमा हुँदैन, तर लोकप्रिय हुनका लागि केही आधारभूत मूल्य–मान्यता, विधि र पद्धति हुन्छ । चर्चित हुन जति छिटो र सजिलो छ, लोकप्रिय हुन लामो तपस्या र धैर्यता चाहिन्छ ।
‘पपुलारिजम’को मापन क्यअष्ब िःभमष्ब ब्नियचष्तजm को माध्यमबाट गरिने छरपस्ट पोस्टहरू, कमेन्ट, लाईक, शेयर, फलोअर, यूट्यूब अनि टेलिभिजनका पर्दाहरूमा प्रशारण हुने अन्तरवार्ता र पत्रकारले प्रायोजित रूपमा प्रशंसाको पुल बाँध्दै प्रकाशित गरेका स्तुतिगान अनि पितपत्रकारिताले मात्र गर्दैन । त्यस्तै गरेर स्वागतका लागि निर्माण गरिएका आकर्षक स्वागतद्वार, बाटो वा विमानस्थलमा अर्पण गरिने गलाभरिका खादा, माला अनि हातभरिका पूmलका गुच्छा, मुहारभरि रङ्ग्याइने अबिरसँगै देखिने भिडभाड एवम् न्यानो आतिथ्यता पनि तथाकथित लोकप्रियताको मानक हुन सक्दैनन् । यसको पुष्टि हालै सम्पन्न आमनिर्वाचनले गरेको छ ।
नेपालको सन्दर्भमा ‘पपुलारिजम’को पहिलो प्रयोगकर्ताका रूपमा नेपाली कांग्रेसका गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई लिने गरिन्छ भने ‘पपुलारिजम’ र अल्गोरिदम दुबैको प्रयोगकर्ताको रूपमा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन)लाई लिने गरिन्छ । पछिल्लो समय अल्गोरिदमको प्रयोग भएको उदाहरण हो जेन–जी मुभमेन्ट र हालै सम्पन्न आमनिर्वाचन ।
‘युज एण्ड थ्रो’ सिद्धान्तको व्यापार पनि फस्टाउँदै गएको छ नेपालको राजनीतिमा । परख गर्नमा नेतृत्व तहमा रहेका नेताहरू नै देखिन्छन् अग्रपङ्क्तिमा । स्वस्थ आलोचनासम्म सुन्न नचाहने नेतृत्व आपूmलाई देवत्वकरण गरिदिएको हेर्न चाहन्छ भने आपूmमात्र लायक अरू सबै नालायक, म ठीक अरू बेठीक भन्ने भाष्य निर्माण गर्न उद्यत हुँदै ‘वान मेन शो’ प्रदर्शन गर्दछ आफ्नो निजी स्वार्थका लागि । जस जति आफ्नो पोल्टामा अनि अपजसजति अर्काको टाउकामा थोपरेर आपूm चाहिँ पानी माथिको ओभानो हुन खोज्ने प्रवृत्ति, आपूm सफल र अरूलाई असफलको बिल्ला भिराउँदै अग्रजहरूको भूमिका खुम्च्याउने, अवमूल्यन गर्ने प्रवृत्तिले पुस्तान्तरणको ‘डक्ट्रिन’लाई बल पुग्दैन । व्यक्ति उमेरले बूढो हुन्छ, विचारले होइन । यो त प्रकृतिको नियम नै हो ।
‘लोकप्रियतावाद’ र ‘लोकतन्त्र’ फरक–फरक विचारधारा हुन् । लोकतन्त्रमा नै लोकप्रियतावाद फस्टाउँछ । लोकप्रियतावादमा व्यक्तिको नायकत्व प्रधान हुन्छ भने लोकतन्त्रमा प्रणाली प्रधान हुन्छ भन्ने मान्यता विपरित प्रणालीभन्दा एकल नायकत्वमा विश्वास गर्ने कार्यकारी भूमिकामा रहेकाको प्राक्टिस गलत हो । आवेग, उत्तेजना, दम्भ अनि घमण्ड सफल नेतृत्वका लागि बाधक हुन् । आपूmले सम्मान खोज्नेले अरूको पनि सम्मान गर्न जान्नु पर्दछ । नेपालको पछिल्लो राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको उदय लोकप्रियतावादको जगमा भएको हो । व्यक्तिलाई लिने हो भने काठमाडौं महानगरपालिकाका पूर्व पमेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई उदाहरणको रूपमा लिने गरिन्छ ।
लोकप्रियताको जामा पहिरिन सार्वजनिक खपतका लागि गरिने मिठा र चर्का भाषण, बाँडिने भूmठा आश्वासनका पुलिन्दा, सिर्जना गरिने भ्रम अनि ‘स्टन्ट’ र ‘प्रपोगण्डा’ पनि लोकप्रियताको मानक हुन सक्दैनन् । लोकप्रियताको तराजुमा जोखिँदा यी फ्याक्टरहरूले व्यक्तिलाई शून्य मात्र होइन अन्धो नै बनाइदिन्छ । इथिक्स र भ्यालुज नै लोकप्रिय नेतृत्वका सारथी हुन् । ‘गोयबल्स शैली’, ‘लिनप्याओ प्रवृत्ति’, ढोंगी चरित्र प्रदर्शन गर्नाले नेतृत्वको विचार मूल्य–मान्यता अनि सिद्धान्तमा मूल्य स्खलन आई उनीहरूको व्यक्तित्व धुमिल हुँदै आर्जन गरेको लोकप्रियताको ग्राफ ह्वात्तै घटेको छ ।
आपूmले रुमानी सपना देख्दै अनि अरूलाई पनि देखाउँदै, आफ्नो घर जलाएर आगोको राप ताप्ने अनि त्यही खरानीको व्यापार गर्ने, मतदातालाई भोट बैंकको रूपमा मात्र प्रयोग गर्ने, पटक–पटक तिनैको संवेदनामा खेल्दै रोटी सेक्ने, पार्टीलाई लाइसेन्सको रूपमा प्रयोग गर्दै निर्वाचन क्षेत्रलाई बिर्ता ठान्ने अनि तावेदारी गर्ने, रक्षाकवच बन्ने, भक्तिभाव देखाउने, आरती उतार्ने मनुवाहरूलाई पुरस्कृत गरेर अरूलाई अपमानित गर्ने, केही थान स्तम्भकार, लेखक र राजनीतिक विश्लेषकलाई हतियार बनाएर धमिलो पानीमा माछा मार्ने, हिरोइज्मको प्रदर्शन गर्ने अतिवादी सोच भएको नेतृत्व लोकप्रिय हुन सक्दैन । कसैको मौनता र सदाशयतालाई कमजोरी ठानियो भने त्यो भूल हुनेछ ।
आपूmलाई मालिक अरूलाई दास ठान्ने, हामी होइन म भन्ने अनि आपूmलाई जिम्वावाल, विर्तावाल र मुखियाको रूपमा प्रस्तुत गर्दै अरूलाईै रैती, हरुवा, चरुवा, गोठाला, बँधुवा मजदुर र कमैयाको व्यवहार गर्ने बाईसाईक्लिङ पर्सनालिटी भएको नेतृत्वमा कथनी र करनीमा फरक छ । नेतृत्व प्रोएक्टिभभन्दा धेरै रियाक्टिभ बनेको छ । कित्ताकाटमा परेका अपमानको मन्द विष पिउन विवश छन् । नेतृत्वकै कारण राजनीति दूषित बनेको छ । जेन–जी मुभमेन्टको पृष्ठभूमि त्यसै र त्यत्तिकै तयार भएको होइन । यसको गहिराई नाप्न यिनै कारणहरू पर्याप्त छन् । चेतना खुल्न जरुरी छ नेतृत्वलाई ।


























