- प्रहरीद्वारा बालिकामाथि ‘अन्याय’, अनुसन्धानमा आशंका
झापा, इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाको टोलीले गतफागुन २९ गते राति बिर्तामोड नगरपालिका–४बाट पक्राउ गरेको घटनालाई लिएर आलोचना शुरु हुन थालेपछि प्रहरीले घटना ढाकछोप गर्ने प्रयास गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले एक विज्ञप्ति जारी गर्दै गत फागुन २९ गते पक्राउ परेका मध्ये १४ वर्षीया वालिका आसिदा खातुनलाई सुरक्षाका कारण प्रहरीले महिला पुनस्र्थापना केन्द्रमा राखेको जनाएको छ । घटनामा आमा २८ वर्षीया मसिना खातुन पक्राउ परेको र वुवा फरार रहेकाले उनको सुरक्षालाई मध्यनजर गर्दै महिला पुनस्र्थापना केन्द्रमा राखिएको प्रहरीको दावी छ ।
तर, १४ वर्षीया बालिकाको सुरक्षामा संवेदनशील देखिएको भन्दै विज्ञप्तिवाजी गर्ने जिल्ला प्रहरी कार्यालय झापाले उक्त घरमा ८ वर्षीय बालकको विषयमा भने चासो देखाएको छैन ।
जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको प्रेस विज्ञप्ति ।
प्रहरीले बालिकालाई हिरासतमा राखेको विषय सार्वजनिक भए लगत्तै महिला पुनस्र्थापना केन्द्रमा पु¥याएर घटना ढाकछोप गर्ने प्रयास गरेको बताइन्छ । बालिकाको सुरक्षामा संवेदनशील रहेको प्रहरीले बालकको विषयमा संवेदनशील नहुनुले प्रहरीको अनुसन्धानमा आशंका गरिएको छ । प्रहरीले चोरीको घटना तथा लागूऔषध कारोवार फस्टाइरहेको भन्दै बिर्तामोड–४ मियावारीस्थित जगतबस्नेतको घरमा डेरा गरी बस्ने खातुनको घरमा छापा मारेको थियो ।
सो क्रममा प्रहरीले ६ लाख ३५ हजार ४ सय ६० रुपैयाँ नेपाली नगद र २ लाख ४६ हजार भारतीय रुपयाँसहित करिव तीन तोला सुन र चार तोला चाँदीका गहना समेत बरामद गरेको जनाएको छ ।
उक्त सामग्री चोरीको हुनसक्ने आशंकामा प्रहरीले खातुनलाई पक्राउ गरेको हो । प्रहरीले छापा मारेको समयमा खातुनका श्रीमान घरमा फेला नपरेको विज्ञप्तिमा उल्लेख गरिए पनि परिवार र आफन्तले भने प्रहरी आफैंले उनलाई भगाएको दावी गरिरहेका छन् ।
घटनामा पक्राउ परेकी मसिना खातुन र उनको घरमा पाहुना आएकी आमा जहरुन खातुनलाई प्रहरीले कुटपिट गरेको पीडितको दावी छ । यो विषयमा जिल्ला प्रहरी कार्यालय झापाले कुनै प्रतिक्रिया दिएको छैन । प्रहरीले समाचारमा सत्यता नभएको भन्दै खण्डन गर्ने प्रयास गरे पनि प्रहरीको दावी गलत भएको पीडितका आफन्त र छिमेकीहरुले बताउँदै आएका छन् ।
पीडित बालिकाका आफन्तले लागूऔषध तथा चोरीमा संलग्न भएको भए कारवाही गर्न आग्रह गर्दै वालिकालाई भने सुरक्षित रुपमा आफूहरुको जिम्मा लगाइदिन आग्रह गरेका छन् । आफन्तले बालिकाको सुरक्षामा चिन्ता गर्ने प्रहरीले बालकलाई भने कुनै वास्ता नगर्नुले प्रहरीको नियतमाथि नै शंका रहेको दावी गरेका छन् ।
यता कोशी प्रदेश सरकारका पूर्व खानेपानी सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले ती बालिकामाथि प्रहरीले ‘घोर अन्याय’ गरेको दावी गरेका छन् । बालिकाको न्यायको विषयमा कुराकानी गर्दा आफूलाई समेत प्रहरीले अशिष्ठ व्यवहार गरेको पूर्वमन्त्री कार्कीले बताएका छन् ।
१४ वर्षीया बालिकालाई गैरकानूनी रूपमा हिरासतमा राखेको विषयलाई लिएर टेलिफोनबाट बुझ्न खोज्दा आफूलाई इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी बिजय श्रेष्ठले अशिष्ठ व्यवहार गरेपछि जिल्ला प्रहरी कार्यालय झापाका प्रमुखलाई समेत जानकारी गराएको बताए ।
पूर्वाञ्चल दैनिकसँग कुराकानी गर्दै पूर्व मन्त्री कार्कीले भने ‘पीडितहरु म कहाँ आएका थिए, आफूहरु अन्यायमा परेको र वालिकालाई हिरासतमा राखेर भेट्नसम्म नदिएको भनेपछि बिर्तामोडका डीएसपीसावलाई फोन गरेर बुझ्न खोज्दा उनी बिदामा रहेछन् । ‘इन्स्पेक्टर’सँग कुरा भयो । पछि उनी आएपछि उनीसंग कुरा गर्दा उनले रुखो शब्द प्रयोग गर्दै आफूमाथि अशिष्ठ व्यवहार गरे ।’ आफूले प्रहरीको अनुसन्धानमा असर नपर्ने गरी बालिकाको अवस्था मात्रै बुझ्न खोजेको बताएका पूर्वमन्त्री कार्कीले भने– डीएसपी साव उल्टै ममाथि आइलाग्नुभयो र मैले नै फोन काटँे ।
लगत्तै एसपी सावलाई समेत बालिकाको अवस्थाका बारेमा सोधेको थिएँ, मानवअधिकारका विषयमा कुरा गरँे, एसपीले वुझेर छाडिदिन्छु भनेको यतिका दिन बित्दा समेत बालिकालाई हिरासतमा राख्नु प्रहरीको बदमासी हो ।
वालिकाका आमाबुवाले गलत गरेको भए कारवाही गर्न समेत भनेको थिएँ– पूर्वमन्त्री कार्कीले भने– अनुसन्धानका नाममा प्रहरीले बालिकामाथि घोर अन्याय गरेको छ । बालिकाको विषयलाई लिएर पीडित पारिवारले पूर्व उपसभामुख तथा प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगर, कोशी प्रदेश सरकारका मन्त्री चिन्तन पाठकलाई समेत जानकारी गराएको बताएका छन् ।






























