योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ),

सुनसरीको इनरुवा–७ स्थित ग्रीन सिटीमा रहेको श्री माता पाथीभरा मन्दिरको निर्माण कार्य सम्पन्न गर्ने उद्देश्यसहित बिहीबारदेखि श्रीमद् भागवत महापुराण धन–धान्याञ्चल सप्ताह धार्मिक ज्ञान महायज्ञ भव्य रूपमा सुरु भएको छ। कलश यात्रासहित सुरु गरिएको उक्त महायज्ञ आगामी चैत १३ गते पावन राम नवमी का दिन पूर्णाहुति, समापन समारोह तथा तिलकपाती वितरणसँगै सम्पन्न गरिने आयोजकले जनाएको छ।
मूल आयोजक समितिका संयोजक नेत्र प्रसाद चौलागाईका अनुसार मन्दिर निर्माणलाई पूर्णता दिन तथा धार्मिक, सामाजिक र सांस्कृतिक चेतनालाई थप सुदृढ बनाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो। उनले महायज्ञले स्थानीय समुदायमा आपसी सद्भाव, सहकार्य र आध्यात्मिक जागरण फैलाउने विश्वास व्यक्त गरे।
कार्यक्रम अवधिभर बिहान ७ बजेदेखि नियमित पूजा–पाठ सञ्चालन गरिनेछ भने बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म श्रीमद्भागवत कथा प्रवचन हुनेछ। यसैगरी प्रत्येक साँझ ७ बजेदेखि १० बजेसम्म भजन–कीर्तन, झाँकी तथा सांस्कृतिक प्रस्तुति आयोजना गरिनेछ, जसले वातावरणलाई अझ भक्तिमय बनाउने अपेक्षा गरिएको छ।
महायज्ञलाई थप आकर्षक र स्मरणीय बनाउन विभिन्न विशेष कार्यक्रमहरू समेत तय गरिएको छ। चैत १० गते “नन्द उत्सव” विशेष रूपमा मनाइनेछ भने सोही दिन २१० फिट अग्लो नेपालकै गौरवशाली राष्ट्रिय झण्डा समुद्घाटन गरिनेछ। आयोजक संस्था डीएन ग्रुप अफ कम्पनीका म्यानेजर दीपक काफ्लेले उक्त कार्यक्रमले राष्ट्रिय भावना र धार्मिक आस्थालाई एकसाथ जोड्ने विश्वास व्यक्त गरे।

त्यसैगरी चैत १२ गते लक्ष्य दीप प्रज्वलन तथा रात्री जागरण कार्यक्रम आयोजना गरिनेछ, जसले भक्तजनहरूलाई आध्यात्मिक आनन्द र शान्तिको अनुभूति दिलाउने अपेक्षा गरिएको छ। महायज्ञको अन्तिम दिन चैत १३ गते पूर्णाहुति, समापन समारोह तथा तिलकपाती वितरणसँगै कार्यक्रम समापन गरिनेछ।
महायज्ञमा नेपालकै प्रखर युवा आचार्य पण्डित कुमार निरौलाको मुखारविन्दबाट संगीतात्मक शैलीमा श्रीमद्भागवत कथा वाचन भइरहेको छ। उनको प्रस्तुतीले भक्तजनहरूलाई आकर्षित गरिरहेको आयोजकले जनाएको छ।
धार्मिक आस्था, संस्कार र सामाजिक एकताको सन्देश बोकेको यस महायज्ञले स्थानीय स्तरमा विकास, सहयोग र सद्भाव प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, मन्दिर निर्माण कार्य सम्पन्न भएसँगै यस क्षेत्र धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा समेत विकास हुने अपेक्षा गरिएको छ।































