झापा, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी पछिल्लो समय असुली धन्धामा सक्रिय रहेको दावी गरिएको छ ।
प्रहरीले विभिन्न मुद्दामा सर्वसाधारणलाई दुःख दिएर तथा गलत धन्धा गर्नेलाई संरक्षण गरेर असुली गर्ने गरेको पीडितहरुले बताएका छन् । इप्रका अनारमनीको कमाण्ड अहिले प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठको नेतृत्वमा छ । अवैध धन्धा सञ्चालन गर्नेहरुसँग विभिन्न वहानामा प्रहरीले असुली गर्ने गरेको बताइन्छ ।
निर्वाचनको मौन अवधिमा होटल सञ्चालन गरी मदिरा बिक्री–वितरण र डिजे बजाएको आरोपमा पक्राउ परेका बिर्तामोड–१०का ५१ वर्षीय हेमकुमार राई प्रकरणमा प्रहरीले खुलेआम घुस लिएको गम्भीर आरोप सार्वजनिक भएको छ । घटनाले प्रहरीको कारबाही प्रक्रिया मात्र होइन, त्यसको पारदर्शिता र नियतमाथि समेत प्रश्न उठाएको छ ।
गतफागुन १९ गते साँझ आफ्नै आरवील रेष्टुरेन्टबाट पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखिएको थियो । प्रारम्भिक अनुसन्धानपछि उनलाई भोलिपल्टै रिहा गरियो । तर, छ दिनपछि पुनः २६ गते प्रहरी कार्यालयमै बोलाएर ‘प्रहरीमाथि अभद्र व्यवहार’ गरेको आरोपमा मुद्दा दर्ता गरियो ।

प्रहरी सहायक निरीक्षक मनिष चौधरीको प्रतिवेदनका आधारमा मुलुकी अपराधसंहिता–२०७४को दफा ११८ अन्तर्गत मुद्दा अघि बढाइएको थियो । उक्त दफा अनुसार सार्वजनिक स्थानमा गालीगलौज, अपमानजनक व्यवहार वा ड्युटीमा अवरोध पु¥याए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । तर, राईले भने आफूले कुनै अभद्र व्यवहार नगरेको दाबी गर्दै प्रहरीद्वारा ‘झुटो मुद्दा’ लगाइएको आरोप लगाएका छन् । आचारसंहिता उल्लंघन गरेको भए सजाय भोग्न तयार छु– उनले भने– तर, हुँदै नभएको कसुरमा फसाएर दुःख दिने काम भयो ।
उनका अनुसार १९ गते पक्राउ परेर २० गते नै रिहा गरिएको अवस्थामा पुनः २६ गते बोलाएर मुद्दा दर्ता गर्नु आफैंमा शंकास्पद छ । यदि त्यतिबेलै अभद्र व्यवहार भएको थियो भने तत्कालै मुद्दा किन दर्ता गरिएन ?– उनले प्रश्न गरे । राईले घटनास्थल मुचुल्का समेत पहिलो दिन नभई दोस्रोपटक पक्राउ गरेपछि मात्रै बनाइएको दाबी गरेका छन् । प्रहरी प्रतिवेदनमा स्थानीय प्रेमबहादुर राई र विवेक योञ्जनलाई प्रत्यक्षदर्शीका रूपमा उल्लेख गरिएको छ ।
यसैबीच, जिल्ला सरकारी वकिल कार्यालय झापाका जिल्ला न्यायाधीवक्ता दिनेशप्रताप शाहले उक्त अभियोगपत्रमाथि प्रश्न उठाउँदै यस्तो प्रकृतिको मुद्दा दर्ता नगर्न सुझाव दिएका थिए । उनले प्रमुख जिल्ला अधिकारी, इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी तथा जिल्ला प्रहरी कार्यालय झापाका एसपीलाई फोनमार्फत ध्यानाकर्षण गराएका थिए ।
तर, सबैभन्दा गम्भीर आरोप भने घुससँग सम्बन्धित छ । राईका अनुसार, आफूलाई अनावश्यक दुःख दिँदै डीएसपी श्रेष्ठको निर्देशनमा प्रहरीले १० हजार रुपैयाँ घुस लिएको दावी गरेका छन् । म हिरासतमा थिएँ, मेरो भाइ भुवेश राईले इलाका प्रहरी कार्यालयको लेखा शाखामा वरिष्ठ सई देवराज निरौलालाई १० हजार रुपैयाँ बुझाएको हो– उनले भने । उनले वकिलका लागि थप १५ हजार रुपैयाँ खर्चिएको समेत बताएका छन् । बिना कसुर पक्राउ, झुठा आरोप र त्यसपछि घुस–यो सबै मिलेर ममाथि ठूलो अन्याय भएको छ– उनले भने ।
अभद्र व्यवहार मुद्दामा राई २५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । तर, उनीमाथि लगाइएको आरोप र प्रहरीले लिएको भनिएको घुस प्रकरणबारे औपचारिक छानबिन हुनुपर्ने माग स्थानीयस्तरमा उठ्न थालेको छ । यस विषयमा इलाका प्रहरी कार्यालय अनारमनीले भने औपचारिक प्रतिक्रिया दिएको छैन । घटनाको निष्पक्ष छानबिन नहुँदा प्रहरीको विश्वसनीयतामाथि थप प्रश्न उठेको छ ।
पक्राउ परेका होटल सञ्चालक ‘सेटिङ’ मा छुटे ?
यौनजन्य क्रियाकलाप गराएको आरोपमा पक्राउ परेका बिर्तामोड बसपार्कस्थित आसेङ होटलका सञ्चालक पदम तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले एक दिन नबित्दै छाडेपछि घटनाले नयाँ मोड लिएको छ ।
पक्राउपछि छोटो समयमै रिहा गरिनु र त्यसमा ‘मोटो रकम लेनदेन’ भएको आरोप सार्वजनिक भएपछि प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका तामाङलाई सोही दिन इप्रका अनारमनीका प्रमुख डीएसपी बिजय श्रेष्ठको ठाडो निर्देशनमा छाडिएको थियो । तर, पक्राउ परेका अन्य व्यक्तिहरू भने हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो ।
अर्जुनधारा–११ बसपार्कस्थित राईमान होटल एण्ड लजमा छापामार्दा पाँच युवतीसहित १० जनालाई ‘शंकास्पद अवस्थामा’ पक्राउ गरिएको प्रहरीको दावी छ ।
अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक राजेश पौडेलको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये चार जना भारतीय र एक जना नेपाली पुरुषसहित पाँच युवती रहेको उल्लेख छ । तर, अनुसन्धानकै क्रममा पक्राउ परेका युवतीहरूले आफूहरू आसेङ होटलसँग आबद्ध रहेको बताएका थिए । स्रोतका अनुसार आसेङ होटलबाटै महिलाहरू राईमान होटलमा पठाइएको तथ्य फेला परेको थियो । यद्यपि, उक्त होटलका सञ्चालक तामाङलाई भने प्रहरीले छाडिदिएपछि डीएसपी श्रेष्ठ र तामाङबीच साँठगाँठ रहेको बताइन्छ ।
स्थानीयहरूका अनुसार आसेङ होटलमा नियमित रूपमा महिलाहरू राखिने मात्र नभई लागूऔषध कारोबार समेत हुने स्रोतको दावी छ । तर, प्रहरी कारबाही भने असमान देखिएको आरोप छ ।
घटनामा संलग्न एक होटल व्यवसायीले डीएसपी श्रेष्ठको संलग्नतामा ‘मोटो रकम’ लेनदेन भएको दाबी गरेका छन् । उनका अनुसार तामाङलाई छुटाउन रकमको सेटिङ मिलाएको बताइएको छ ।
डीएसपी श्रेष्ठले वरिष्ठ प्रहरी नायव निरीक्षक देवराज निरौला मार्फत बिर्तामोडका होटलबाट मासिक असुली गर्ने गरेको आरोप सार्वजनिक भएको छ । स्रोतका अनुसार बसपार्क क्षेत्रका होटलहरूबाट मासिक ३० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म असुली हुने गरेको दाबी गरिएको छ ।
पक्राउ परेका १० जनामध्ये ९ जनालाई म्याद थप गरिनु र एक जना छुट्नु आफैंमा शंकाको विषय हो– एक होटल व्यवसायीले भने । ११ महिना अघि इलाका प्रहरी कार्यालय अनारनीको कमाण्ड सम्हाल्न आएका प्रहरी नायव उपरीक्षक श्रेष्ठले केही महिना यता होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई धमाधम पक्राउ गर्दै छाड्दै आएका छन् । त्यसको मुख्य उद्देश्य भनेकै रकम उठाउने रहेको स्रोतको दावी छ ।
ट्राफिक प्रहरीलाई समेत अघि सारेर प्रहरी नायव उपरीक्षक श्रेष्ठले सवारी चेकजाँचको नाममा रकम उठाउने गरेको आरोप लागेको छ । विशेष गरी बुलेट वाइक सञ्चालकबाट पाँच हजारदेखि १० हजार रुपैयाँसम्म लिने गरेको बताइएको छ ।































