
हरेक वर्ष मार्च २० तारिखमा विश्वभर विश्व मुख स्वास्थ्य दिवस (World Oral Health Day) मनाइन्छ । यस दिवसको उद्देश्य मानिसहरूलाई मुख तथा दाँतको स्वास्थ्यप्रति सचेत गराउनु र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु हो । यस वर्षको नारा ‘A Happy Mouth is a Happy Life’ अर्थात् ‘खुशी मुख भनेको खुशी जीवन हो’ रहेको छ ।
विश्व मुख स्वास्थ्य दिवसको शुरुआत सन् २००७ सेप्टेम्बर १२ मा FDI World Dental Federation को स्थापना भएपछि भएको हो । प्रारम्भमा सोही दिन यो दिवस मनाइन्थ्यो । तर २०१३ पछि मितिमा केही अन्योल उत्पन्न भएपछि यसलाई मार्च २० मा सारियो, र त्यसयता यही दिन मनाइँदै आएको छ ।
मार्च २० लाई नै चयन गर्नुका पछाडि केही विशेष अर्थ छन् । वृद्ध अवस्थासम्म स्वस्थ रहन कम्तीमा २० वटा प्राकृतिक दाँत हुनु आवश्यक मानिन्छ । बच्चाहरूमा २० वटा दूधे दाँत हुन्छन् भने एक स्वस्थ व्यक्तिको मुखमा ३२ वटा दाँत हुनुपर्छ र त्यसमा शून्य क्याभिटी हुनु आदर्श मानिन्छ ।
मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, गाला, ओठ, जिब्रो तथा तालुको समग्र स्वास्थ्यलाई जनाउँछ । यी अंगहरूको उचित हेरचाह नगरेमा दाँतमा किरा लाग्ने, दाँत दुख्ने, गिजाबाट रगत आउने, दाँत हल्लिने, मुख गन्हाउने, दाँत फुस्किने जस्ता समस्या देखा पर्न सक्छन् । दीर्घकालीन रूपमा बेवास्ता गरिएमा मुखको क्यान्सर जस्ता गम्भीर रोग समेत हुन सक्छन् ।
दैनिक जीवनका साना तर महत्वपूर्ण बानीहरूले मुख स्वास्थ्य राम्रो राख्न ठूलो भूमिका खेल्छन् । नरम टुथब्रस प्रयोग गर्ने, फ्लोराइडयुक्त टुथपेस्ट प्रयोग गर्ने, दाँतको बीचमा अड्किएको फोहोर हटाउन डेन्टल फ्लस वा इन्टरडेन्टल ब्रस प्रयोग गर्ने आवश्यक छ । दिनमा कम्तीमा दुई पटक–बिहान र बेलुका खाना खाइसकेपछि–दाँत माझ्ने, खाना खाएपछि कुल्ला गर्ने बानी बसाल्नुपर्छ । साथै गुलिया खानेकुरा, जंक फुड, सोडा पेय, अत्यधिक चिसो वा तातो खानेकुराको सेवन कम गर्नुपर्छ । सुपारी, चुरोट, गुट्खा, खैनी जस्ता हानिकारक पदार्थबाट टाढा रहनु अत्यन्त जरुरी छ ।
प्रत्येक छ–छ महिनामा दन्त चिकित्सकसँग नियमित जाँच गराउँदा सम्भावित समस्याहरू समयमै पत्ता लगाउन र समाधान गर्न सकिन्छ । मुख र शरीरबीचको सम्बन्ध अत्यन्त घनिष्ठ हुन्छ । मुख शरीरको प्रवेशद्वार भएकाले यहाँ देखिएको समस्या सम्पूर्ण शरीरमा असर गर्न सक्छ । स्वस्थ मुखले हामीलाई सहज रूपमा खान, बोल्न र हाँस्न मद्दत गर्छ । यदि मुख वा दाँतमा समस्या भएमा आत्मविश्वास घट्नुका साथै दैनिक जीवनमा असहजता उत्पन्न हुन्छ ।
त्यसैगरी स्वस्थ दाँतले खाना राम्रोसँग चपाउन सहयोग गर्छ, जसले पाचन प्रणालीलाई सघाउँछ र शरीरलाई आवश्यक पोषण उपलब्ध गराउँछ । त्यसैले स्वस्थ मुख नै स्वस्थ र खुशी जीवनको आधार हो ।
नेपाल जस्तो विकासोन्मुख देशमा अझै पनि ग्रामीण क्षेत्रमा मुख स्वास्थ्य सम्बन्धी चेतनाको कमी देखिन्छ । सरकारी स्वास्थ्य संस्थाहरूमा पर्याप्त भौतिक पूर्वाधार नहुँदा सेवा प्रदायक र सेवाग्राही दुबै पक्ष प्रभावित हुने गरेका छन् । बिरामी–चिकित्सक अनुपातमा केही सुधार भए पनि अझै पर्याप्त छैन, जसका कारण सेवा गुणस्तरमा असर पर्न सक्छ ।
दाँत तथा मुख सम्बन्धी समस्याहरू न्यूनीकरण गर्न प्रत्येक व्यक्तिले आफ्नो स्तरबाट सचेत रहन आवश्यक छ । विद्यालय, स्वास्थ्य चौकी तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । निःशुल्क दन्त परीक्षण शिविर, दन्त स्वास्थ्य शिक्षा कार्यक्रम तथा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग नियमित परामर्श गर्ने बानीले पनि यस्ता समस्याहरू धेरै हदसम्म कम गर्न सकिन्छ । अन्ततः ‘स्वस्थ मुख, खुशी जीवन’ कुनै नारा मात्र होइन, जीवनशैली हो । विश्व मुख स्वास्थ्य दिवसले हामीलाई आफ्नो मुख स्वास्थ्यप्रति सजग हुन र अरूलाई पनि सचेत गराउन प्रेरित गर्छ । त्यसैले आजैबाट सही बानीहरू अपनाएर स्वस्थ र सुखी जीवनतर्फ अघि बढौँ ।
(न्यौपाने जी एण्ड डी कञ्चनजंघा डेन्टल केयर, वरिष्ठ दन्त चिकित्सक तथा आरसीटी विशेषज्ञ हुन् । )





























