चट्याङ लागेर गुल्मीका छ जना घाइते

0
3
गुल्मी, 
वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ जना घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङमा आज दिउँसो करिब २ः३० बजे परेको चट्याङबाट स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।
घाइतेहरूको छाती, नाक र आँखामा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको मुसिकोट नगरपालिका वामिटक्सारस्थित स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइपुर्‍याइएको उहाँले जानकारी दिनुभयो ।
उक्त घटनामा स्थानीय विष्णु खड्काको एक र बाली विकका दुई गरी तीन वटा बाख्रासमेत मरेका छन् । घटनापछि प्रहरी चौकी पौँदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो ।
आजै दिउँसो मालिका गाउँपालिका-३ ह्वाङ्दीमा परेको चट्याङमा ६४ वर्षीय नारायण थापासहित उहाँका नातिनी तीन वर्षीया आस्मा गिरी र छ वर्षीया आशिका गिरीसमेत घाइते भएका सूचना अधिकारी सारुले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरू स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घर फर्किसकेका छन् ।
     उक्त घटनामा स्थानीय गोकर्ण थापाकोे एउटा बोकासमेत जलेर मरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी अर्खाबाङबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो । दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here