किमाथाङ्का (सङ्खुवासभा),

सङ्खुवासभाको चैनपुरमा रहेको विशेष नापी कार्यालयले १२ हजार हेक्टर जग्गा नापजाँच सम्पन्न गरेको छ । विसं २०५९ वैशाख १४ गते चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनीका हुँदा सङ्खुवासभाका चार स्थानीय तहका सक्कल नक्सा र फिल्डबुक तथा जग्गाधनी दर्ता श्रेस्ता (मोठ)लगायत महत्त्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएका थिए ।
द्वन्द्वका बेला आगजनीबाट नष्ट भएका चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकाभित्रका २४ हजार हेक्टरको सक्कल नक्सा र फिल्डबुक तथा जग्गाधनी दर्ता श्रेस्ता पूर्ण रूपमा नष्ट भएका थिए । विशेष नापी कार्यालय चैनपुरले द्वन्द्वकालमा आगलागीका कारण नष्ट भएका सक्कल नक्सा र जग्गाधनी दर्ता श्रेस्ता पुनः अभिलेख राख्न जग्गाको नापजाँच तीव्र बनाएको हो ।
हालसम्म १२ हजार १५३ हेक्टर जग्गाको नापजाँच सकिएको विशेष नापी कार्यालयका प्रमुख हरिशरण नेपालले जानकारी दिनुभयो । आवादी सात हजार ३१२ हेक्टर र चार हजार ८४१ सरकारी जग्गाको पुनः नापजाँच गरिसकिएको उहाँले बताउनुभयो ।
सीमित स्रोतसाधन र जनशक्तिका कारण चार पालिकाको २४ हजार हेक्टरमध्ये हालसम्म १२ हजार १५३ जग्गाको नापजाँच तथा नापनक्सा सम्पन्न भइसकेको प्रमुख नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गाको नापजाँचका शीघ्र सम्पन्न गर्न चार वटा प्राविधिकसहितको टोली विभिन्न स्थानमा खटिएका छन् ।
हाल विशेष नापी कार्यालयले चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकामा नापनक्सा तथा लालपुर्जा वितरणको काम गरिरहेको छ । आगलागीमा नष्ट भएका चैनपुर-८ र ९ का एक हजार १९० जग्गाधनीले लालपुर्जा पाइसकेका छन् । त्यसैगरी, नापनक्सा सकिएका चैनपुर-९ का ६२७ र वडा नं ८ का ५६३ जग्गाधनीको लालपुर्जा वितरण भइसकेको विशेष नापी कार्यालयले जनाएको छ ।
कागजात नभएकाले स्थानीयले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए । विसं २०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुनःस्थापनाका लागि विशेष नापी कार्यालय स्थापना गरिएको थियो । बसाइँसराइले जनसहभागिता कमी, नियन्त्रण विन्दु नभेटिने, पुरानो सफ्टवेयर, घाममा उपकरण बिग्रिरहनेलगायत कारणले नापनक्सा तथा लालपुर्जा वितरणमा केही ढिलाइ भएको कार्यालयले जनाएको छ ।































