छविराज ढकाल,
विराटनगर।

इलाम नगरपालिका-९ को भन्ज्याङ र १२ नं साङरुम्बाका स्थानीयहरूले यतिबेला बाँसको फड्के राखेर आवतजावत गर्न बाध्य छन्।
गत वर्षको भेल बाढीले आवत जावत गर्ने त्यो खोलामाथिको झोलुङ्गे पुल बगाएको थियो। हिउँदभरि त बाँसको फड्के बनाएर जेनतेन स्थानीयले निर्वाह गरे,आवतजावत गरे र आफ्नो दैनिकीलाई त टारे। तर, यो अस्थायी फड्के अब आउने वर्षा ले बगौला वा नबगाउला ? यसको कुनै टुङ्गो पत्तो छैन । यो पनि आउने बर्खाले रहला वा नरहला, भन्नै मुस्किल छ ।
गत फागुन २१ गते अघिसम्म चुनावमा मलाई भोट भन्दै माग्ने उम्मेदवारहरूले पुल बनाइदिने आश्वासन नबाडेका पनि होइनन्। चुनाव आयो, नेता गाउँघरमा आए,हात जोडे र भोट मागे। चुनाव सकियो, जित्ने उम्मेदवार राजधानी छिरे तर यस क्षेत्रका बासिन्दाका लागि पक्की पुलको निर्माण मिति कहिले आउला? त्यो चाहिँ अनिश्चित नै छ। उनीहरूले वर्षौंदेखि यस खोलामाथि पक्की पुल निर्माणको माग गर्दै आईरहेकै छन्।
यस्तै, उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे वडा नं ८ र कानेपोखरी गाउँपालिका-६ को सिमानामा रहेको डाँस खोलामा पनि वर्षौंदेखि स्थानीयहरूले यसैगरी हिउँदभरी बाँसको फड्के बनाउँछन् र आफ्नो सवारी साधन आवतजावत गर्छन्।
वर्षा लागेसँगै १५ किलोमिटर उत्तर आएर पूर्वपश्चिम राजमार्गबाट सवारी आवतजावत गर्न बाध्य हुन्छन्। यहाँ पनि उनीहरूले वर्षौंदेखि पक्की पुलको माग गरिरहेकै छन्। तर कुनै पनि सरकारले आश्वासनभन्दा बढी सिङ्को सम्म भाँचेका छैनन्।
विसं २०७६ सालमा तत्कालीन संविधान सभासद् चण्डीप्रसाद राईको पालामा कानेपोखरी र पथरी शनिश्चरे जोड्ने पक्की पुलको शिलान्यास गरी निर्माण थालियो। झनै एक दर्जन वर्ष पुगेको छ। तर त्यो पुलको निर्माण कार्य सम्पन्न भएको छैन अर्थात् यातायात सुचारु हुने कुनै टुङ्गो छैन। अझै कति वर्ष लाग्ने हो, त्यो निर्माण त्यो पनि थाहा छैन।
पुराना पार्टी र दलका तत्कालीन जनप्रतिनिधिले आफ्नो कार्यकाल सिध्याए तर जनताका दैनिक आवश्यकता पूरा गर्ने आवश्यक बाटोघाटोलाई पनि पूर्णता दिएनन्। अर्थात्, जनताका सपनाहरू अपुरै रहे।। पक्की पुलबाट आवतजावत गर्न सुविधा पाएनन्। जनताका समस्या वर्षौंदेखि ज्यूँका त्यूँ नै छन्।
१५ दिन अगाडि मात्रै भएको सङ्घीय व्यवस्थापिका संसदको लागि सम्पन्न निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा पुग्ने बाटो खुलेको छ। अब बन्ने सरकारले इलामको कर्णाली भनेर चिनिएको भन्ज्याङ – सामरुङ्वाबासी र पथरी शनिश्चरेवासी जस्तै कयौँ नेपाली नागरिकको वर्षौंदेखिको पक्की पुल बन्नुपर्ने माग पूरा गर्लान् या नगर्लान् ? त्यो चाहिँ भविष्यलाई कुर्नुपर्ने भएको छ। त्यसको लागि समयलाई कुर्नुको विकल्प छैन।































