
नेपालको राजनीतिमा देखिएको पछिल्लो परिवर्तन, परिवेश र जनताको परिवर्तन प्रतिको नयाँ उद्घोष र तीव्र आकांक्षाबीच अबको राजनीतिक कोर्ष नयाँ मोड लिने प्रायः निश्चित देखिन्छ । जनमत र जनआकांक्षा अनुसार नयाँ दल र विचारलाई अभूतपूर्व मत दिएर लगभग दुई तिहाइको नजिक पुगेको नयाँ शक्तिले यही कुरालाई पुष्टी गरिसकेको छ । नयाँ युगसँगै युवा पुस्तामा नेतृत्व विकास र राज्य सञ्चालनका सम्भावना र चुनौतीहरुका बीच सबै नयाँ अनुहारको मन्त्रिमण्डललाई अवसर र चुनौती पनि सँगै लिएर आएको छ । आगामी दिनमा प्रस्तावित नयाँ प्रधानमन्त्रीलाई सम्भावना र चुनौतीको बीचमा देश सफल बनाउने एक युगमा जन्मिने एक नेतृत्वकर्ताको रुपमा नेपाली जनताले हेरिरहेका छन् । अहिले नभए कहिल्यै नहुने भन्ने मूल मर्मका साथ नेपाली जनताको साथ र अपार जनमतले राजनीतिक वृत्तलाई जनताले नजिकबाट नियालिरहने विषय निश्चित छ ।
विगत लामो समयदेखि पुराना दलहरुले राज्य सञ्चालनका विधि र पद्धतीलाई निजी सम्पत्तिका रुपमा बुझेर जन अपेक्षा अनुसार, आफैँले गरेका प्रतिबद्धता अनुसार काम गर्न नसक्दा आजको परिणाम आएको सर्वविदितै छ । निजी स्वार्थमा पाटी फुटाउने, गुट र उपगुटको राजनीति गर्ने, पाटीका कार्यकर्ता बाहेक अरुलाई जनता समेत नसम्झिने, विभेद, पूर्वाग्रह र प्रतिशोधको राजनीतिबाट आजित जनताले शान्तिपूर्वक मतदानबाट राजनीति सुनामी ल्याइदिएका छन् । काठमाडौँ महानगरका पूर्व मेयर बालेन्द्र शाहले काठमाडौँलाई सुशासनको केन्द्र बनाई काम गर्ने शिलशिलामा संघीय सरकारद्वारा गरिएका अवरोध, असहयोग तथा तिरस्कारका बीचमा नयाँ राजनीतिक समिकरणसहित आएका युवा पुस्ताले पुराना राजनीतिक दलहरुलाई यस पटक आफ्नो हैसियत र हविगत देखिाइदिएका छन् ।
प्रविधिको विकाससँगै देशको आर्थिक, सामाजिक विकासलाई अघि बढाउन उपलब्ध स्रोत र साधनको अधिकतम् सदुपयोग गर्दै निजी क्षेत्रको गुमेको विश्वास आर्जन गर्न तथा विद्यमान कर्मचारीतन्त्रको व्यापक परिमार्जनसहित अनलाइन प्रणालीको विकास गरी व्यथितिका बिरुद्ध निर्मम ढंगले सुशासनको पक्षमा काम गर्नु आजको आवश्यकता हो । झन्झटिलो, प्रक्रियामुखी र विभेदकारी सरकारी सेवालाई चुस्त, सरल र प्रभावकारी परिणाममुखी सेवामा बदल्न चालिनुपर्ने कदमहरु सरकारका प्रथम सय दिनका लक्ष्य र प्राथमिकता हुनुपर्छ ।
सुशासनको दिशामा व्यापक फेरबदल र परिवर्तनको अपरिहार्यता सँगसँगै अबको सरकारले द्रूतरत कार्यक्षमता देखाउन र देशको समग्र बिग्रिएको छविलाई सुधार्न आर्थिक, सामाजिक र जनजिविकाका सवालमा प्रथम दृष्टिमा तपसिलका मुख्य क्षेत्रमा काम गर्नुपर्छ । जसले जनतामा सरकारप्रति सकारात्मक आशाको सञ्चार गर्न सक्छ ।
कृषि : यस क्षेत्रलाई जिविकोपार्जनको रुपमा मात्र नलिई व्यवसायिक बनाउन नयाँ प्रविधिसँगै उत्पादन, मूल्य र बजारीकरण सरकारले ग्यारेन्टी गर्नुपर्छ । जडीबुटी र परम्परागत उपचार पद्धतीलाई परिष्कृत गर्दै विश्व बजारमा चिनाउन आवश्यक नीति तथा कार्यक्रम ल्याउन पर्छ । सो सँगसँगै नेपालको हावापानी र माटो सुहाउँदो गाँजा खेती प्रवद्र्धन गर्दै यसबाट अधिकतम् फाइदा लिनु पर्छ ।
ऊर्जाको विकास : जनता र राज्यले आर्थिक रुपमा छिटो गति लिने यो एउता महत्वपूर्ण क्षेत्र हो । ऊर्जाको क्षेत्रमा जलस्रोत मात्र नभई सौर्य र वायु ऊर्जामा काम गर्नुपर्छ । त्यस्तै ऊर्जाको अर्को प्रचुर सम्भावना हाइड्रोजन उत्पादन र प्रयोग समेतलाई प्राथमिकता दिनुपर्छ ।
पर्यटन : अत्यन्त धेरै सम्भावना बोकेको नेपालको धार्मिक, ग्रामिण र प्राकृतिक पर्यटनमा विशेष जोड दिनु पर्छ । राजनीतिक स्थिरताको फाइदा उठाउँदै विदेशी पर्यटकले नेपालमा बिताउने समय र खर्च गर्ने क्षमतामा वृद्धि गर्नुपर्छ । जसका लागि पर्यटकीय क्रियाकलापका नयाँ सम्भावनाको छनौट गर्नुपर्छ ।
सूचना प्रविधिको विकास : विश्वव्यापीकरणसँगै सूचना प्रविधिमा आएको नविन र आमूल परिवर्तनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न यसको व्यवसायिक क्षमताको विकास र प्रवद्र्धन गर्नु साथै आन्तरिक रोजगारी सिर्जनाको मुख्य क्षेत्र बनाउनुपर्छ । एआई र नयाँ प्रविधिको व्यवसायिक र औपचारिक पाठ्यक्रम निर्माण गरी अध्ययन अध्यापन गराउनुपर्छ ।
व्यवसायिक केन्द्रको विकास : दुईवटा ठूला आर्थिक विकास र ठूलो जनसंख्या भएका मुलुकको बीचबाट फाइदा लिँदै दुबै देशको व्यवसायिक केन्द्र दगकष्लभकक जगद (आयात–निर्यात)को रुपमा विकास गर्न आवश्यक देखिन्छ । लगायत नेपाललाई मेडिकल हब, क्यासिनो हबको रुपमा समेत विकास गर्ने गरी नीति–निर्माण गर्नु आवश्यक हुन्छ ।
राजनीतिक व्यवस्था परिवर्तनलाई मुद्दा बनाएर लामो समय राजनीतिक स्वार्थका रोटी सेकेका पुराना दललाई जनताले सेकाइ दिएपछि अबको पुस्ता राजनीतिक व्यवस्था परिवर्तनभन्दा पनि अवस्था परिवर्तनको पक्षमा छन् भन्ने कुरा देखिसकिएको छ । तसर्थ जनताको भावना र चाहना अनुसार काम नगरे जनताले कसलाई कतिखेर डाइनोसर बनाउँछन् भन्ने हेक्का राजनीतिज्ञले बुझ्न आवश्यक छ । त्यसैले यसै व्यवस्थाभित्र रहि यसका खराब पक्षको शल्यक्रिया गर्दै जनताको अभिमतको सम्मान गर्न र राज्य सञ्चालनमा बिना कञ्जुस्याइँ अधिकतम् क्षमताको प्रयोग गर्दै डेलिभरी दिन आवश्यक छ ।



























