सुन्दरहरैंचा (मोरङ),

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को कोशी प्रदेशस्तरीय तेस्रो अधिवेशनबाट कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलका प्रिन्सिपल सन्तोष कुमार राईलाई विद्यालय परिवारले बधाई तथा शुभकामना व्यक्त गरेको छ।
आइतबार विद्यालय परिसरमा आयोजित विशेष बधाई तथा शुभकामना कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल, एकेडेमिक हेड, शिक्षक तथा शिक्षिकाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले राईको नेतृत्व क्षमता, अनुभव र शिक्षा क्षेत्रप्रतिको समर्पणको प्रशंसा गर्दै सफल कार्यकालको कामना गरेका थिए।
कार्यक्रममा बोल्दै विद्यालयका चेयरमेन मोहन प्रसाद ढकालले राईको निर्विरोध चयन विद्यालयका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले समग्र विद्यालय परिवारलाई थप उत्साहित बनाएको बताए। उनले राईको नयाँ जिम्मेवारीले निजी विद्यालयहरूको हकहित संरक्षण तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
त्यस्तै, नवनिर्वाचित कोषाध्यक्ष सन्तोष कुमार राईले आफूलाई प्रदान गरिएको जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्दै पूर्वाञ्चल पब्लिक स्कुलसहित समग्र कोशी प्रदेशका निजी विद्यालयहरूको हित, विकास र सुदृढीकरणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाए। उनले सबैको साथ, सहयोग र सुझावलाई आत्मसात् गर्दै जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे।
विद्यालयले आयोजना गरेको उक्त कार्यक्रमले राईप्रतिको सम्मान र विश्वास झल्काएको सहभागीहरूले बताएका छन्। साथै, उनको नेतृत्वमा कोशी प्रदेशका निजी विद्यालयहरूको संस्थागत विकास र शैक्षिक सुधारमा थप गति आउने अपेक्षा गरिएको छ।































