‘कोशी मिडिया समिट’ १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

0
3

सुनसरी । डिजिटल पत्रिका प्रदेश खबर डटकमको आयोजनामा इटहरीमा भएको ‘कोशी मिडिया समिट’ १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

कोशी प्रदेशका पत्रकार, सञ्चार उद्यमी लगायतको सहभागितामा नयन एडभरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित प्रदेश खबर डटकमको आयोजना, नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य तथा नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा सम्पन्न समिटले १४ बुँदे घोषणापत्र जारी गरेको हो ।

पत्रकार क्षेत्रका पेशागत संघ–संगठनका नेतृत्वकर्ता, मिडिया क्षेत्रका अगुवा, सञ्चालक, सञ्चारकर्मी तथा विज्ञापन एजेन्सीहरूको सहभागितामा कोशी प्रदेशको पत्रकारिता, विज्ञापन बजार र सञ्चार उद्योगको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे गहन अन्तरक्रियापछि घोषणापत्र जारी गरिएको आयोजक प्रदेश खबर डटकमका प्रधानसम्पादक तथा नयन एडभरटाइजिङ मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

अध्यक्ष अधिकारीले मिडिया सञ्चालक, पत्रकार, विज्ञापन एजेन्सी लगायतका सरोकारवालाबीच मिडिया क्षेत्रका समग्र विषयमा छलफल गरी निष्कर्ष निकालिएको र त्यसलाई बुँदागत रूपमा टिपोट गरी घोषणापत्रको रूप दिइएको बताए ।

कार्यक्रममा सञ्चारकर्मी तथा मिडिया सञ्चालकका जिज्ञासामाथि प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं र नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले जवाफसहित छलफलमा सहभागिता जनाएका थिए । राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा र गोरखापत्र संस्थानका अध्यक्ष अखण्ड भण्डारीले सम्बन्धित संस्थाका विषयमा जानकारी गराउँदै पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा पत्रकार आचारसंहिता, लोककल्याणकारी विज्ञापन, अन्य विज्ञापन, पत्रकारहरूको पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा सहभागिता, नियुक्तिपत्र, पत्रकारका लागि वित्तीय विकासका कार्यक्रम, मिडिया सञ्चालनका विविध पक्षलगायत विषयमा पत्रकारहरू शालिग्राम पाण्डे, सुविद गुरागाईं, बन्धु पोखरेल, सुमन पुरी, सञ्जीव वाग्ले, खेमचन्द्र अधिकारी, राजन केडी, विदुर खवास, मिनकुमार नवोदितलगायतले जिज्ञासा राखेका थिए ।

यस्तै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती तथा नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष सन्तोष श्रेष्ठले अतिथि वक्ताका रूपमा पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीबारे आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले कोशी प्रदेश केन्द्रित कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले स्वागत मन्तव्य राखेका थिए ।

पत्रकारिता क्षेत्रसँग आबद्ध विभिन्न पेशागत संघ–संगठनको सहभागितामा जारी घोषणापत्रमा विभिन्न मागहरू समेटिएका छन् । नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको अवस्थामा संघीय, प्रदेश र स्थानीय सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने अनुकूल वातावरण बनाउन भूमिका निर्वाह गर्न सम्मेलनले माग गरेको छ ।

अनुकूल समाचार प्रकाशन–प्रसारण नगरेको निहुँमा मिडिया र पत्रकारमाथि हुने भौतिक आक्रमण तथा धम्कीका घटनाका दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याई पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न नेपाल सरकारसँग सम्मेलनले जोडदार माग गरेको छ ।

त्यसैगरी सूचना विभागबाट पत्रकारलाई प्रदान गरिने प्रेस पास सहज रूपमा उपलब्ध गराउन र दुरुपयोग रोक्न, सम्पादकीय स्वतन्त्रता दृढतापूर्वक कार्यान्वयन गर्न तथा समाचार कक्षको स्वतन्त्रताका लागि उपयुक्त वातावरण निर्माण गर्न सम्मेलनले माग गरेको छ । मर्यादित पत्रकारिताको विकासका लागि अझ प्रभावकारी भूमिका खेल्न प्रेस काउन्सिल नेपालसँग सम्मेलनले आग्रह गरेको छ ।

कोशी घोषणापत्रमा ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ बढिरहेको अवस्थामा पत्रकारहरूले थप विश्वसनीय र जवाफदेही भएर काम गर्नुपर्ने निष्कर्ष निकालिएको छ । सम्पूर्ण पत्रकारले आचारसंहिताको पूर्ण पालना गर्ने संकल्प गर्दै आचारसंहितालाई समयसापेक्ष परिमार्जन र परिस्कृत गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

सूचना प्रविधिको विकाससँगै पत्रकारिताको अर्थ, मान्यता र प्रक्रिया प्रभावित भएको सन्दर्भमा आचारसंहिताबारे नयाँ ढंगले छलफल गर्नुपर्ने निष्कर्ष पनि घोषणापत्रमा उल्लेख गरिएको छ । सामाजिक सञ्जाल, मिडिया, ‘कन्टेन्ट क्रिएटर’ र पत्रकारबीचको भिन्नता बुझाउन मिडिया साक्षरता तथा चेतनामूलक अभियान सञ्चालन गर्न सरकारी नियामक निकाय र सरोकारवालाले सहकार्य गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ ।

सरकारले वितरण गर्ने विज्ञापन समानुपातिक र समावेशी बनाउन तथा संकटमा रहेका सञ्चारगृहलाई अनुदान र ‘सफ्ट लोन’को व्यवस्था गर्न सम्मेलनले माग गरेको छ । विज्ञापन बोर्डमार्फत लोककल्याणकारी विज्ञापनमा लाग्दै आएको कर छुट गर्न पनि माग गरिएको छ ।

श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयनको अनुगमन गरी तत्काल लागू गर्न, सञ्चारगृहहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई श्रमजीवी पत्रकारहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न सम्मेलनले माग गरेको छ ।

लोकतन्त्र, मानवअधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको रक्षार्थ पेशागत संगठनहरूलाई थप सशक्त बनाउने संकल्प सम्मेलनले लिएको छ । कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन तथा कोशी प्रदेशको विकास र समृद्धिका लागि पत्रकारितामार्फत सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ । इटहरीको दिगो विकासमा पत्रकारितामार्फत सहयोग गर्ने प्रतिबद्धता समेत सम्मेलनले व्यक्त गरेको छ ।

कोशी मिडिया समिटमा टिपोट लेखन तथा घोषणापत्र तयार पार्न नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अमर खड्काको संयोजकत्वमा हिमाल दाहाल र शिशिर भट्टराई सदस्य रहेको समिति गठन गरिएको थियो । कार्यक्रममा सवाल–जवाफका क्रममा उठेका प्रश्नहरूको समाधानतर्फ ध्यान दिनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

समिटमा झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर लगायत कोशी प्रदेशका विभिन्न जिल्लाबाट पत्रकार क्षेत्रका पेशागत संघ–संगठनका नेतृत्वकर्ता, मिडिया क्षेत्रका अगुवा, सञ्चालक, सञ्चारकर्मी तथा विज्ञापन एजेन्सीहरूको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here