बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

0
3
खोटाङ, 
यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको ‘मुगाधन र भलशोभा स्मृति अक्षयकोष’ स्थापना गरिएको छ ।
स्व मुगाधन र भलशोभा राईका छोरा ९९ वर्षीय कर्णबहादुर राई, छोरी ८७ वर्षीया कुमारीकृष्ण राई, स्व छोरा राजबहादुर र भुइचालबहादुर राईको परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुुन् ।
मुलधन नमासिने गरी त्यसको ब्याजबाट विद्यालयको आवश्यककीय कामकाजमा खर्च गरिने कुमारीकृष्णका छोरा भोगिन्द्र राईले जानकारी दिनुभयो । “स्वर्गीय मुगाधन र भलशोभा राई हाम्रो परिवारको प्रेरणाका स्रोत हुनुहुन्छ ।
उहाँहरुको सम्मानमा परिवारका सदस्य मिलेर अक्षयकोष स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो, “अक्षयकोषको संरक्षकमा परिवारकै एकजना सदस्य बसेका छौँ । मुलधन नमासिने गरी त्यसको ब्याजबाट आवश्यककीय कामकाजमा खर्च गर्ने अधिकार विद्यालयलाई दिएका छौँ ।”
मुगाधन र भलशोभा राईका कान्छा छोरा स्व ध्यानबहादुर राईको सम्झनामा ३४ हजार ५०० रुपैयाँ मुल्य बराबरको हार्मोनियम, मादल र बासुरीसमेत विद्यालयलाई प्रदान गरिएको छ । अक्षयकोष स्थापना तथा वाद्यवादन सामग्री हस्तान्तरण कार्यक्रममा कर्णबहादुर र कुमारीकृष्ण राईलाई अभिनन्दनसमेत गरिएको विद्यालयका पूर्वप्रधानाध्यापक वेदीकुमार राइले जानकारी दिनुभयो ।
विद्यालयको शैक्षिक अभिवृद्धि र सौन्दर्यकरणमा ६० हजार ६०० रुपैयाँ सहयोग गर्ने स्थानीय तथा जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका लेखापाल प्रेमकुमार राईलाई एक कार्यक्रमबीच गत शुक्रबार सम्मान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here